१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

नमुना बनाइँदै बहिरा मावि

गोरखा — गोरखा नगरपालिका १० को मनकामना बहिरा आवासीय माविलाई गण्डकी प्रदेशकै नमुना विद्यालयका रूपमा विकास गरिने भएको छ । त्यसका लागि प्रक्रिया थालिएको छ । कान नसुन्ने विद्यार्थी मात्र अध्ययन गर्ने उक्त विद्यालयमा सबै प्रकारका अपांगता भएकालाई समेट्ने योजना ल्याइएको छ । 

‘नमुना बनाउने निर्णयको परिपत्र आइसक्यो,’ विद्यालयका प्रधानाध्यापक अनिल अमगाईंले भने, ‘नमुना विद्यालयको कार्यविधि ड्राफ्ट हुँदै छ भन्ने सुनेका छौँ, त्यसपछि संरचना निर्माण तथा शैक्षिक विकासको काम सुरु होला ।’ गुरुयोजना बनाएर समग्र विकासको प्रक्रिया अगाडि बढाइने उनले बताए । ‘यस वर्ष सरकारले एक करोड छुट्याएको छ, अपांगतामैत्री आवास भवन निर्माणको सुरुवात गर्ने तयारी छ,’ उनले भने ।


विद्यालयको संरचना १० रोपनी क्षेत्रफलमा फैलिएका छन् । नमुना बन्ने प्रक्रिया सुरु भएसँगै थप १० रोपनी जग्गा विद्यालयको नाउँमा ल्याउने तयारी सुरु गरिएको छ । ‘पहिलो चरणमा सुविधासम्पन्न संरचना बनाउनै जोड दिन्छौं, कक्षाकोठा, होस्टल, खेलमैदानलगायत सम्पूर्ण संरचना अपांगमैत्री बनाउनुपर्ने छ,’ उनले भने । नमुना विद्यालय बनाउने संघीय सरकारको कार्यक्रम प्रदेश सरकारले कार्यान्वयन गर्ने उनको भनाइ छ । नमुना बनाउदा सबै संरचना बनाउनपर्ने आवश्यकता देखिएको पनि विद्यालयले जनाएको छ । ‘शैक्षिक एवं भौतिक पक्षमा नै जोड दिनुपर्ने आवश्यकता छ,’ उनले भने । डोटी, जुम्ला, सुर्खेत, सल्यान, जाजरकोट, तनहुँ, लमजुङ, चितवन, धादिङ, मकवानपुरलगायत २५ जिल्लाका एक सय १९ बहिरा विद्यार्थी विद्यालयमा आवासीय रूपमा अध्ययनरत छन् । विद्यालयलाई सरकारले प्रतिविद्यार्थी वार्षिक ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।


विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले सीपमूलक शिक्षाको माग गर्दै आएका छन् । उनीहरूका मागलाई दृष्टिगत गरी स्वरोजगारका लागि प्राविधिक शिक्षा उपलब्ध गराउने विद्यालयको तयारी छ । ‘१२ कक्षा पास गर्दा पनि रोजगारी पाइएन, शिक्षा मात्र लिएर भएन भन्दै विद्यार्थीले गुनसो गरे,’ अमगाईंले भने, ‘कम्प्युटर इन्जिनियर र होटलका वेटर बन्नेमा विद्यार्थीको रुचि छ ।’ विद्यार्थीकै मागका आधारमा २३ जनालाई वेटर तालिम दिइएको उनले बताए ।


बहिरा विद्यार्थीलाई नौ कक्षाबाट प्राविधिक शिक्षा उपलब्ध गराउने तयारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीको भनाइ छ । जंगलबीचमा रहेको विद्यालयमा खानेपानी र घेराबार नहुँदा समस्या थपिएको उनले बताए । विद्यालयमा भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले चारकोठे भवन निर्माण गरेको छ । शुक्रबार उक्त भवनको उद्घाटन भयो । ६७ लाख २० हजारको लागतमा भवन निर्माण भएको एकाइका प्राविधिक बाबुराम देवकोटाले बताए ।


कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि उक्त विद्यालयलाई प्रदेशकै नमुना विद्यालयका रूपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्घता जनाए ।

प्रकाशित : असार २३, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?