असारे विकास : रोपोमै कुद्यो डोजर

वसन्तप्रताप सिंह

(बझाङ) — खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।

बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी (रोपाहार महिला) हरू धान रोप्दै थिए । अगासे जिउलाको रौनक उत्सवमय थियो ।

दिउँसो १२ बजेतिर एकाएक खेतमा आउने कुलो सुक्यो । ‘कुलो भाँचिए’ पछि रोपाइँमा खटिएकाहरूको दौडादौड चल्यो । ‘कुलो बिग्रेको अनुमानमा किसानहरू रोपाइँ छाडेर बनाउन दौडिए,’ पाटादेवल कोसेडी खेतका दाने आग्रीले भने, ‘केटाकेटीले कुलो भाँचे होला भन्ने ठानेर फर्काउन गएका थियौं, त्यहाँ त २ वटा डोजर लगाएर कुलो ध्वस्त बनाइसकिएको रहेछ ।’

डोजरले सिँचाइ कुलो मात्र भत्काएन । २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेतसमेत नष्ट गरिसकेको देखेपछि एकपटक आफू ‘पागलजस्तै भएको’ उनले बताए । ‘एक्कासि विध्वंस देख्दा मेरो होसहवासउड्यो, रिंगटा लागेजस्तो भयो, म त त्यहीँ थचक्क बसें,’ उनले भने । डोजरले कुलो भत्काइदिएपछि आधा रोपाइँ थालेका अगासे ज्युलाको रोपाइँ बन्द भएको छ । भर्खरै रोपेका खेतमा पानी नभएकाले धान सुक्ने भएको छ । रोप्नका लागि उखेलेको बीउ पनि सुक्न थालेपछि किसान अत्तालिएका छन् ।

दुई साताअघि निर्माण थालिएको छान्ना रिङरोड निर्माणका क्रममा ३ वटा खानेपानी आयोजनाको पाइपलाइनमा क्षति भएपछि साबिक पाटादेवल गाविसका कोसेडी खेत, तल्लो पुजारी गाउँ, तिउने र राजकोट गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव श्यामबहादुर थापाले बताए । ‘एक/डेढ घण्टा हिँडेर खोलाको पानी खान थालेका छौं,’ उनले भने, ‘रातारात विनाश मच्चियो, कुनै सरसल्लाह नगरी रोपेका खेतमा डोजर लगाए । गाउँ नै आतंकित भएको छ ।’

जथाभाबी डोजर चलाउँदा ०७४ चैतमा ३१ लाख लागतमा बनेको भगाडी तिउने राजकोट खानेपानी आयोजना, भर्खरै निर्माण सम्पन्न हुन लागेको ६० लाख लागतको खापर दुधिर खानेपानी आयोजना र ०६६ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा ९ लाख लागतमा बनेको ठण्डापानी पुजारी गाउँ तिउने खानेपानी आयोजनामा क्षति भएको उनले बताए । डोजरले कुलो भत्काएपछि गाउँलेको रोपाइँ बीचैमा रोकिएको स्थानीयले बताए । ‘आउरु–बाउरु (पर्मा/खेताला) लगाएर बल्लबल्ल रोपेका खेतमा डोजर नचाए । धेरैको बिचल्ली हुने भएको छ,’ स्थानीय प्रेम आग्रीले भने, ‘पाटादेवलमा मात्र नभएर खप्तडछान्ना गाउँपालिकाका अन्य ठाउँका ८ वटाभन्दा बढी कुलोमा क्षति पुगेको छ । धेरै ठाउँको रोपाइँ प्रभावित भएको छ ।’

लम्तडा कालुखेती थामलेक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंहले ‘सडक निर्माण गर्दा केही क्षति हुनुस्वाभाविक भएको’ तर्क गरे । ‘जेठ १० गते सम्झौता भई असार ३ देखि काम थालेका थियौं । असार २५ पछि डोजर लगाउन मिल्दैन थियो,’ उनले भने,‘२५ गतेपछि गरेको कामको भुक्तानी नहुने भएकाले खेतमै डोजर चलाउनुपरेको हो ।’

उनले आफूहरू पनि त्यही सिँचाइ र खानेपानीका उपभोक्ता भएको बताउँदै क्षति भएका संरचना पुनर्निर्माण गर्ने सहमति भइसकेको दाबी गरे । ‘धनगढीबाट सिँचाइ र खानेपानी पाइप मगाइसकेका छौं । ५ दिनभित्र सबै मर्मत गरिदिने भनिसकेका छौं,’ उनले भने ।

साढे आठ किमि लामो उक्त सडक निर्माण क्रममा खप्तड छान्ना गाउँपालिकाको धानखोला, जागासैन, धन्नासी, धोडाखेत, कोटेखोलादेखि हलसारे, खोडी खेल्नालगायत ठाउँका सिँचाइ कुलोमा क्षति पुगेका कारण ती सबै क्षेत्रको रोपाइँ प्रभावित भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव थापाले बताए । उनका अनुसार साविक कालुखेती गाविसका विभिन्न ठाउँमा बनेका सिँचाइका शाखा लाइनहरूमा पनि सडकले क्षति पुर्‍याएको छ ।

प्रकाशित : असार २०, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्

जथाभावी चलाइएका डोजर नियन्त्रण

वसन्तप्रताप सिंह

बझाङ — सडक निर्माणमा तोकिएको मापदण्ड विपरीत चलाइएका डोजरलाई जिल्ला प्रशासन कार्यालयले विभिन्न गाउँपालिकाबाट नियन्त्रणमा लिन थालेको छ ।

सरकारले तयार गरेको मापदण्ड विपरीत निर्माण कार्यमा संलग्न ४ वटा डोजरको साँचो नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीको सहयोगमा सोमबार साँझसम्म दुर्गाथली गाँउपालिकामा २, वित्थडचिर गाउँपालिकामा एउटा र तल्कोट गाउँपालिकाको एउटा गरी ४ वटा डोजर नियन्त्रणमा लिएको हो । अन्य स्थानीय तहमा पनि सरकारले तोकेको प्रावधान र मापदण्ड मिचेर चलाइका डोजर नियन्त्रणमा लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

बिनाकुनै सर्भे डिजाइन जथाभावी डोजर लगाएर निर्माण भएका सडकका कारण महिनैपिच्छे सडक दुर्घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले मनपरी डोजर सञ्चालनमा रोक लगाएको हो । निर्माण गर्नुअघि सम्भाव्यता अध्ययन, डिजाइनइस्टेमेट नगरिएका, वातावरणीय प्रभाव अध्ययननगरीकन हचुवाको भरमा काम थालिएका सडकमा काम गरिरहेका सबै डोजरहरू तत्काल बन्द गर्न प्रशासनले सबै स्थानीय तहलाई पत्राचारसमेत गरेको थियो ।

प्रशासनले अव्यवस्थित सडकका कारणले हजारौं हेक्टर वन र कृषियोग्य भूमिमा क्षति पुगेको, गाउँबस्ती नै जोखिममा परेको, विपद् जोखिम बढाएको तथा सडक दुर्घटना बढेको उल्लेख गर्दै हचुवामा सडक निर्माण नगर्न स्थानीय तहलाई सुझावसमेत दिएको छ । सरकारले २०७५ फागुन १ देखि लागू हुने गरी एक करोडभन्दा कम रकमका योजनामा डोजर प्रयोग नगर्न दिएको निर्देशनसमेत अवज्ञा गरिएको गुनासो आएकोले त्यसो नगर्न भनिएको छ ।

मापदण्डको बेवास्ता गर्दै जथाभावी डोजर चलाइएको पाइएमा सार्वजनिक हित विपरीतको कसुर अन्तर्गत कारबाही गरिने प्रशासनले प्रस्ट पारेको छ । ‘हामीले पटकपटक लिखित र मौखिक सुझाव दिँदा पनि डोजर चलाउन नरोकेपछि नियन्त्रणमा लिन थालेका हौं’ प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने, ‘नियम र मापदण्ड एकातिर छ । गाउँबस्ती जोखिममा पारेर मानिसहरूको उठीबास लगाएर डोजर चलाउने काम भइरहेको छ ।’ ‘प्रत्येक महिना दुर्घटना भएर मान्छे मरिरहेका छन् । अति हुन थालेपछि हस्तक्षेप गर्नु परेको हो,’ प्रमुख जिल्ला अधिकारी सुनारले भने ।

जिल्ला प्रशासन कार्यालयमा विभिन्न ठाउँबाट डोजरका कारण आफूहरूको उठीबास हुन लागेको भनेर लिखित उजुरीसमेत आएपछि नियन्त्रणको प्रयास थालिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । उनले वातावरणीय दायित्व पूरा नगरीकन गरेको विकासका कारण विनाश बढेकाले यसको नियमन गर्न थालिएको बताए ।

गत हप्ता चालु आर्थिक वर्षमा मात्र बझाङ जिल्लामा भएका सडक दुर्घटनामा २५ जनाले ज्यान गुमाइसकेका छन । ४० भन्दा बढी अंगभंग भएका छन् । गत आर्थिक वर्षमा विभिन्न सडक दुर्घटना र सडक खन्दा आएको पहिरोमा परेर वा ढुंगा लागेर २७ जनाले ज्यान गुमाएका थिए । जथाभावी सडक निर्माण गरेका कारण यहाँको ५ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन नष्ट भएको छ भने दर्जनौं गाउँ पहिरोको जोखिममा परेका छन् ।

दुई सयभन्दा बढी परिवार सडककै कारण विस्थापनमा परिसकेका छन् । सडक निर्माणकै कारण जिल्लाको २ सय ५० भन्दा बढी सिँचाइ कुलोमा क्षति पुगेको र जिल्लाभरिको सिँचाइ सञ्जाल ध्वस्त भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । यस्तै बझाङमा निर्माण भएका १ सय ६३ वटा खानेपानी आयोजनासमेत सडकमा परेर क्षतिग्रस्त भएका छन् । ६ वटा विद्युत् आयोजना पनि सडककै कारण अवरुद्ध भएका छन् ।

सांसदको दबाब
प्रशासनले मापदण्ड विपरीत चलाइका डोजर नियन्त्रणमा लिन थालेपछि त्यसो नगर्नका लागि नेता तथा सांसदहरूले प्रमुख जिल्ला अधिकारीलाई दबाब दिन थालेका छन् ।

स्रोतका अनुसार सोमबार दिनभरि बझाङबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदले सीडीयोलाई फोन गरेर डोजरको साँचो फिर्ता गर्न र अरु डोजर नियन्त्रण नगर्न दबाव दिएका थिए । उनीहरूले डोजर नियन्त्रण गर्ने निर्णयबाट पछाडि नहटे राम्रो नहुने भन्दै सीडीयोलाई धम्कीसमेत दिएको स्रोतले बतायो । यस्तै डोजर सञ्चालकहरूले पनि विभिन्न शक्ति केन्द्रहरूबाट सीडीयोलाई दबाब दिइरहेको बुझिएको छ ।

यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने सांसदहरूले डोजर नियन्त्रण गरेको विषयमा चासो लिएको तर दबाब नदिएको बताए । उनले सार्वजनिक हित विपरीतको कामलाई नियन्त्रण गर्ने जिल्ला प्रशासनको दायित्वबाट आफू पछि नहट्ने र जति दबाब आए पनि मापदण्ड विपरीत चलाइका डोजरहरू नियन्त्रण गरेरै छाड्ने बताए । ‘एकातिर डोजरका कारणले जिल्ला ध्वस्त भइसक्यो भन्ने अर्कातिर मनपरी डोजर चलाउन पनि नछाड्ने । दिनहुँ मान्छे मरिरहेका छन् । प्रशासन टुलुटुलु हेरेर बस्छ ?’ उनले भने ।

सर्वसाधारणबाट प्रशंसा
डोजर नियन्त्रण गर्ने प्रयासको सर्वसाधारणले भने खुलेर प्रशंसा गरेका छन् । विभिन्न सामाजिक सञ्जालमार्फत यस निर्णयको स्वागत गर्दै सीडीयोले बझाङ बचाउने अभियान थालेको प्रतिक्रियाहरू आउन थालेका छन् ।

जयपृथ्वी क्याम्पसका पूर्वप्राध्यापक ईश्वरनाथ जोशीले प्रशासनको यो निर्णय सबैको हितमा रहेको बताउँदै यसको कार्यान्वयनमा जिल्लावासीले सहयोग गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । यस्तै नेकपाका जिल्ला कमिटी सदस्य दीपक रोकायाले भनेका छन्, ‘ढिलै भए पनि प्रशासनले राम्रो काम थालेको छ । यसमा हाम्रो पनि साथ छ ।’

नेपाली कांग्रेसका नेता केशवराज जोशीले डोजरका कारण जनता अकालमा मर्ने र नेता मोटाउने खेल भएको भन्दै यसलाई बन्द गरेर मानव श्रमबाट मात्र सडक निर्माण गर्नुपर्ने बताएका छन् । बझाङकै सांसद आशाकुमारी विकले आइतबार प्रतिनिधिसभा संसद्मा बोल्दै जथाभावी डोजर चलाएर बनाएका सडकहरू जनताको चिहान बन्दै गएको भन्दै यसलाई रोक्नका सरकारको ध्यानाकर्षणसमेत गराएकी थिइन् ।

प्रकाशित : असार ११, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्