कर्णालीका दर्जन स्थानीय तहले बजेट ल्याउन सकेनन्

राजबहादुर शाही, एलपी देवकोटा

(मुगु) र (जुम्ला) — कर्णालीका स्थानीय तह सानातिना समस्या सुल्झाउनेदेखि बजेट ल्याउनेजस्ता महत्त्वपूर्ण काममा चुकेका छन् । प्रदेशका करिब एक दर्जन स्थानीय तहले कानुनले तोकेको समयभित्र गाउँसभा गरी बजेट ल्याउन सकेका छैनन् । केही स्थानीय तह सामाजिक सुरक्षा भत्ता वितरणजस्ता आधारभूत काममा अल्झिएका छन् ।

जुम्लाको एउटा गाउँपालिकामा त निजी शिक्षकले तलब नपाएको भन्दै सबै विद्यालयमा तालाबन्दी गरेका छन् ।

कर्णालीका ७९ स्थानीय तहमध्ये करिब एक दर्जन स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार असार १० भित्र बजेट प्रस्तुत गरी असार मसान्तभित्र पास गरिसक्नुपर्छ । अन्यथा केन्द्रले अर्को वर्षका लागि अनुदान कटौती गर्ने प्रावधान छ । डोल्पाको ठूलीभेरी नगरपालिका र छार्काताङसाङ, डोल्पोबुद्ध, काइके तथा शे–फोक्सुन्डो गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन् । ठूलीभेरीमा नगर प्रमुख र उपप्रमुखबीच विवाद छ भने अन्य गाउँपालिकाका जनप्रतिनिधि यार्चा संकलन गर्न गएकाले गाउँसभा प्रभावित भएको हो ।

हुम्लाका ७ स्थानीय तहमध्ये ताजाकोट, चंखेली, खार्पुनाथ र सर्केगार्डले बजेट ल्याएका छैनन् । तयारी नपुगेको भन्दै बजेट नल्याएको ती गाउँपालिकाले जनाएका छन् । ताजाकोटमा असार ३ गते गाउँपालिका उपाध्यक्षको जिप दुर्घटनामा परी मृत्यु भएकाले २५ गते बजेट ल्याउने तयारी गरिएको अध्यक्ष कर्ण रावलले बताए । मुगुका चार स्थानीय तहमध्ये सोरु गाउँपालिकाले मात्र बजेट ल्याएको छ । जनप्रतिनिधिबीचको विवाद र तयारी अभावले बजेट ल्याउन नसकिएको स्थानीय तहले जनाएका छन् । छायानाथ रारा नगरपालिकाका १४ वटै वडाध्यक्षले बजेटप्रति आपत्ति जनाएपछि बजेट आउन नसकेको हो । १ नम्बरका वडाध्यक्ष लोकबहादुर हिताङले नगर प्रमुखको ‘मनपरी’ रोक्न सबै वडाध्यक्ष एक ठाउँमा आएको बताए । रुकुम (पश्चिम) का ६ स्थानीय तहमध्ये त्रिवेणी गाउँपालिकाले बजेट प्रस्तुत गर्न सकेको छैन ।

९ महिनादेखि भत्ता बाँडिएन
मुगुको छायानाथ रारा नगरपालिकाका ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिले असोजयता सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । गाउँबस्तीमै गएर भत्ता वितरण गर्नुपर्ने भए पनि नगरपालिकाले वितरण गरेको छैन । सरकारले ६० देखि ७० वर्ष उमेरका नागरिकलाई मासिक १ हजार र ७० भन्दा माथिका लाई सहुलियत तथा उपचार खर्चबापत मासिक २ हजार रुपैयाँ भत्ता दिँदै आएको छ । भत्ता नपाउँदा जीवन धान्न मुस्किल भएको वडा नं. ५ का ७५ वर्षीय गोरबहादुर कार्कीले बताए ।

छायानाथ रारा नगरपालिकामा भत्ता पाउने ज्येष्ठ नागरिकको संख्या १ हजार ५ सय ३९ छ । तीमध्ये ७० वर्षमाथिका ६ सय २६ जना र ६० देखि ६९ वर्षका ९ सय १३ जना छन् । नगरपालिका क्षेत्रमा ३ सय ४६ जना एकल महिला र ६४ जना पूर्ण अपांगता तथा ७७ जना आंशिक अपांगता भएका व्यक्ति छन् । नगरपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता पाउनेको यकिन विवरण नआउँदा थप समस्या भएको जनाएको छ । नगर उपप्रमुख सुन्तला रोकायाले समयमै सही तथ्यांक प्राप्त नहुँदा भत्ताका लागि रकम प्राप्त गर्न समस्या भएको बताइन् ।

प्रकाशित : असार २२, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रारामा बढ्यो रौनक

राजबहादुर शाही, एलपी देवकोटा

मुगु / जुम्ला — दसैं–तिहारको अवसर पारेर देशका विभिन्न ठाउँबाट पर्यटक ओइरिएपछि रारामा रौनक बढेको छ । ताल वरपरका स्थान, मचानमा पर्यटक भरिभराउ देखिन थालेका छन् । यसले रारा रुटको आर्थिक गतिविधि पनि बढेको छ ।

रारा अवलोकन गर्दै पर्यटक । तस्बिर : कान्तिपुर

देशका विभिन्न सहरका साथै भारतको बिहार राज्यबाट समूह बनाएर पर्यटकहरू राराको अवलोकन गर्न आएका छन् । अधिकांश पर्यटक सुर्खेतबाट ‘अफरोड’ गाडीमार्फत कर्णाली राजमार्ग हँुदै रारा पुग्ने गरेका छन् । मोटरसकाइकल र सुर्खेत–नेपालगन्जबाट हवाईजहाज चढेर आउनेको संख्या पनि उल्लेख्य छ ।

रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार दैनिक डेढ सयको संख्यामा पर्यटक आउने गरेका छन् । उनीहरू सोही दिन राराको दृश्यावलोकन गरी फर्किने गरेका उनले बताए । पछिल्लो तीन महिनामा करिब चार हजार पर्यटक रारा पुगेको उनको भनाइ छ ।

यही अवसर पारेर रारामा विभिन्न कार्यक्रम हुने गरेका छन् । केही दिनअघि राराताल छेउमा अनमोल स्मृति प्रतिष्ठानले साहित्य महोत्सव आयोजना गर्‍यो । महोत्वसमा सुर्खेत, काठमाडौंसहित विभिन्न ठाउँका स्रष्टा भेला भए । ‘कयौं साहित्य सिर्जनामा सिङ्गारिएकी धर्तीकी अप्सरा राराको सामीप्यमा आएर स्रष्टाले आफ्नो सिर्जना पस्किए,’ प्रतिष्ठानका अध्यक्ष नीराजन शाहीले भने, ‘कविता महोत्सवले राराको माहोल झन् गुल्जार बन्यो ।’

पर्यटकको आगमन बढेसँगै रारामा घोडा र डुंगा व्यवसाय पनि फस्टाएको छ । ताल वरपर पर्यटकका लागि डेढ सय घोडा तैनाथ छन् । घोडा व्यवसायी कर्णसिंह रोकायाले मौसम छोप्नको लागि मुर्मा, झ्यारी, पिना, टोप्ला, सिगाडीलगायत बस्तीका घोडा रारामा पुगेको बताए । उनका अनुसार एउटा घोडाले दैनिक पाँच हजारसम्म कमाउने गरेको छ ।

भदौयता करिब ६ हजार पर्यटक आएका निकुञ्जको भनाइ छ । रारा आएका पर्यटकहरू घोडा चढेर मुर्माटप पुग्छन् । डुंगा चढेर रमाउनेको संख्या पनि उल्लेख्य छ । पहिलोपटक रारा आएका कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले दसैं/तिहार बिदाको समयमा घुमघामका लागि रारा उत्तमभएको बताए ।

होटल भरिभराउ
रारा घुम्न आउने पर्यटकलाई राति बास बस्न र खानाको समस्या हुने गरेको छ । रारामा डाँफे गेस्ट हाउस, भिलेज हेरिटेज रिसोर्ट र माझघट्ट होम–स्टे छन् ।

तर, ती होटलले पाहुनाको भार धान्न सकिरहेका छैनन् । होटलले दैनिक सरदर ६० देखि ७० हजार रुपैयाँसम्म कमाउने गरेका छन् । होटलमा कोठा नपाउँदा पर्यटकहरू चौरमा टेन्ट राखेर बस्न बाध्य छन् । कतिपय पर्यटक बासको लागि ताल्चा, झ्यारी र गमगढीसम्म पुग्नेगरेका छन् ।

‘रारा निकै सुन्दर छ, तर यहाँ खाना, बस्नको उचित प्रबन्ध नहुँदा अलि असजिलो लाग्यो,’ सुर्खेतबाट आएका दिनेश गौतमले भने, ‘उत्साह लिएर रारा आउनेहरू निराश भएर फर्किने गरेका छन् ।’

पर्यटकलाई कररारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट कर असुल्ने गरिएको छ । रारा राष्ट्रिय निकुञ्ज, निकुञ्ज मध्यवर्ती क्षेत्र र छायानाथ–रारा नगरपालिकाले आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति सय रुपैयाँ कर उठाउँछन् । असोजदेखि प्रवेश शुल्कबापत कर उठाउन सुरु गरिएको हो ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×