मेचीको भेलले घेरियो बस्ती

‘वर्षातमा बस्तुभाउ बाँध्ने ठाउँसम्म हुँदैन । सबैतिर पानी नै पानी हुन्छ । पुर्ख्यौली ठाउँ छाडेर अन्यत्र जान सकिएन’
अर्जुन राजवंशी

(बिर्तामोड) — सिमानापारिको नेपाली बस्ती ‘भाङबारी’ मेची नदीको घेराबन्दीमा परेको छ । मेची नदीमा पुल नहुँदा मंगलबारदेखि नगरपालिकाको कार्यालय आउने भाङबारीका बासिन्दाको संख्या ≈वात्तै घटेको छ । 


भाङबारी बर्सेनि वर्षामा डुबानमा पर्ने गरेको छ । ‘हामी पुस्तौंदेखिको बाढीपीडित,’ ६२ वर्षीय गाउँनियार राजवंशीले भने, ‘पानी पर्न थालेपछि हामी खोला हेर्दै बस्छौं । बाढीले हाम्रो घर नडुबाएको मलाई याद छैन ।’

१६४ घरधुरीको भाङबारी मेची नदीमा चल्ने एउटा ढुंगाको भरमा धानिएको छ । भारतीय एसएसबीले वर्षौं पुरानो बाटो हिंडडुल गर्न अवरोध खडा गर्ने गरेको स्थानीय बताउँछन् । ‘वर्षातमा बस्तुभाउ बाँध्ने ठाउँसम्म हुँदैन । सबैतिर पानी नै पानी हुन्छ,’ हावालाल राजवंशीले भने, ‘पुर्ख्यौली ठाउँ हो । छाडेर अन्यत्र जान सकिएन तर बसाइ सधैं कष्टपूर्ण छ ।’

पानी पर्दा स्थानीय बासिन्दाको दैनिक रोजगारी बन्द हुन्छ । ‘मजदुरी गर्न भद्रपुर बजार पुग्नुपर्छ । भद्रपुर जान मेची नदी तर्नुपर्छ । ठूलो बाढी आउँदा नदीमा ढुंगा चल्दैन,’ वीरेन राजवंशीले भने ।

वर्षातमा करिब दुई महिना त्रासपूर्ण बसोबास हुने गरेको दिनो गणेशले बताइन् । मेची नदीका दुई वटा भङ्गाला छन् । एउटा भारतीय बस्ती भएर बग्छ । अर्को भाङबारी नजिकैबाट । दुई वर्षदेखि लगातार तटबन्ध गरेर भारतले आफूतर्फको भङ्गालाको पानीको धार मेची नदीमा फर्काएको छ ।

डुबान र कटान हुँदै आएको भाङबारीमा ३५० मिटर तटबन्ध गरिएको छ । सदरमुकाम बचाउ कार्यक्रमअन्तर्गत जनताको तटबन्ध कार्यालयले यो वर्ष उक्त तटबन्ध गरेको हो ।

१६ फिटे बाटोसहित ६० लाख रुपैयाँ लागतमा तटबन्ध गरेको जनताको तटबन्ध कार्यालय गैडेका प्रमुख मेखनाथ शर्माले जानकारी दिए । ‘यो तटबन्धले थोरै भए पनि गाउँ कटान हुनबाट जोगिन्छ कि भन्ने लागेको छ,’ विपिन राजवंशीले भने, ‘यो गाउँलाई कटान र डुबानबाट बचाउन थप तटबन्ध गर्न जरुरी छ ।’ वर्षातमा चारैतिर पानी नै पानी हुने गरेकाले गाउँका करिब तीन दर्जन विद्यार्थी नियमित विद्यालय जान नसक्ने गरेको शान्ति राजवंशीले बताइन् ।

भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले मेचीपारिको बस्तीलाई कटान र डुबानबाट जोगाउन अत्यन्त जरुरी रहेको बताए । ‘तर, त्यो काम हामी स्थानीय तहबाट सम्भव छैन । संघीय सरकारले नै गम्भीर भएर बजेट दिनुको विकल्प छैन,’ उनले भने । उनले संघीय सरकारसँग बजेट माग भइरहेकाले आगामी वर्षहरूमा थप काम हुनेमा आफू आशावादी रहेको बताए ।

जलमग्न बन्यो महानगर
विराटनगर– अविरल वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका बजारक्षेत्र
बुधबार जलमग्न बनेको छ । सडक, ढल निर्माण क्रममा रहेको महानगर सामान्य वर्षा हुनासाथ अस्तव्यस्त बन्ने गर्छ ।

योजनाबद्ध निर्माण नभएका कारण यस्तो भएको विराटनगर ४ का नवराज ढकाल बताउँछन् । ‘सबैतिर खनिएको छ,’ उनले भने, ‘वैकल्पिक बाटो बनाएर मुख्य बाटामा काम गर्दा राम्रो हुने थियो ।’ कोसी अञ्चल अस्पतालको प्रमुख प्रवेशद्वार नजिक सडक निर्माणको काम भइरहेकाले अस्पताल परिसरमा बुधबार बिहानको वर्षाले घुँडासम्म आउने गरी पानी जम्यो । यसले गर्दा बिरामीलाई आउजाउ गर्न कष्ट भएको थियो ।

निकासका लागि ढल निर्माण भइनसकेकाले अस्पताल डुबानमा परेको हो । यसैगरी आदर्श विद्यालय परिसरको मैदान पनि जलमग्न थियो ।

बजार क्षेत्रमा सडक र ढल निर्माण भइरहेकाले वर्षामा सर्वसाधारणलाई हिँडडुल गर्न मुस्किल भएको छ । बजारको अधिकांश क्षेत्र हिलाम्मे छ । जनआन्दोलन चोक, हिमालय मार्ग, जलजला मोड, रंगेली रोड, देवकोटा चोकलगायत क्षेत्र हिलाम्य हुँदा आउजाउमा समस्या थियो ।

वर्षाका कारण विराटनगरको सहिद रंगशालाको मैदानमा पूरै पानी जमेको छ । बिहीबारदेखि यो मैदानमा पहिलो ‘मुख्यमन्त्री कप प्रदेश लिग फुटबल’ हुने कार्यक्रम थियो । मैदानमा पानी भरिएपछि खेल धरानमा हुने भएको छ ।

प्रकाशित : असार २६, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घोडा नचढे जरिवाना

आश गुरुङ

(लमजुङ) — माथिल्लो मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा थियो । बाटो बिस्तार सुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले । यसको असर मनाङ गाउँ र टंकीले मिलेर मनाउने परम्परागत यार्तुङ पर्वमा पर्‍यो । घोडा दौड गरेर मनाइने यो पर्वका सहभागी घटे ।

यसपटक दुवै गाउँका अगुवाले जरिवानाको नियम बनाए । ‘यार्तुङमा सहभागी नहुनेलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो,’ पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले भने, ‘पर्वमा युवा सहभागिता अनिवार्य होस् भन्नका लागि जरिवानाको नियमबनाइएको हो ।’

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने दुवै गाउँले मिलेर मनाउँदै आएको यार्तुङ हिमाल पारिका जिल्लाको ठूलो पर्व हो । मनाङीका अनुसार तिब्बती भाषामा ‘यार’ को अर्थ बर्खा र ‘तो’ को घोडा हुन्छ । ‘यार्तो’ बाट अपभ्रंश भएर ‘यार्तुङ’ रहन गएको मानिन्छ । बर्खायाममा मनाइने पर्व कृषि कर्ममा हुने दुःख र परिश्रमका थकान मेटाउनका लागि भएको स्थानीय बताउँछन् ।

यसपटक गाउँका अधिकांश युवा यार्तुङमा सहभागी भएर पाँच दिनसम्म घोडा दौडाए । १६ देखि ५५ वर्ष उमेर समूहका पुरुषले घोडा दौडाएका थिए । शनिबार सुरु भएको यार्तुङ बुधबार सम्पन्न भएको छ । यसपटक करिब सय जनाले घोडा दौडाएको गुरुङले बताए ।

मनाङमा घोडा दौडाउन यस पटक पर्यटकीय पदमार्ग ५ हजार १६ मिटरको थोराङला भन्ज्याङ पास गरेर मुस्ताङबाट १३ जना युवा पुगेका थिए । ‘छिमेकी जिल्लाबाट पनि घोडा लिएर आएको देखेर यहाँका युवा हौसिए । यार्तुङ निकै रोमाञ्चक बन्यो,’ उनले भने । मुस्ताङीले खादामा पैसा बाँधेर भुइँमा राखेर घोडा दौडाई टिपेका थिए ।

‘घोडामा चडेर भुइँको खादामा राखेको पैसा टिपेको अहिलेको यार्तुङमा विशेष बन्यो,’ उनले भने, ‘मनाङीले टिप्न सकेनन् ।’ यार्तुङको घोडा दौड हेर्न पाउँदा स्वदेशी विदेशी पर्यटक रमाएका थिए ।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार पर्वले मनाङीमा खुसी ल्याएको छ । वर्षायाम सकिँदै गर्दा माथिल्लो मनाङका बासिन्दाले यो पर्व मनाउँछन् ।

‘बाली लगाएपछिको थकान मेटाउन र रमाइलो गर्न बर्सेनि यार्तुङ मनाइन्छ,’ उनले भने । यसपटक यार्तुङको पहिलो, दोस्रो र तेस्रो दिन घोडा दौड गरिएको उनले बताए । चौथो दिन घोडचढीले पोचो गुम्बा गएर पूजा गर्नुका साथै रोटी र सगुन खाएर नाचगान गरेका थिए । अन्तिम दिन घोडा दौडाएपछि मनाङ गुम्बामा गई पूजा गरी फर्केर लामाबाट वाङ (अभिषेक) थापेर पर्वको समापन गरिएको थियो । स्थानीयले मनाङ र भ्राकाको सिमानामा घोडा दौडाएका थिए ।

यार्तुङ पर्वका लागि सुरुमा गाउँ भेला गरेर ‘नन्दी’ तोकिएको हुन्छ । नन्दी भनेको पर्वको संयोजक हो । यो वर्ष मनाङ ङिस्याङ गाउँपालिका–७ टंकी गाउँबाट टसी गुरुङ र ८ को मनाङ गाउँबाट पेम्बा गुरुङ नन्दी छानिएका थिए । उनीहरूले पर्वको व्यवस्थापन गरेका थिए ।

‘गाउँ कोषको पैसाले नपुगे आफैंले पनि खर्च गर्नुपर्ने हुन्छ । तैपनि बर्सेनि नन्दी बस्छन्,’ मनाङ गाउँका पूर्वम्हिथेवा (गाउँले प्रमुख) कर्मा गुरुङले भने । मनाङसँगै भ्राका, पिसाङ र चामेलगायत गाउँमा पनि यार्तुङ मनाइन्छ । सुरुमा मनाङ गाउँमा यार्तुङ मनाएपछि मात्रै अन्य गाउँमा यो पर्व मनाइने गरिन्छ । चामेमा भने फरक समयमा मनाउने गरिन्छ । मनाङ जिल्ला ३ हजार ५ सय ४० मिटर उचाइमा पर्छ ।

प्रकाशित : असार २६, २०७६ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT