बाँडिएका राष्ट्रिय परिचयपत्रमा त्रुटि नै त्रुटि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँडिएका राष्ट्रिय परिचयपत्रमा त्रुटि नै त्रुटि

ज्ञानु घिमिरे

पाँचथर — मिक्लाजुङ गाउँपालिका, रविका मोतीराज फागो राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय आए । फाराम भर्दाको प्रतिलिपि लिएर उनी राष्ट्रिय परिचयपत्र फाँट पुगे । कर्मचारीले परिचयपत्र खोजेर निकाले तर नाम र गाउँपालिका फरक देखियो । कर्मचारीले बाबुको नाम, थरबाट मात्र उनको परिचयपत्र ठम्याउन सके । 


हिलिहाङ गाउँपालिकाका मनोज अधिकारी त्यसै बेला आफ्नो परिचयपत्रमा त्रुटि रहेको भन्दै आइपुगे । बाबुको नाममा त्रुटि भएकाले सच्याइदिन अनुरोध गरे । उनलाई कर्मचारीले फाराम भर्न लगाएर एक महिनापछि आउन भने । फागोलाई पनि एक महिनापछि आउन भनिएको छ ।


आफूहरूले सही विवरण दिए पनि यसरी त्रुटि हुँदा अनाहकमा दुःख पाएको उनीहरूको गुनासो छ । देशमै पहिलो पटक पाँचथर र सिंहदरबारका केही कर्मचारीलाई वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्र अहिले अन्यत्र पनि बाँड्न थालिएको छ ।


तर परिचयपत्रमा व्यापक त्रुटि पाइएको छ । पाँचथरमा वितरण गरिएकामध्ये झन्डै डेढ सयवटामा त्रुटि पाइएको प्रशासन कार्यालयले जनाएको छ । सम्पर्कमा नआएका अरू परिचयपत्रमा पनि त्रुटि हुने सक्ने अनुमान छ । जिल्लाभर ८५ हजार ८ सय ८९ जनाले फाराम भरेका थिए ।


गृह मन्त्रालयबाट पहिलो पटक ८३ हजार १ सय २ जनाको परिचयपत्र बनेर आएको थियो । राष्ट्रिय परिचयपत्र वितरण टोली फर्किसकेकाले हाल प्रशासन कार्यालयबाट वितरण भइरहेको छ । ‘प्राविधिक समस्याका कारण परिचयपत्रमा केही त्रुटि पाइएको छ । सच्याउन मन्त्रालय पठाउने गरेका छौं । एक महिनामा आइपुग्छ,’ प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले भने ।


राजधानीमा मंगलबार राष्ट्रिय परिचय प्राप्त गरेलगत्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यले आफ्नो जन्ममितिमा गल्ती भएको बताएकी थिइन् ।


प्रकाशित : असार २७, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्रीको मुख सम्हाल्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

‘लगाम’ उपहार पठाऊँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ? : कांग्रेस प्रवक्ता 
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्रीहरूको मुख सम्हाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ट्वीट गरेर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो पार्टीमाथि चन्द समूहको हिंसा पक्षपोषण गरेको भनी लगाएको आरोप अराजनीतिक रहेको उल्लेख गरेका छन् । 

बाँस्कोटाले बिहीबार सिंहदरबारको नियमित पत्रकार सम्मेलनमा कांग्रेस दिनभरि बीपी, रातभरि विप्लववादी बनेको आरोप लगाउँदै हिंसाप्रति कांग्रेसको धारणा मागेका थिए । पत्रकार सम्मेलनलगत्तै कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्वीटमा भनेका छन्, ‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसद्मा, तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्नु उचित हुन्न ! भनाइ छ, हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न । ‘लगाम’ उपहार पठाऊँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?’

शर्माले हिंसाको दर्शनमाथि विश्वास गर्ने नेकपाका नेता एवं मन्त्री बाँस्कोटाले हिंसाबारे आफ्नो पार्टीको धारणा मागेको भन्दै रोष प्रकटसमेत गरेका छन् । ‘जसको दर्शनमै हिंसा छ, परिस्थितिवश अर्को बाटो स्वीकार गरेको छ, उसले हामीसित धारणा माग्ने ? हिंसा गरेर संसद् कब्जा गर्ने लेनिनको तस्बिर पहिले उतारोस्,’ उनले कान्तिपुरसित भने ।

शर्माले गाउँमा कसैका छोराछोरी बिग्रिए उनीहरूलाई गाली गर्नुको साटो सुधार्न सीधै अभिभावकसँग संवाद गर्ने परम्पराअनुसार आफूले टवीटमा प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूको मुख सम्हाल्न आग्रह गरेको बताए । ‘प्रधानमन्त्रीलाई मन्त्रीहरू सम्हाल्न सचेत गराएको हुँ । यद्यपि अभिभावक (प्रधानमन्त्री) आफैं कति जिम्मेवार हुनुहुन्छ भन्ने अर्को प्रश्न पनि छ,’ उनले भने । उनले चन्द समूहले हिंसाको राजनीति छाड्नुपर्ने र सरकारले वार्ताबाट समाधान खोज्नुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको उल्लेख गरे ।



प्रकाशित : असार २६, २०७६ २१:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×