असारे विकास : रोपोमै कुद्यो डोजर

वसन्तप्रताप सिंह

(बझाङ) — खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।

बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी (रोपाहार महिला) हरू धान रोप्दै थिए । अगासे जिउलाको रौनक उत्सवमय थियो ।

दिउँसो १२ बजेतिर एकाएक खेतमा आउने कुलो सुक्यो । ‘कुलो भाँचिए’ पछि रोपाइँमा खटिएकाहरूको दौडादौड चल्यो । ‘कुलो बिग्रेको अनुमानमा किसानहरू रोपाइँ छाडेर बनाउन दौडिए,’ पाटादेवल कोसेडी खेतका दाने आग्रीले भने, ‘केटाकेटीले कुलो भाँचे होला भन्ने ठानेर फर्काउन गएका थियौं, त्यहाँ त २ वटा डोजर लगाएर कुलो ध्वस्त बनाइसकिएको रहेछ ।’

डोजरले सिँचाइ कुलो मात्र भत्काएन । २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेतसमेत नष्ट गरिसकेको देखेपछि एकपटक आफू ‘पागलजस्तै भएको’ उनले बताए । ‘एक्कासि विध्वंस देख्दा मेरो होसहवासउड्यो, रिंगटा लागेजस्तो भयो, म त त्यहीँ थचक्क बसें,’ उनले भने । डोजरले कुलो भत्काइदिएपछि आधा रोपाइँ थालेका अगासे ज्युलाको रोपाइँ बन्द भएको छ । भर्खरै रोपेका खेतमा पानी नभएकाले धान सुक्ने भएको छ । रोप्नका लागि उखेलेको बीउ पनि सुक्न थालेपछि किसान अत्तालिएका छन् ।

दुई साताअघि निर्माण थालिएको छान्ना रिङरोड निर्माणका क्रममा ३ वटा खानेपानी आयोजनाको पाइपलाइनमा क्षति भएपछि साबिक पाटादेवल गाविसका कोसेडी खेत, तल्लो पुजारी गाउँ, तिउने र राजकोट गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव श्यामबहादुर थापाले बताए । ‘एक/डेढ घण्टा हिँडेर खोलाको पानी खान थालेका छौं,’ उनले भने, ‘रातारात विनाश मच्चियो, कुनै सरसल्लाह नगरी रोपेका खेतमा डोजर लगाए । गाउँ नै आतंकित भएको छ ।’

जथाभाबी डोजर चलाउँदा ०७४ चैतमा ३१ लाख लागतमा बनेको भगाडी तिउने राजकोट खानेपानी आयोजना, भर्खरै निर्माण सम्पन्न हुन लागेको ६० लाख लागतको खापर दुधिर खानेपानी आयोजना र ०६६ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा ९ लाख लागतमा बनेको ठण्डापानी पुजारी गाउँ तिउने खानेपानी आयोजनामा क्षति भएको उनले बताए । डोजरले कुलो भत्काएपछि गाउँलेको रोपाइँ बीचैमा रोकिएको स्थानीयले बताए । ‘आउरु–बाउरु (पर्मा/खेताला) लगाएर बल्लबल्ल रोपेका खेतमा डोजर नचाए । धेरैको बिचल्ली हुने भएको छ,’ स्थानीय प्रेम आग्रीले भने, ‘पाटादेवलमा मात्र नभएर खप्तडछान्ना गाउँपालिकाका अन्य ठाउँका ८ वटाभन्दा बढी कुलोमा क्षति पुगेको छ । धेरै ठाउँको रोपाइँ प्रभावित भएको छ ।’

लम्तडा कालुखेती थामलेक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंहले ‘सडक निर्माण गर्दा केही क्षति हुनुस्वाभाविक भएको’ तर्क गरे । ‘जेठ १० गते सम्झौता भई असार ३ देखि काम थालेका थियौं । असार २५ पछि डोजर लगाउन मिल्दैन थियो,’ उनले भने,‘२५ गतेपछि गरेको कामको भुक्तानी नहुने भएकाले खेतमै डोजर चलाउनुपरेको हो ।’

उनले आफूहरू पनि त्यही सिँचाइ र खानेपानीका उपभोक्ता भएको बताउँदै क्षति भएका संरचना पुनर्निर्माण गर्ने सहमति भइसकेको दाबी गरे । ‘धनगढीबाट सिँचाइ र खानेपानी पाइप मगाइसकेका छौं । ५ दिनभित्र सबै मर्मत गरिदिने भनिसकेका छौं,’ उनले भने ।

साढे आठ किमि लामो उक्त सडक निर्माण क्रममा खप्तड छान्ना गाउँपालिकाको धानखोला, जागासैन, धन्नासी, धोडाखेत, कोटेखोलादेखि हलसारे, खोडी खेल्नालगायत ठाउँका सिँचाइ कुलोमा क्षति पुगेका कारण ती सबै क्षेत्रको रोपाइँ प्रभावित भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव थापाले बताए । उनका अनुसार साविक कालुखेती गाविसका विभिन्न ठाउँमा बनेका सिँचाइका शाखा लाइनहरूमा पनि सडकले क्षति पुर्‍याएको छ ।

प्रकाशित : असार २०, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मनाङे प्रवेशको नेकपाभित्रै विरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गरी सजाय तोकिएका गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएपछि नेकपाभित्र तीव्र विरोध भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले बिहीबार गुरुङलाई पार्टी प्रवेश गराएका हुन् । गुरुङलाई प्रवेश गराउने क्रममा मुख्यमन्त्रीले
नेकपा सुध्रिन चाहनेहरूका लागि एउटा प्लेटफर्म भएको धारणा राखेका थिए । नेकपाका नेताहरूले पार्टीको नीति र सिद्धान्तलाई ख्याल नगरी विवादित व्यक्तिलाई प्रवेश गराएको भन्दै आपत्ति जनाएका छन् । नेकपाका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

‘कम्युनिस्ट पार्टीले विचारधारा र सिद्धान्तका आधारमा मान्छेहरू निर्माण गर्छ तर त्यो निर्माण गर्ने प्रोसेसिङ प्लान्ट नै बिग्रेपछि आउनुपर्ने मान्छे आउँदैनन्, नआउनुपर्ने आउँछन्, हामीकहाँ त्यस्तो हुँदै छ,’ मनाङेको प्रवेशप्रति आपत्ति जनाउँदै नेकपा नेता घनश्याम भुसालले कान्तिपुरसँग भने ।

मनाङेको प्रवेशलाई उनले सैद्धान्तिक रूपमा पार्टीभित्र कसरी विचलन आइरहेको छ भन्ने दृष्टान्तका रूपमा अर्थ्यार्ए । ‘उहाँलाई पार्टीको विधान दिँदै विधानअनुसार काम गर्नू भनिएको छ रे, अब यहाँ हामी सचिवालय, स्थायी समितिमा रहेकालाई विधान चाहिएन, विधानअनुसार चल्नुपरेन,’ भुसालले भने, ‘अब हाम्रो विधान हामीचाहिँ नमान्ने भयौं, दीपकले मान्ने भए ।’

उनले पार्टी गुटबन्दीमा जकडिएपछि यस्तो प्रवृत्ति आउने उल्लेख गर्दै यो घटनालाई त्यसैको एउटा अंश मान्नुपर्ने बताए । ‘पार्टी गुटबन्दीमा विभाजित भएपछि कस्ता मान्छे ल्याउने भन्ने कुरा पार्टीमा कस्ता मानिस चाहिन्छ भन्ने आधारमा होइन, गुटलाई कस्तो मानिस चाहिन्छ भन्ने आधारमा निर्धारण हुन्छ,’ उनले भने, ‘अहिले दीपकको आवश्यकता जुन गुटलाई परेको हो, त्यसैले पार्टीमा छिराएको हो ।’

०७४ माघमा सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको थियो । गत चुनावमा उनले अभियुक्तकै रूपमा चुनाव लडेका थिए । मनाङको प्रदेशसभा (ख) बाट उनले स्वतन्त्र उम्मेदवारका रूपमा जितेका थिए । त्यसबेला तत्कालीन एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई समर्थन गरेको थियो ।

निर्वाचित भएपछि अदालतले जेल सजाय सुनाएकाले उनी केही समय फरार रहेका थिए । उनलाई पछि प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि आठ महिना जेल बसे । मुलुकी संहितामा रहेको १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै उनी जेलबाट छुटे । जेलबाट छुटेपछि प्रदेशसभामा शपथ लिएका थिए ।

आपराधिक गतिविधिमा लागेको व्यक्तिलाई पार्टी प्रवेश गराएपछि नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फेसबुकबाट लेखेका छन्, ‘अनगिन्ती मनाङे पार्टीमा पहिल्यै छन्/थिए, एउटा थपिएको मात्र हो । जाबो एउटा मनाङे थपिँदा केको कोकोहोलो हो कुन्नि ।’

विद्यार्थी संगठन अनरास्ववियुका उपाध्यक्ष सुरेन्द्र बस्नेतले ‘फेरि चुनाव आउँछ, हेक्का होस्’ भन्दै नेतृत्वलाई चेतावनी दिएका छन् । ‘काठमाडौंका गल्लीगल्लीमा अझै पनि दीपक मनाङेका व्यक्ति हत्या, लुटपाट र अन्य अपराधका हजारौं किस्सा छन्, अदालत, प्रहरी र जनजनमा मनाङेका मुद्दाका फेहरिस्त छन्,’ बस्नेतले लेखेका छन्, ‘बाँचुञ्जेल जनतालाई दुःख दिने यस्ता अपराधीलाई राख्ने ठाउँ जेल हो । कम्युनिस्ट पार्टी किमार्थ हैन । नेकपा नेतृत्व गण, चुनाव फेरि पनि आउँंछ, हेक्का रहोस् ।’

गुन्डागर्दीपछि राजनीतिको छाता
गुन्डागर्दी र त्यसैको आडमा आर्जन गरेको अकुत सम्पत्तिको आडमा राजनीतिको छाता ओढ्नेहरूमा दीपक मनाङे मात्रै छैनन् । काभ्रेबाट उदाएका गणेश लामा पनि यही पंक्तिमा छन् । प्रदेशसभामा काभ्रेको निर्वाचन क्षेत्र १ (ख) मा कांग्रेसका तर्फबाट चुनाव लडेर पराजित भएका लामाले लामो समय कांग्रेस नेता विजय गच्छदारको राजनीतिक छातामुनि आफूलाई सुरक्षित राख्दै आएका थिए । ०६७ पुसमा फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यसमेत भएका उनले गच्छदारकै आडमा राजनीतिक पहुँच बढाइरहेका थिए ।

कतिसम्म भने गच्छदार फोरम लोकतान्त्रिक पार्टीसँगै कांग्रेसमा मिसिएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा पार्टी प्रवेश कार्यक्रम गरेका थिए । त्यतिबेला लामा पनि गच्छदारसँगै मञ्चमा देखिएका थिए । यसैबाट उनी राजनीतिक दलको कति केन्द्रमा छन् भन्ने थाहा हुन्छ ।

अपहरण, फिरौती र सम्पत्ति शुद्धीकरणको मुद्दा झेलेका लामा पछिल्लोपटक ०७४ चैतमा हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षकालागि थुनामा पुगेका थिए । ०७५ साउनमा उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको थियो । अदालतले १ करोड४० लाख ५० हजार बिगोसम्मकोहकमा आरोप दाबीबमोजिम कसुर गरेको ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएको थियो ।

०७४ चैतमा प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका बेला तत्कालीन एसएसपी विश्वराज पोख्रेलले राजधानीमा रहेका १ सय ५० भन्दा धेरै गुन्डाको सूची तयार पारेर क, ख र ग वर्गमा वर्गीकरण गरेका थिए । त्यतिबेला प्रहरीको निष्कर्ष थियो, अधिकांश क वर्गका गुन्डाहरू राजनीतिक छहारीमा अपराध गरिरहेका छन् ।

त्यसो त यसअघि प्रहरी इन्काउन्टरमा मारिएका भनिएका दिनेश अधिकारी ‘चरी’ हुन् वा कुमार घैंटे, सबैको राजनीतिक कनेक्सन देखिएको थियो । ०७१ साउन २१ मा चरी काठमाडौंको भीमढुंगामा प्रहरी इन्काउन्टरमा मारिएका थिए । उनको मृत्युपछि तत्कालीन एमालेले संसद् तताएको थियो । ०७३ भदौ ३ मा कपुरधारामा प्रहरी इन्काउन्टरमा कुमार घैंटे मारिएपछि कांग्रेस नेताहरू विरोधमा उत्रिएका थिए । गुन्डागर्दी र असुलीको धन्दा चलाइरहेका चरी र घैंटे दुवैको बलियो राजनीतिक कनेक्सन रहेको प्रहरीको रेकर्ड छ ।

त्यसो त राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीमा जोडिएर राजनीतिमा उभिएका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ अहिले नख्खु कारागारमा जन्मकैदको सजाय भोगिरहेका छन् । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा जिल्ला अदालत धनुषाले टक्लालाई गत मंगलबार मात्रै जन्मकैदको सजाय सुनाएको हो ।

यसअघि गत फागुनमा मात्रै धनुषा अदालतले उनलाई जनकपुर विस्फोटमा दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो । तत्कालीन एमालेनिकट मानिने गुन्डागर्दीमा संलग्न चक्रे मिलन सम्पत्ति शुद्धीकरणको मुद्दामा थिए । तत्कालीन एमालेनिकट रमेश बाहुन अहिले कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका छन् ।

प्रकाशित : असार २०, २०७६ ०७:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×