१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुनसान पारेर सहर

चन्द्र कार्की

तेह्रथुम — पछिल्ला वर्षमा जिल्लामा विकासले गति लिएको छ । जनताको आम्दानी बढेको छ । स्रोत थपिएका छन् । साक्षरता दर उकालो लागेको छ । भौतिक सेवासुविधा राम्रै छ । देश संघीयतामा गएर सिंहदरबारको अधिकार गाउँमै आइपुगेको छ । विकासले बाटो पक्रिँदै छ तर प्रत्येक वर्ष जिल्लामा जनसंख्या भने ओरालोको ओरालै छ 

सुनसान पारेर सहर

यसो हुनुमा महामारी तथा विपद्जस्ता प्राकृतिक कारण छैनन् । बसाइँसराइ मुख्य कारण बनेको छ ।


कामको खोजीमा पूर्वी तराईदेखि खाडी मुलुकसम्म पुग्ने पहाडका बासिन्दा र सहज जीवनयापन एवं अवसरको खोजीमा तराई झर्नेहरू बढेपछि पहाडका गाउँ पातलिएका हुन् । ०१८ सालमा तेह्रथुमको जनसंख्या थियो ४ लाख २२ हजार ९ सय ५२ । ०६८ मा १ लाख १ हजार ५ सय ७७ मा पुग्यो ।


देशमा जनसंख्या वृद्धि भइरहेका बेला यहाँको जनसंख्या वृद्धिदर ऋणात्मक बनेको प्रदेश १ का सांसद लक्ष्मण तिवारीले बताए । पछिल्ला वर्षमा जिल्लामा परिवार संख्या बढिरहे पनि जनसंख्या भने निराशाजनक रूपमा घटिरहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । जनसंख्या घटे पनि परिवारको खण्डीकरण भई स–साना परिवार बन्ने क्रम बढ्दै छ ।


पूर्वका पहाडी जिल्लाको प्रमुख रोजगार गन्तव्य हो खाडी मुलुक । २०–२२ वर्षका युवादेखि ४५–५० वर्ष उमेर समूहका पुरुष तथा केही महिलासमेत कामको खोजीमा ती मुलुक पुगेका छन् । त्यसमध्ये धेरैले केही रकम कमाएपछि सकेसम्म तराईका जिल्लामै घरजग्गा जोडिरहेका छन् ।


जिल्लाका स्थानीय तहबाट मात्र पछिल्लो पाँच वर्षमा ५ सयभन्दा बढी परिवार बसाइँ सरेर पूर्वी तराईका जिल्ला झरेको गाउँपालिका तथा नगरपालिकाहरूको तथ्यांकले देखाउँछ । गाउँ तथा नगरपालिकाबाट कतिले बसाइँसराइ प्रमाणपत्र नै नलिने भएकाले यो संख्या अझ बढी हुन सक्ने जिल्ला समन्वय समिति संयोजक शिव ढुंगानाले बताए ।


६ वर्षदेखि कतारमा कार्यरत लालीगुराँस नगरपालिका ४ का मनोज भुजेल पनि विदेशमा कमाएको पैसाले पूर्वी तराईमा घरघडेरी किनेर नेपाल फर्किए । उनी पनि त्यतै सर्ने तयारीमा छन् । सामान्य बास बस्ने घर मात्र बनाउन सकेपछि भने सपरिवार पूर्वी तराईका जिल्लामा बसाइँ सर्ने उनको योजना छ । पछिल्ला ७ वर्षमा जिल्लाको फेदाप गाउँपालिकाको सम्दुबाट मात्र ५४ परिवारका २ सय ४८ जना बसाइँ सरेर पूर्वी तराई र काठमाडौंतर्फ गएका छन् । त्यस्तै छथर गाउँपालिकाको ओख्रेबाट पनि ६८ परिवारले गाउँ छाडेको गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।


आफ्नो गाउँपालिकामा बसाइँसराइको दर उच्च रहेको उनको गुनासो छ । पहाडको तुलनामा तराई क्षेत्रमा रोजगारी, औषधोपचार, शिक्षा, खानपान तथा अन्य सेवा सुविधा बढी हुने भएकाले पछिल्ला वर्षमा धेरैले आफ्नो थातथलो छाडेको ओख्रेको बाँसपानीस्थित रत्नदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक केदार बस्नेतको भनाइ छ । फेदाप गाउँपालिकाको इसिबुबाट बसाइँ सर्नेको पनि लहर नै चलेको गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङबाङले बताए । यहाँबाट ०६४ देखि ०७२ को अन्त्यसम्ममा १ सय ५५ परिवारले गाउँ छाडेका वडा कार्यालयमा तथ्यांक छ ।


०७२ सालयता पनि बसाइँ जानेको संख्या अत्यधिक रहेको गाउँपालिकाका प्रवक्ता नवीन चोङबाङले बताए । छथर गाउँपालिकाका पञ्चकन्या, ओख्रे, फाक्चामारालगायतका गाउँबाट पनि प्रत्येक वर्ष बसाइँ हिँड्नेको संख्या उच्च छ ।


पिउने पानीको अभाव, वन्यजन्तुले दिने दुःख, यातायात तथा खाद्यान्न अभाव, स्वास्थ्य तथा उच्च शिक्षाको असुविधालगायत कारण धेरैले गाउँ छाडेको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङले बताए । बसाइँसराइ रोक्न सरकारका तर्फबाट भएका प्रयास पर्याप्त नभएको उनको भनाइ छ ।


गाउँपालिकाको जनसंख्या घटदै गएपछि बसाइँ सरी आउने परिवारलाई गाउँपालिकाबाट ५ लाख रुपैयाँ व्यावसायिक अनुदान दिने नीति लिएको छथर गाउँपालिका अध्यक्ष लामाले बताए । बसाइँसराइका कारण काम गर्ने जनशक्ति नहुँदा पहाडका जग्गा बाँझै छन् ।


जिल्लाको खेतीयोग्य जमिनमध्ये करिब ४० प्रतिशत बाँझो रहेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयको तथ्यांक छ । खेतीयोग्य जमिन बाँझो रहेकाले खाद्यान्न उत्पादन घटेको केन्द्रका कृषि प्राविधिक रामजुगन यादवको भनाइ छ । बसाइँसराइका कारण कतै गाउँ नै रित्तिने अवस्था आएको र कतै थेगिनसक्नु चाप बढेको प्रदेश सांसद तिवारीले बताए । जनसंख्याको सन्तुलित वितरण र विकास चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।


सरकारले जमिन बाँझै राख्नेलाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ । गाउँपालिकाले किसान लक्षित भूउपयोग नीति नै बनाएर पास गरिसकेको छथर गाउँपालिकाका अध्यक्ष लिम्बू बताउँछन् । नीति कार्यान्वयनपछि भने बसाइँसराइ दर केही हदसम्म रोकिने उनको दाबी छ ।


सुरुमा दुई निर्वाचन क्षेत्र रहेको तेह्रथुममा मतदाता संख्या घटेकै कारण अहिले एउटामा झारिएको छ । गाउँका विद्यालयमा विद्यार्थी नभएपछि शिक्षा विकास तथा समन्वय कार्यालयले दर्जनभन्दा बढी विद्यालय यसअघि नै बन्द गराइसकेको छ । त्यत्तिकै परिमाणका विद्यालयको तह घटाइएको शिक्षा विकास तथा समन्वय प्रमुख लीलानाथ पोखरेलले बताए ।


जनसंख्या घट्दै जाँदा जिल्लाको सडक निर्माण, कृषि क्षेत्र, भौतिक पूर्वाधार निर्माणलगायत विकासका गतिविधिमा प्रभाव देखिएको जनप्रतिनिधिहरूको भनाइ छ । अन्न फल्ने खेतबारी मासेर किसानले थोरै जनशक्तिबाट काम गर्न सकिने खेती लगाउन थालेको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले बताए ।

प्रकाशित : असार २७, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?