लिबियाको बम विस्फोटमा एक नेपालीको मृत्यु

मृतक लमजुङका सन्तोष श्रेष्ठ
'थप ६ जना नेपाली त्रिपोली शिविरमा'
कान्तिपुर संवाददाता

काठमाडौँ — लिबियाको त्रिपोली सहर पूर्व ताजुरा डिटेन्सन सेन्टरमा भएको आतंकवादी बम विस्फोटमा लमजुङ मुलघर भएका सन्तोष श्रेष्ठको निधन भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन(आइओएम)को समन्वयमा इजिप्टस्थित नेपाली नियोगले दिएको जानकारीमा २७ वर्षीय सन्तोषको शव नेपाल फिर्ता पठाउन यात्रा अनुमति पत्र त्रिपोली पठाइएको छ ।

प्रतिकात्मक तस्बिर ।

मानव तस्करको संजालमार्फत, सन्तोषसहितका आप्रवासी समूह लिबियाबाट इटाली जानका लागि तयारी गरिरहेका थिए। लमजुङको बेंसीसहर–११ घर भएका अविवाहित सन्तोष गत माघमा घर छाडेर युरोप यात्रामा निस्केको उनको परिवारका सदस्यले कान्तिपुरलाई बताए।


लमजुङकै चिनारु एजेन्टलाई सुरुमा १० लाख रुपैयाँ बुझाएर सन्तोष काठमाडौंबाट दुबइ हुँदै लिबिया पुगेका थिए। कायरोस्थित नेपाली नियोगका चार्ज डे अफेयर्स सुजन बिडारीका अनुसार, लिबियाबाट उद्धार गरिएका अरु ८ जना नेपालीलाई पनि टर्की हुँदै घर फर्कने प्रबन्ध आइओएमले मिलाइसकेको छ।


आइओएमले पछिल्लो महिनामा मात्रै २६ नेपालीलाई लिबियाबाट उद्धार गरेर नेपाल पठाइसकेको छ। अरु ६ जना नेपाली अहिले पनि आइएमको त्रिपोली शिविरमा रहेका छन्।


प्रकाशित : असार १९, २०७६ १०:३१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाटन दरबार क्षेत्रमा डोजर

प्रशान्त माली

(ललितपुर) — ललितपुरका जनप्रतिनिधिले विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रमा डोजर चलाएर अर्न्डरग्राउन्ड पानी ट्यांकी निर्माण गरिरहेका छन् । महानगरले पुरातत्त्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मंगलबजारले पठाएको रोक्का पत्रको समेत बेवास्ता गरी काम अगाडि बढाइरहेको हो ।

ललितपुर महानगरपालिका–१२ वडा कार्यालयले दरबारको दक्षिणपट्टि १९९० को भूकम्पले भत्केको शिखर शैलीको कोटिलिंगेश्वर महादेव मन्दिर रहेको क्षेत्रमा ट्यांकी निर्माण गरेको हो । जमिनमा खन्ने क्रममा भेटिएका पुराना इँटाका गाह्रोको अवशेषसमेत पुरेका छन् ।

जगमाथि बनाइएका संरचना मात्र सम्पदा होइन । जमिनमुनिका अवशेष सम्पदाका मुख्य पाटो हुन् । वरिष्ठ पुरातत्त्वविद् उद्धव आर्चाय भन्छन्, ‘जगमा फेला परेको इँटाको आकार, फ्याइरिङ साइजले कुन कालको मन्दिर भनेर छुट्याउन सजिलो हुन्छ । लिच्छविकालको इँटाको मोटाइ ४ सेन्टिमिटर र मल्लकालको ५ देखि ६ सेन्टिमिटरको हुन्छ ।’ उनका अनुसार मन्दिर बनेको समय थाहा पाएमा त्यहीअनुसार कलात्मक स्वरूपमा बनाउन सकिन्छ । ‘जगमा डोजर लगाएमा सम्पदाको अवशेष नष्ट हुन्छ,’ उनले भने, ‘जगमा भेटिएका माटोसमेत अध्ययन विश्लेषण गरेर त्यसको संरक्षण गर्नुपर्छ ।’ उनले मठमन्दिर पुनर्निर्माण गर्दा जमिनमुनि भेटिएका गाह्रोसमेत भत्काउन नमिल्ने बताए । ‘जोगाएर त्यसैमा जग उठाउनुपर्छ,’ उनले भने, ‘यहाँ धन्न डोजर लगाउँदा पनि जग बिग्रिन पाएन ।’ स्मारक संरक्षण कार्यालयले गाह्रो भेटिएको ठाउँवरिपरि मंगलबारबाट उत्खनन् सुरु गरेको छ । कार्यालयले गाह्रो भेटिएको ठाउँबाट १० मिटर चौडाइ, १० मिटर लम्बाइ त्रिकोण आकारमा चिहृन लगाएर संरक्षण गरेको छ । उत्खनन् गरेर फेला परेको गारो जस्ताको तस्तै संरक्षण गर्ने कार्यालयको योजना छ । पुरातत्त्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय मंगलबजारका अधिकृत काजीमान प्याकुरेल भन्छन्, ‘जगमा भेटिएका वस्तुको फोटोसहित ड्रइङ गरी डकुमेन्टेसन गर्ने लक्ष्य छ । पछि ठूलो मन्दिर, ढुंगेधारा रहेको फेला परेमा त्यहीअनुसार पुनर्निर्माण गर्न पहल गर्नेछु ।’ उनले ट्यांकी नजिक मठमन्दिर बनाउँदा सम्पदामैत्री नहुने बताए । ‘मेलम्ची आयोजानले स्मारक क्षेत्रमा खन्न स्वीकृति मागेको थियो । हामीले विभागको निगरानीमा काम गर्न दियौं,’ उनले भने, ‘ट्यांकी निर्माण गर्दा स्वीकृति लिनुको सट्टा उल्टो रोक्का पत्र पठाउँदा पनि बेवास्ता गरियो ।’ ललितपुर महानगर– १२ वडाध्यक्ष नारायणलाल अवालले भन्छन्, ‘विपत् व्यवस्थापनका लागि नगर क्षेत्रभित्र ७ वटा रिजर ट्यांकी निर्माण गर्ने महानगरको निर्णयअनुसार मंगलबजारमा बनाएका हौँ । विभागको काम नभएकाले स्वीकृति लिइराख्नु पर्दैन ।’ उनले खन्ने क्रममा वाल भेटिएकाले एक मिटर छोडेर दक्षिणपट्टि ट्यांकी बनाएका बताए । ‘सुरुमा स्मारक संरक्षण कार्यालयलाई पूरै उत्खनन् गर्ने भनेका थियौं,’ उनले भने, ‘तर, बजेट अभाव भनेपछि सहमतिमा ट्यांकी बनाएका हौँ ।’ उनले पूरै उत्खनन् गर्ने भएमा अहिले पनि ट्यांकी पुर्न तयार रहेको बताए ।

पाटनदरबार क्षेत्र महानगरको १२ र १६ वडामा विभाजित छन् । अहिले ट्यांकी निर्माण गरेको १२ नम्बरमा पर्छ । दरबार क्षेत्रको उत्तरपट्टि मंगहिटी (ढुंगेधारा) र पश्चिमपट्टि सुमंगहिटी रहेको किम्वदन्ती छ । अहिले मंगहिटी मात्र बाँकी छ । पश्चिमपट्टिको हिटी ट्यांकी बनाएको क्षेत्रमा पर्छ । मंगहिटी राजा मानदेव प्रथमका छोरीपट्टिका नाति भारवीले बुबाआमाको पुण्यवृद्धिको कामना र देवीदेवताको दैनिक स्नान गराउने उद्देश्यले सन् ५०७ मा मक्राकृति ढुंगाका तीनवटा धारा बनाउन लगाएका थिए । नमुना मत्स्छेन्द्र माविका पूर्वशिक्षक रामप्रसाद अमात्य भन्छन्, ‘दरबारको दक्षिणपट्टिको हिटी पनि त्यही समयमा बनेको अनुमान छ । विभागले बजेट अभावको कारण देखाएर उत्खनन् रोक्नु हुँदैन ।’ पाटन भौ ननीः टोलका ९३ वर्षीय सानुभाइ महर्जन कोटिलिंगेश्वर मन्दिरलाई भत्मेश्वर महादेव मन्दिर भन्छन् । भूकम्पले मन्दिर भत्किँदा उनी ७ वर्षका थिए । उनी भन्छन्, ‘पहिला मन्दिर क्षेत्रमा राँगा बलि दिने बेला बाध्न एउटा र कोत पाटीमा दुईवटा काठका खम्बा थिए । ढुंगाका सिंह पनि थिए ।’ उनका अनुसार यस मन्दिर भक्तपुरका मल्ल राजाले ललितपुर सखाप पार्न छल गरेर निर्माण गर्न लगाएका थिए । ‘मन्दिर भत्केपछि २००६ मा आधुनिक भवन बनाएर छेमडोल अड्डा (त्यति बेलाको नगरपालिका) बसियो । पछि मालपोल र प्रहरी कार्यालय बसे,’ उनले भने, ‘भवन २०७२ को भूकम्पले नराम्रोसँग चर्केपछि भत्काएको थियो ।’

विश्व सम्पदा क्षेत्रमा कुनै पनि काम गर्नुपूर्व सम्बन्धित आधिकारिक निकायबाट स्वीकृति लिनुपर्छ । तर, ललितपुर महानगर–१२ ले स्वीकृति पनि लिएको छैन । प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा ३ को उपदफा ५ मा संरक्षित स्मारक क्षेत्रभित्र कसैले टेलिफोन वा विद्युत् लाइन जडान, खानेपानी वा ढलको लागि जमिन खन्न, सडक बनाउन वा मर्मत, चलचित्र सुटिङ, सवारीसाधान पार्किङ वा पोस्टर तस्बिर टाँस्न विभागबाट तोकिएबमोजिम स्वीकृति लिनुपर्दछ । दफा १२ को उपदफा ‘क’ मा कुनै प्राचीन स्माकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरुप पारेमा वा चोरी गरेमा त्यस्तो प्राचीन स्मारकको बिगोबमोजिमको रकम असुलउपर गरी २५ हजारदेखि एक लाख रुपैयाँ वा ५ वर्षदेखि १५ वर्ष वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । उपदाफा ‘ख’ मा अनाधिकृत काममा लगाएमा वा अरू कुनै किसिमसँग हानिनोक्सानी पुर्‍याएमा बिगोबमोजिमको रकमउपर गरी २५ हजार जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । वडाध्यक्ष अवालेले स्वीकृति लिइराख्नु नपर्ने दाबी गरे । ‘ढुंगेधारा फेला परे पनि निकास छैन,’ उनले भने, ‘धाराको खाल्डोमा मान्छे खसेर मर्‍यो भने को जिम्मेवारी ?’

प्रकाशित : असार १९, २०७६ १०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×