२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रतिबन्धपछि चन्द समूहका ८ कार्यकर्ता मारिए, गाउँगाउँमा थपिए सुरक्षाकर्मी

काठमाडौँ — सरकारले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता–कार्यकर्ता मारिएका छन् । चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ ।

प्रतिबन्धपछि चन्द समूहका ८ कार्यकर्ता मारिए, गाउँगाउँमा थपिए सुरक्षाकर्मी

पछिल्लोपल्ट बुधबार भोजपुरमा ओखलढुंगा इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राई मारिएका हुन् । भोजपुरमा दुई, सर्लाहीमा एक, काठमाडौं विस्फोटमा ५ गरी चन्द समूहका ८ जना मारिएका हुन् । काठमाडौ विस्फोटमा एक सर्वसाधारणको पनि ज्यान गएको थियो ।

प्रतिबन्धयताको अवधिमा दुई प्रहरीसहित ९ जना घाइते छन् ।

नेकपा संसदीय दलको चैत ११ को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र नेत्रविक्रम चन्द समूहलाई सरकारले निस्तेज पारिसक्ने दाबी गरेका थिए । प्रधानमन्त्रीको यस्तो दाबीपछिका चार महिनामा पटकपटक चन्द समूह र प्रहरीबीच देशका विभिन्न स्थानमा भिडन्तको अवस्था सिर्जना भएको देखिन्छ ।

फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि उक्त समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाउन, सार्वजनिक रूपमा कार्यक्रम गर्न नदिन सुरक्षा निकायलाई परिचालन गरिएको थियो । सरकारी निर्णयपछि प्रहरीले देशैभर चन्द समूहका नेता तथा कार्यकर्ता पक्राउ तीव्र पारेको थियो ।

१० चैतमा गृह मन्त्रालयले चन्द समूहलाई प्रत्यक्ष–परोक्ष सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा समूहलाई समेत कारबाहीको दायरामा ल्याइने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।


सूचना जारी भएलगत्तै प्रधानमन्त्री ओलीले चैत महिनाको समय दिएका थिए । त्यसपछि झन् सरकार र चन्द समूह आमनेसामने भइरहेका छन् । असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ मा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोलीबाट मारिए ।

दोहोरो भिडन्तमा कुमार मारिएको दाबी प्रहरीले गरे पनि फेक इन्काउन्टरमा प्रहरीले पौडेललाई मारेको भन्दै संसद्मा प्रतिपक्षी र सरकारसम्बद्ध दलकै नेताले प्रश्न उठाइरहेका छन् । यो विषयमा संसदीय छानबिनको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले प्रतिनिधिसभा अवरोध गरिरहेको छ ।

गत जेठ ७ मा भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा चन्द समूहकै कार्यकर्ता तीर्थराज घिमिरेको पनि प्रहरीको गोली लागी मृत्यु भएको थियो । प्रहरीले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेको भन्दै चन्द समूहले नेपाल बन्दकै आयोजना गरेको थियो ।

प्रतिबन्धअघि २०७५ वैशाखदेखि फागुन ९ सम्म प्रहरीले चन्द समूहका एक सय ९० नेता–कार्यकर्ता पक्राउ गरेको थियो । तीमध्ये एक सय ७२ जनाको मुद्दा दर्ता भएका थिए । गत फागुनदेखि असार २५ सम्म मात्र चन्द समूहका ५ सय ७९ जना पक्राउ परेका छन् । ८७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ७० जना अनुसन्धानका क्रममा थुनामा छन् । ५ सय ३६ विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । यही अवधिमा चन्द समूहका ३९ जनालाई पक्राउपछि सोधपुछ गरेर छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको दाबीअनुसार यो अवधिमा चन्द समूहका ३ सय ५२ जनाले समूह परित्याग गरेको लिखित प्रतिबद्धता जनाएका छन् ।

चन्द समूहले गरेको विस्फोटबाट यो अवधिमा चन्द समूहका ५ सहित ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७ घाइते छन् । प्रहरी र चन्द समूहबीचको दोहोरो भिडन्तमा फागुनमा दुई प्रहरी घाइते भएका थिए । यो अवधिमा २३ नाल हतियार बरामद भएका छन् । तीमध्ये एएम १६–ए टु एक थान, एलएमजी र एसएलआर जस्ता अत्याधुनिक हतियारसहित ‘३०३ राइफल’ ३ थान, ७ थान पेस्तोल, ३ थान रिभल्वर र ५ थान घरेलु हतियार पनि बरामद गरेको छ । चन्द समूहका कार्यकर्ताबाट चार सय १७ राउन्ड गोली र ४ डेटोनेटर पनि यो अवधिमा प्रहरीले बरामद गरेको छ ।


प्रहरीका एक उच्च अधिकारीले चन्द समूहसँग सामान्य मात्रै नभएर अत्याधुनिक हतियार रहेको र तीमध्ये केही जनयुद्धकालीन र केही हालसालै किनिएका हुन सक्ने बताए । गृहमन्त्री रामबहादुर थापाले यसअघि नै चन्द समूहको शक्ति बढदै गएको र चारवटा सैन्य कम्पनी निर्माण गरेको संसद्मै जानकारी गराएका थिए ।

प्रहरीको गोलीबाट मृत्यु भएका तीनजना चन्द समूहका नेता–कार्यकर्ताको साथबाट प्रहरीले हतियार बरामद गरेको देखिन्छ । जेठ पहिलो साता भोजपुरको ट्याम्केमा मारिएका तीर्थराज घिमिरेको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने ५ थान गोली, ४ थान डेटोनेटर बरामद गरेको प्रहरीको दाबी छ ।

त्यस्तै सर्लाही घटनामा मृत्यु भएका कुमार पौडेलको साथबाट सिक्सर रिभल्वर, त्यसमा लाग्ने ४ थान गोली र एक थान कटुवा पेस्तोल बरामद गरेको प्रहरीले बताएको थियो । बुधबारको घटनामा मारिएका चन्द समूहका कार्यकर्ताबाट पनि प्रहरीले चाइनिज पेस्तोल फेला परेको दाबी गरेको छ । यी तीनै घटनामा प्रहरीले दोहोरो भिडन्त दाबी गरेको छ भने तीनै मृतकको साथबाट बन्दुक फेला पारेको देखिन्छ ।

प्रकाशित : असार २६, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?