आज तुलसीको बिरुवा रोप्ने दिन

रासस

काठमाडौँ — प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा सुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा शुक्रबार मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । भगवान् विष्णु शयन गर्ने चार महीनालाई चतुर्मासा पनि भनिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महीनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महीनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

प्रकाशित : असार २७, २०७६ ०७:४५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिरोका कारण पाल्पा–बुटवल सडक एकतर्फी सञ्चालन

कान्तिपुर संवाददाता

पाल्पा — लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन भएको छ । तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ । 

पहिरोले अवरुद्ध बनेको सडक केहीबेरअघि डोजर लगाएर पहिरो हटाएपछि एकतर्फीरूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । अहिले पनि लगातार पानी परिरहेकाले तत्काल पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

सडक विभाग कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय पाल्पाले डोजर प्रयोग गरेर पहिरो हटाउने कार्य गरिरहेको र केही समयमा सडक दुईतर्फी रूपमै सञ्चालन गरिने सापकोटाको भनाइ छ ।

प्रकाशित : असार २७, २०७६ ०७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×