१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

घोडा नचढे जरिवाना

आश गुरुङ

(लमजुङ) — माथिल्लो मनाङमा मोटरबाटो नपुग्दासम्म स्थानीयको सवारीसाधन घोडा थियो । बाटो बिस्तार सुरु भएयता मनाङीले घोडा बेच्दै मोटरसाइकल किन्न थाले । यसको असर मनाङ गाउँ र टंकीले मिलेर मनाउने परम्परागत यार्तुङ पर्वमा पर्‍यो । घोडा दौड गरेर मनाइने यो पर्वका सहभागी घटे ।

घोडा नचढे जरिवाना

यसपटक दुवै गाउँका अगुवाले जरिवानाको नियम बनाए । ‘यार्तुङमा सहभागी नहुनेलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो,’ पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले भने, ‘पर्वमा युवा सहभागिता अनिवार्य होस् भन्नका लागि जरिवानाको नियम बनाइएको हो ।’


चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने दुवै गाउँले मिलेर मनाउँदै आएको यार्तुङ हिमाल पारिका जिल्लाको ठूलो पर्व हो । मनाङीका अनुसार तिब्बती भाषामा ‘यार’ को अर्थ बर्खा र ‘तो’ को घोडा हुन्छ । ‘यार्तो’ बाट अपभ्रंश भएर ‘यार्तुङ’ रहन गएको मानिन्छ । बर्खायाममा मनाइने पर्व कृषि कर्ममा हुने दुःख र परिश्रमका थकान मेटाउनका लागि भएको स्थानीय बताउँछन् ।


यसपटक गाउँका अधिकांश युवा यार्तुङमा सहभागी भएर पाँच दिनसम्म घोडा दौडाए । १६ देखि ५५ वर्ष उमेर समूहका पुरुषले घोडा दौडाएका थिए । शनिबार सुरु भएको यार्तुङ बुधबार सम्पन्न भएको छ । यसपटक करिब सय जनाले घोडा दौडाएको गुरुङले बताए ।


मनाङमा घोडा दौडाउन यस पटक पर्यटकीय पदमार्ग ५ हजार १६ मिटरको थोराङला भन्ज्याङ पास गरेर मुस्ताङबाट १३ जना युवा पुगेका थिए । ‘छिमेकी जिल्लाबाट पनि घोडा लिएर आएको देखेर यहाँका युवा हौसिए । यार्तुङ निकै रोमाञ्चक बन्यो,’ उनले भने । मुस्ताङीले खादामा पैसा बाँधेर भुइँमा राखेर घोडा दौडाई टिपेका थिए ।


‘घोडामा चडेर भुइँको खादामा राखेको पैसा टिपेको अहिलेको यार्तुङमा विशेष बन्यो,’ उनले भने, ‘मनाङीले टिप्न सकेनन् ।’ यार्तुङको घोडा दौड हेर्न पाउँदा स्वदेशी विदेशी पर्यटक रमाएका थिए ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार पर्वले मनाङीमा खुसी ल्याएको छ । वर्षायाम सकिँदै गर्दा माथिल्लो मनाङका बासिन्दाले यो पर्व मनाउँछन् ।


‘बाली लगाएपछिको थकान मेटाउन र रमाइलो गर्न बर्सेनि यार्तुङ मनाइन्छ,’ उनले भने । यसपटक यार्तुङको पहिलो, दोस्रो र तेस्रो दिन घोडा दौड गरिएको उनले बताए । चौथो दिन घोडचढीले पोचो गुम्बा गएर पूजा गर्नुका साथै रोटी र सगुन खाएर नाचगान गरेका थिए । अन्तिम दिन घोडा दौडाएपछि मनाङ गुम्बामा गई पूजा गरी फर्केर लामाबाट वाङ (अभिषेक) थापेर पर्वको समापन गरिएको थियो । स्थानीयले मनाङ र भ्राकाको सिमानामा घोडा दौडाएका थिए ।


यार्तुङ पर्वका लागि सुरुमा गाउँ भेला गरेर ‘नन्दी’ तोकिएको हुन्छ । नन्दी भनेको पर्वको संयोजक हो । यो वर्ष मनाङ ङिस्याङ गाउँपालिका–७ टंकी गाउँबाट टसी गुरुङ र ८ को मनाङ गाउँबाट पेम्बा गुरुङ नन्दी छानिएका थिए । उनीहरूले पर्वको व्यवस्थापन गरेका थिए ।


‘गाउँ कोषको पैसाले नपुगे आफैंले पनि खर्च गर्नुपर्ने हुन्छ । तैपनि बर्सेनि नन्दी बस्छन्,’ मनाङ गाउँका पूर्वम्हिथेवा (गाउँले प्रमुख) कर्मा गुरुङले भने । मनाङसँगै भ्राका, पिसाङ र चामेलगायत गाउँमा पनि यार्तुङ मनाइन्छ । सुरुमा मनाङ गाउँमा यार्तुङ मनाएपछि मात्रै अन्य गाउँमा यो पर्व मनाइने गरिन्छ । चामेमा भने फरक समयमा मनाउने गरिन्छ । मनाङ जिल्ला ३ हजार ५ सय ४० मिटर उचाइमा पर्छ ।


प्रकाशित : असार २६, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?