१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विषादी प्रकरणबारे प्रधानमन्त्रीले भने- 'भारतको कूटनीतिक प्रयासहरू बारे मलाई अनभिज्ञ राखियो'

'पछि मात्र थाहा भयो, त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले ‘अनभिज्ञ’ राखेको बताएका छन् । भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएको बारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । 

विषादी प्रकरणबारे प्रधानमन्त्रीले भने- 'भारतको कूटनीतिक प्रयासहरू बारे मलाई अनभिज्ञ राखियो'

‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो । तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें । तर २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ । म त्यसबाट अत्यन्त दुखित छु,’ प्रधानमन्त्री ओलीले बुधबार जनतासँग प्रधानमन्त्री कार्यक्रममा विषादी प्रकरणबारे स्पष्टीकरण दिँदै भने, ‘र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस्, मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो । एउटा यथार्थ मबाट लुकेको रहेछ ।’

प्रधानमन्त्रीको यो अभिव्यक्तिले मुलुकको कार्यकारी व्यक्ति नै कति गुमराहमा छन् भन्ने प्रश्न उब्जिएको छ । प्रधानमन्त्री ओलीले २१ गते नेकपाको संसदीय दलमा ‘कस्तो पत्र कसले पठाएको पत्र ?’ भन्दै सांसदहरूमाथि आक्रोश पोखेका थिए । उनले पत्रै नआएको दाबी गरेका थिए ।

प्रधानमन्त्री ओलीले त्यसो भनेको दुई दिनपछि (२३ गते) भारतीय दूतावासले असार १४ मा नै परराष्ट्र मन्त्रालयलाई सम्बोधन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय र खाद्यप्रविधि तथा गुणस्तर नियन्त्रण विभागलाई बोधार्थ दिँदै लेखेको पत्र सार्वजनिक भएको थियो । प्रधानमन्त्री ओलीले आफूबाट लुकेको कुरा थाहा नपाउँदा जे हो त्यही अभिव्यक्ति

दिएको बताए ।


‘लुकेको कुरा थाहा नहुँदा मैले आएको छैन (पत्र) भनें । त्यसबाट मैले कहीं जनतालाई अल्मल्याउन खोजेको त होइन भन्ने भ्रम पर्ने अवस्था र विरोधीहरूले भएको कुरालाई हैन भन्यो भनेर प्रचार गर्ने मौका पाए,’ प्रधानमन्त्री ओलीले भने, ‘मलाई त्यसमा कुनै त्यो एउटा तथ्यलाई अर्को ढंगले भन्नुपर्ने र त्यसो भन्दा लाभ हुने अवस्था होइन र थिएन ।’

परीक्षणका लागि तयारी नपुगेको र त्यसअनुसारको संरचना पनि नभएको पाएपछि केही समयका लागि रोक्ने निर्णय आफैंले गरेको ओलीले दाबी गरे । ‘त्यो चासो सरोकार जनाएको कुरा पनि मसम्म आएको थिएन । मैले त आफैं तयारी पुगेको छैन भनेर रोकेको हुंँ,’ प्रधानमन्त्री ओलीले भने, ‘भित्रभित्रै कुरा भएको रहेछ । विभिन्न ठाउँमा राजदूतले नै भेटेर भनेको आदि पाइयो । यो कुरा त मलाई कसैले बताएन । मैले त हाम्रो तयारी पुगेन भनेर केही समयका लागि तयारी गर्नका लागि रोक्ने निर्देशन गरेको हो ।’

उनले विषादी परीक्षण कुनै देशसँग लक्षित नरहेको बताए । ‘यो कुनै देशसँग लक्षित होइन । सामान्य ढंगले हामीले आयात गर्ने खाद्यपदार्थ शुद्ध हुनुपर्छ भन्ने कुरा हो,’ उनले भने, ‘यो कुनै देशका विरुद्ध होइन, हामी धेरै देशबाट खाद्य सामग्री आयात गर्छौं, बंगलादेश, थाइल्यान्ड, ब्राजिल, अमेरिकाबाट गर्छौं तर अलिक ठूलो भोल्युममा भएकाले त्यसले अलिक चासो सरोकार जनायो होला ।’ प्रधानमन्त्री ओलीले अहिले पनि सम्पूर्ण रूपमा परीक्षण नरोकिएको दाबी गरे ।

छिटो परीक्षणका लागि छिटो काम भइरहेको र अन्य मित्रराष्ट्रहरूलाई पनि परीक्षण गरेको प्रमाणपत्रसहित पठाउनुहोस् भनेर आग्रह गरेको प्रधानमन्त्रीले जानकारी दिए । अहिले आफूले नै परीक्षणको काम सुरु गरेको र केही समय तयारीका लागि रोक्दा ‘कोहोहोलो’ मच्चाइएको भन्दा आक्रोश पोखे ।

‘यसअघि अमृतै अमृत आउँथ्यो ? छानबिन गर्नु पर्दैनथ्यो, बहुमत राम्रो कुरा मात्र हुन्थ्यो ? यतिबेला चाहिँ हल्ला भएको छ । विषादीयुक्त चीज खाने भनेर ? तबसम्म किन नबोलेका जबसम्म म बोलिनँ ? किन नबोलेको हो ? अहिले मैले छानबिन गरिरहेको छु र मित्रराष्ट्रहरूलाई आफ्ना परीक्षण गरेको प्रमाणपत्र दिएर सामान पठाउनु भनेको छु,’ प्रधानमन्त्री ओलीले भने ।

जनशक्ति र यन्त्रहरू पनि पर्याप्त नरहेको अवस्थामा परीक्षण गर्न सकिन्छ भन्ने खालको प्रस्ताव मन्त्रालयबाट किन आयो भन्नेमा पनि प्रधानमन्त्रीले आशंका व्यक्त गरेका छन् । ‘अब भयो (परीक्षण गर्ने क्षमता) भनेर प्रस्ताव किन ल्यायो ? तर प्रस्ताव त्यसरी आयो जसबाट म अलिकति झुक्किएँ,’ प्रधानमन्त्री ओलीले भने । उनले यो प्रकरणमा प्रतिक्रिया दिनेहरूप्रति आपत्ति जनाए ।

‘यसलाई बहुतै देशभक्त पल्टिएर र जनताका स्वास्थ्यमा बहुतै सजग पल्टिएर कोही चिकित्सकहरू कराउने, कोही कुन संस्था कराउने ? एकैचोटि जुन यो हुइँया मच्चिएको छ, यो हुइँयाको सजगताका लागि धन्यवाद छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसअघि किन चुँ पनि गरिएन ? म सरकारमा आएपछि त सजगता अपनाएँ । तयारी गर्नुपर्ने ठाउँमा तयारी गरें । अलिकति तयारी नपुगेको रहेछ, घोषणा हतारोसाथ भएछ, त्यसैले केही समयलाई रोकेको हो ।

प्रकाशित : असार २६, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?