काभ्रे जिल्ला अदालतद्वारा क्यानेडीयन नागरिक डालगिल्स बालयौन दुराचारी ठहर
काभ्रे — गरीब तथा विपन्न परिवारका बालबालिकालाई पढाइ दिने प्रलोभन देखाउँदै लामो समयदेखि बालयौन दुराचार गर्दै आएको ६३ वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई काभ्रे जिल्ला अदालतले कसुरदार ठहर गर्दै कैद तथा जरिवाना तोकेको छ ।
मुद्दामा सोमबार अन्तिम सुनुवाई गर्दै अर्जुन अधिकारीको एकल इजलासले डालगिल्सको यौन दुराचार गरेको पुष्टी भएका दुई बालकलाई जनही ५ लाख क्षतिपूर्ति तथा केस २९५ (पीडितको नाम गोप्य राख्न प्रयोग गरिएको कोड)मा ९ वर्ष कैद तथा केस २९४ मा सात वर्ष कैद हुने आदेश गरेको हो ।
१५ महिना अघि काभ्रेको मन्डन, देउपुर नगरपालिका-१ मा करीब १४ रोपनी जग्गामा विलासी ‘भिल्ला’ बनाएर बालयौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डालगिल्सलाई २ बालकका साथमा पक्राउ गरेको थियो ।
डालगिल्सले स्ट्रिट किड्स इन्टरनेसनल नामक गैर सरकारी संस्था खोलेर बालबालिकाको हितमा काम गर्ने भन्दै यौन दुराचार गर्ने गरेको देखिएको थियो । उनी लाइबेरियामा विश्व स्वास्थ्य संगठनमा वरिष्ठ सहरी विकास सम्बन्धी सल्लाहकारको रुपमा काम गरेको, अफगानिस्तानमा यूएन हेविटयटमा राष्ट्रिय प्रतिनिधिमा रुपमा काम गरेको समेत अनुन्धानमा देखिएको थियो । त्यसका साथै डाफरमासमेत काम गरेको उल्लेख थियो ।