१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मन्त्रीको मुख सम्हाल्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

‘लगाम’ उपहार पठाऊँ कि सम्हाल्नुहुन्छ आफ्ना मन्त्री ? : कांग्रेस प्रवक्ता 

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले मन्त्रीहरूको मुख सम्हाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ट्वीट गरेर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो पार्टीमाथि चन्द समूहको हिंसा पक्षपोषण गरेको भनी लगाएको आरोप अराजनीतिक रहेको उल्लेख गरेका छन् । 

मन्त्रीको मुख सम्हाल्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

बाँस्कोटाले बिहीबार सिंहदरबारको नियमित पत्रकार सम्मेलनमा कांग्रेस दिनभरि बीपी, रातभरि विप्लववादी बनेको आरोप लगाउँदै हिंसाप्रति कांग्रेसको धारणा मागेका थिए । पत्रकार सम्मेलनलगत्तै कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्वीटमा भनेका छन्, ‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसद्मा, तब कुनै फोटोकपी मन्त्रीसँग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलीको जवाफ दिँदै हिँड्नु उचित हुन्न ! भनाइ छ, हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न । ‘लगाम’ उपहार पठाऊँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?’


शर्माले हिंसाको दर्शनमाथि विश्वास गर्ने नेकपाका नेता एवं मन्त्री बाँस्कोटाले हिंसाबारे आफ्नो पार्टीको धारणा मागेको भन्दै रोष प्रकटसमेत गरेका छन् । ‘जसको दर्शनमै हिंसा छ, परिस्थितिवश अर्को बाटो स्वीकार गरेको छ, उसले हामीसित धारणा माग्ने ? हिंसा गरेर संसद् कब्जा गर्ने लेनिनको तस्बिर पहिले उतारोस्,’ उनले कान्तिपुरसित भने ।


शर्माले गाउँमा कसैका छोराछोरी बिग्रिए उनीहरूलाई गाली गर्नुको साटो सुधार्न सीधै अभिभावकसँग संवाद गर्ने परम्पराअनुसार आफूले टवीटमा प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूको मुख सम्हाल्न आग्रह गरेको बताए । ‘प्रधानमन्त्रीलाई मन्त्रीहरू सम्हाल्न सचेत गराएको हुँ । यद्यपि अभिभावक (प्रधानमन्त्री) आफैं कति जिम्मेवार हुनुहुन्छ भन्ने अर्को प्रश्न पनि छ,’ उनले भने । उनले चन्द समूहले हिंसाको राजनीति छाड्नुपर्ने र सरकारले वार्ताबाट समाधान खोज्नुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको उल्लेख गरे ।



प्रकाशित : असार २६, २०७६ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?