कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन बस्दैनन् रजिष्ट्रार र सेवा आयोगका अध्यक्ष विश्वविद्यालयभित्रको आवासमा ?

रासस

चितवन — कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले विश्वविद्यालय हाताभित्रको आवास प्रयोग नगरी बजारमा भाडामा बस्दै आएका छन् । आवासीय विश्व विद्यालयको रूपमा रहेको यस विश्वविद्यालय हाताभित्र पदाधिकारी, प्राध्यापक र कर्मचारीका लागि आवासको व्यवस्था रहेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल भने विश्वविद्यालयको हाताभित्रको आवासमा बस्छन् । रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपती र सेवा आयोगका अध्यक्ष रामनाथ ओझा भरतपुरमा घर भाडामा लिएर बस्दै आएका छन् । ढकालले दुवै जनालाई भित्र आवासको व्यवस्थापन गर्न सकिने बताए ।


भित्र बस्दा त्यहाँको समस्या थाहा हुने र व्यवस्थापन गर्न सहज हुने उपकुलपति ढकालले बताए । उनका अनुसार दुवै जनाले भरतपुरको आवास छोडेर रामपुर जान चाहेका छैनन् । विश्वविद्यालयका लेखाप्रमुख विष्णु देवानका अनुसार दुई आवास भरतपुरमा व्यवस्थापन गर्न ५० हजार रुपैयाँको हाराहारी मासिक खर्च हुने गरेको छ । शिक्षा मन्त्रीको निर्देशनपछि काठमाडौँमा रहेको विश्वविद्यालयको कार्यालय हटाइएको छ । काठमाडौँमा विश्वविद्यालयको आवास भने अहिले पनि रहेको छ । भरतपुरमा समेत विश्वविद्यालयको आवास राखिएकोमा हालै मात्र हटाइएको छ ।


विश्वविद्यालयमा समय समयमा बन्द, हड्ताल, आन्दोलन हुने भएकाले यी सबै कार्यलाई छलेर बजारमा रमाउन पदाधिकारीहरु भरतपुर बस्ने गरेको आरोप लागेको छ । भरतपुर विश्वविद्यालयबाट १० किलोमिटरको दुरीमा छ । रजिष्ट्रार कोलाक्षपतीले भरतपुर बसे पनि अधिकांश समय रामपुरमा रहने गरेको जिकिर गरे। यसअघि भरतपुरमा विश्वविद्यालयको केन्द्रीय कार्यालय हुँदा तत्कालीन उपकुलपति बस्नका लागि भाडामा लिइएको आवास नै कोलक्षपतीले प्रयोग गर्दै आएका छन् ।


प्रकाशित : असार १८, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

रासस

राजापुर — मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महँगो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ ।

गेरुवा गाउँपालिका-४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो । तर बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा पाँच लाख रुपैयाँ जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ ।
बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई पाँच लाख रुपैयाँ जरिवाना तिराएको हो । फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानुनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो । वन्यजन्तु मारेको र अंग ओसारपसारमा संलग्न अभियुक्तलाई पाँचदेखि १५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

प्रकाशित : असार १८, २०७६ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×