१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अख्तियारको निर्देशन र कार्यविधि उल्लंघन

त्रिवि सेवा आयोगको परीक्षा
सुदीप कैनी

काठमाडौँ — त्रिवि सेवा आयोगका पदाधिकारीले तीन वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन उल्लंघन गरेर बदनियतपूर्वक कर्मचारी भर्नाको परीक्षा सञ्चालन गरेको पाइएको छ ।

अख्तियारको निर्देशन र कार्यविधि उल्लंघन

०७२/०७३ मा लिएको उपप्राध्यापक पदको स्थायी पदपूर्ति परीक्षाको अनियमिततामाथि छानबिन गरेको अख्तियारले सेवा आयोगलाई परीक्षा प्रणाली पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएको थियो । त्यस क्रममा उत्तरपुस्तिकाको अनिवार्य सम्परीक्षण गर्ने व्यवस्था मिलाउन भनिएको थियो । सेवा आयोगले ०७३/०७४ को खुलातर्फको परीक्षाको उत्तरपुस्तिकामा त्रुटि भेटिँदासमेत सम्परीक्षण नगराएको हो ।


त्रिवि सेवा आयोग आन्तरिक कार्यविधिमा समेत कम्तीमा ३३ प्रतिशत उत्तरपुस्तिका सम्परीक्षण गराउनुपर्ने प्रावधान छ । परीक्षकबाट परीक्षण भएका उत्तरपुस्तिका रुजु गर्दा त्रुटि देखिएमा वा शंकास्पद लागेमा उत्तरपुस्तिका सम्परीक्षण गरिने कार्यविधिमै उल्लेख छ । सेवा आयोगले भने अंक केरमेट भएका शाखा अधिकृत पदका कुनै पनि उत्तरपुस्तिका सम्परीक्षण नगराएको खुलेको छ । भिन्दाभिन्दै पदका ३८ वटा परीक्षाको उत्तरपुस्तिकामध्ये ७ वटाको मात्र सम्परीक्षण गराइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । ‘कम्तीमा दुई जना विशेषज्ञको समिति बनाई सम्परीक्षण गर्नुपर्नेमा एक जनाबाट गराएको पाइयो,’ अख्तियार स्रोतले भन्यो ।


सम्परीक्षककर्ता ताराप्रकाश पौडेल र टेकनाथ ढकालले उत्तरपुस्तिकामा लापरबाहीपूर्ण तरिकाले अंक थपघट गरेका हुन् । कानुनी सल्लाहकार पदमा ३७ अंक ल्याएर अनुत्तीर्ण एक उम्मेदवारलाई १५ अंक थपेर उत्तीर्ण बनाइएको छ । दुई परीक्षार्थीलाई अंक घटाएर फेल गराइएको छ । मुख्य कार्यालय सहायक पदको उत्तरपुस्तिकामा २२ नम्बरसम्म थप गरिएको छ । अंक थपघट गर्दा राय/प्रतिवेदन दिनुपर्ने प्रावधानसमेत पालना गरिएको छैन ।


छानबिनमा संलग्न स्रोत भन्छ, ‘कारण र पुस्ट्याइँबिनै नम्बर करेमेट गरेर थप गरिएको छ ।’ अख्तियारले त्यतिबेला प्राप्तांक र मेरिटको २/३ पटकसम्म रुजु गरी नतिजा प्रकाशन गर्न भनेको थियो । सेवा आयोगले लिएको परीक्षामा भने परीक्षकले उत्तरपुस्तिका परीक्षण गरेर बुझाइसकेपछि नबुझिने गरी पटक–पटक केरमेट गरेको भेटिएको छ । परीक्षणपछि उत्तरपुस्तिका पदाधिकारीको जिम्मामा हुने हुँदा आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र प्रशासकीय प्रमुख परशुराम कोइरालाको संलग्नता रहेको अख्तियारको ठहर छ ।


परीक्षक वा सम्परीक्षकको उपस्थितिमा उत्तरपुस्तिका रुजु गराउनुपर्नेमा आयोगकै कर्मचारीबाट रुजु गरिएको छ । प्रश्नपत्र निर्माण, मोडरेसन, उत्तरपुस्तिका परीक्षण, सम्परीक्षणमा संलग्न विज्ञ कर्मचारीलाई कार्यविवरण बनाई स्पष्ट निर्देशन दिन र त्यसो नगरे कारबाहीको व्यवस्था गर्न अख्तियारले सुझाएको थियो । सेवा आयोगले त्यसको समेत पालना नगरी मनोमानी तरिकाले परीक्षा सञ्चालन गरेको हो । पछिल्लोपटक विज्ञापन गरिएका १६ पदमध्ये शाखा अधिकृत, लेखा अधिकृत, कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ पदको स्थायी पदपूर्ति परीक्षामा अनियमितता भेटिएको छ ।


उत्तरपुस्तिकाको कोडिङ, डिकोडिङ, परीक्षण, सम्परीक्षण, रुजु र नतिजा प्रकाशनमा लापरबाही र अनियमतिता भेटिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाए । सेवा आयोगले उत्तरपुस्तिकाको कोडिङ/डिकोडिङ डबल गरे पनि दुवैमा एउटै व्यक्तिलाई खटाएकाले त्यसको कुनै अर्थ नहुने अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।


परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा अध्यक्ष शर्मा, सदस्य पोखरेल, सदस्यसचिव कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगकी कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल, गोविन्द ढकाल, सहप्राध्यापक रामेश्वर न्यौपाने, सहप्राध्यापक ताराप्रकाश पौडेल र रामबहादुर पाण्डेविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

प्रकाशित : असार २०, २०७६ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?