कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

समाचार टिप्पणी : कांग्रेस कि कर्पोरेट कम्पनी ?

ध्रुव सिंखडा

काठमाडौँ — कांग्रेस मासमा आधारित पार्टी हो कि सुकिला–मुकिलाहरूले चलाउने कर्पोरेट कम्पनी ? द्रव्य सङ्कलनका योजना बुन्ने र राजनीति गर्ने मनसुवा हो भने जनताको सेवक हुँ भन्न मिल्दैन । लोकतान्त्रिक दलले संगठित व्यापार गर्न सुहाउँदैन । लोकतान्त्रिक पार्टी हो भने पीँधसम्म पुग्नु पर्छ । सेवाभावले जनजनको मनमनमा राज गर्न सक्नु पर्छ । नेता/कार्यकर्तासित ‘लेवी’ उठाउँदा कांग्रेसको मासवेस चरित्र समाप्त हुन्छ । 

समाचार टिप्पणी : कांग्रेस कि कर्पोरेट कम्पनी ?

पार्टी चलाउन खर्चको अभाव नहुने होइन, हुन्छ । विगतमा पनि अभाव भएकै हो । तर, पार्टी चलेकै थियो । पार्टी चलाउन व्यापारी, धनीमानी, ठेकेदारहरूको भर पर्नुपर्ने अवस्था स्थापनादेखि आजसम्म छ । जसले लगानी गरे तिनले फाइदा लिएरै छाडेका छन् । पार्टीलाई धेरथोर विकृत पनि पारेका छन् । त्यति हुँदा पनि पार्टीको मासवेस चरित्र मरिसकेको छैन । ‘लेवी’को अवधारणामा जाने हो भने कांग्रेस मासवेस रहने छैन । पार्टी सिर्फ कर्पोरेट कम्पनीमा परिणत हुनेछ । तिनका नेता/कार्यकर्ता कांग्रेस कम्पनीका सेयरहोल्डर । सेयरहोल्डर, खचाञ्चीहरूको पार्टी बनाउने कि तन्नमदेखि अमीरसम्मको ? कांग्रेसले नियमावली पारित गर्दा ख्याल राखोस् ।


कांग्रेसले हरेक तहका पार्टी पदाधिकारीले ‘लेवी’ तिर्नुपर्ने नियमावली प्रस्ताव गरेको छ । प्रस्ताव अनुसार पार्टीका वडादेखि केन्द्रीय सभापति, वडाध्यक्षदेखि संसदीय दलका नेता, सांसद र पार्टी कोटामा लाभको पदमा नियुक्त हुने सबैले मासिक रुपमा ‘लेवी’ बुझाउनुपर्ने छ । आफूले पाउने सुविधामा १ देखि २० प्रतिशतसम्म ‘लेवी’ लाग्नेछ । स्वदेशकाले मात्र होइन विदेशमा रहेका कांग्रेस समर्थकहरूले पनि ‘लेवी’ बुझाउनुपर्ने व्यवस्था गरिँदैछ ।


कांग्रेसले पार्टी चलाउने खर्चका लागि मास अपील गर्नु उचित हुन्छ । स्वेच्छाले जसले जति दिन्छन् त्यति लिएर पार्टी चलाउनु जाती हुन्छ । १२ मध्ये १ महिना हरेक वर्ष पार्टीले सदस्यता बितरण अभियान बढाउनु पर्छ । सदस्यता शुल्क एक हजार रूपैयाँ राख्दा उचित हुन्छ । सदस्यता अभियानमा कति सहभागी भए ? कतिले सदस्यता लिए ? यसले पार्टीप्रति आम नागरिकको आकर्षण के कस्तो रहेछ भनी आँकलन हुनेछ । यो एकप्रकारले पार्टी प्रतिको जनमत सर्वेक्षण नै हुनेछ । जसले पछिल्ला कार्यक्रम र योजना बनाउन सहयोग पुग्नेछ ।


धनीमानी, साहु, व्यापारी र सुभेच्छुकहरूले वैधानिक तरिकाले सहयोग गर्न चाहे त्यस्तो रकम लिन हुन्छ । यसबाट पनि पार्टीलाई सहयोग प्राप्त हुन्छ, हुँदै आइरहेको इतिहास पनि छ ।


बेलायतमा लेवर पार्टीले ट्रेड युनियनसित पार्टी सञ्चालनका लागि आर्थिक सहयोग प्राप्त गर्थ्यो । औद्योगिक चरणमा रहेकै बेला लेवरहरूले आफू समर्थक श्रमिक संगठनबाट पार्टी चनाउन सहयोग लिने गरेका थिए । तर आज त्यसमा परिवर्तन आएको छ । बेलायतका पार्टीहरुले आफ्ना क्याडरसित ‘लेवी’ लिने भन्दा पनि देशभर पार्टी सदस्यता अभियान सञ्चालन गरी पार्टीका लागि आवश्यक खर्च जुटाउँछन् । २ वर्षअघि प्रकाशित वाचडगको प्रतिवेदन अनुसार लेवर पार्टीले ५५.८ मिलियन पाउण्ड र कन्जरभेटिभले ४५.९ मिलियन पाउन्ड सङ्कलन गरेका थिए । लेवरले थोरै मात्र धनीमानहरूसित रकम चन्दा लिएको थियो ।


देशभर पार्टी सदस्यता बितरण अभियनाबाट उनीहरुले थोरैथोरै गरेर धेरै रकम उठाएका थिए । सन् २०१५ मा २ लाख सदस्य रहेको लेवरको २०१७ मा ५ लाख ५२ हजार सदस्यता पुगेको थियो । ती सबैले पार्टीलाई सदस्यता शुल्क बुझाए । धेरै रकम सङ्कलन भयो । पार्टी पनि लोकप्रिय भइरहृयो । कन्जरभेटिभको भने पार्टी सदस्यता लेवर जति थिएन । उसले धनीमानीहरूसित बढी चन्दा लिएको थियो । यी दुवै बेलायतका मासवेस पार्टी हुन् ।


नेपालमा खासै उद्योगधन्दा छैन । ट्रेड युनियनहरू कि विदेशी दातृ निकाय कि सरकारी रकममा भर पर्नुपर्ने अवस्था छ । कांग्रेसले ट्रेड युनियनबाट पार्टी सञ्चालन गर्न संभव छैन ।


कम्युनिष्ट ब्राण्डका पार्टीहरू क्याडरवेस हुन् । तिनले आफ्ना संगठन सञ्चानल गर्न पार्टी क्याडरहरूबाट ‘लेवी’ लिने गर्छन् । भन्नलाई गरिब–गुरुवाको पार्टी भन्छन् तर धेरै धनी छन् । कांग्रेस यो भन्दा विल्कूल भिन्न सिद्धान्त र धरातलमा हुर्केको पार्टी हो । यसले आफूलाई मासवेसबाट विमुख गर्ने हो भने कम्युनिष्ट भन्दा भिन्न हुन सक्दैन । कम्युनिष्ट पार्टीको जस्तो संगठन स्वरुप बनाएर कसरी लोकतान्त्रिक भन्न मिल्ला र ? सिद्धान्त र व्यवहारमा मेल नखाँदा पार्टीहरु धरासयी बन्ने हुन् ।


यसअघिको राष्ट्रपति निर्वाचनका बेला अमेरिकामा डिमोक्रेटिक पार्टीले ९५,४७,२९,१८१ डलर उठाएकोमा ९५,२६,७७,५०१ डलर खर्च गरी ३,६९,१७,२५३ डलर बचत गरेको थियो । रिपब्लकनले ९९,३९,६३,४६१ डलर सङ्कलन गरेकोमा ८८,१३,२९,१८९ डलर खर्च गरी ५८,९०७,८४४ डलर बचत गरेको थियो । डिमोक्रेटिक र रिपब्लिकन दुवै मासवेस पार्टी हुन् । यद्यपि, डिमोक्रेटिक भन्दा रिपब्लिकन अनुदार मानिन्छ । यी दुवै पार्टीको मूल स्रोत नै चन्दा हो ।


सन् १७८७ मा अमेरिकी संविधान जारी हुँदा पार्टीहरू अस्तित्वमा थिएनन् । पार्टीहरूले संविधान बनाएका होइनन्, संविधानले पार्टी जन्मन वातावरण सिर्जना गरेको हो । संघीय संविधान बनेको करिब ५ वर्षपछि मात्र पार्टीहरू बनेका हुन् । अलेक्जेण्डर हृयामिल्टनको नेतृत्वमा फेडरलिस्ट पार्टी स्थापना भयो भने त्योसँगै थोमस जेफर्सन र जेम्स म्याडिसनको अगुवाइमा डिमोक्रेटिक–रिपब्लिकन पार्टी जन्म्यो । सन् १८२४ मा डिमोक्रेटिक–रिपब्लिकन पार्टी फुटेर डिमोक्रेटिक र रिपब्लिकनको रुपमा स्थापित भए । अहिले अमेरिकीहरूको नजरमा यिनै दुई पार्टी छन् । कर्पोरेसन, श्रमिक संगठन र धनाढ्यहरूबाट ‘सफ्ट मनी’ र आम नागरिक, पार्टी शुभेच्छुक अनि संघीय इकाइहरूबाट पनि पार्टीलाई ‘हार्ड मनी’का रूपमा चन्दा प्राप्त हुन्छ । र, पार्टी चल्छ । ‘लेवी’को प्रावधान देखिँदैन ।


मसवेस पार्टीले नेता/कार्यकर्ताहरूबाट ‘लेवी’ उठाएर चलाउन खोज्दा कर्पोरेट कम्पनी चलाएजस्तै हुन्छ । पार्टी सभापतिको भूमिका प्रबन्ध निर्देशकको जस्तो हुन पुग्छ । कहाँबाट पार्टीलाई आर्थिक मुनाफा हुन्छ त्यसमा ध्यान पार्टी प्रमुखको ध्यान खिचिन्छ । जनसेवाभन्दा पनि धनसेवाले प्राथमिकता पाउँछ ।

प्रकाशित : असार २६, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?