फिल्डमा खटियो त्रिवि टोली

सुवास विडारी

मकवानपुर — कृषि तथा वनविज्ञान विश्वविद्यालयले आफ्नो जग्गामा भवन निर्माण गर्न थालेपछि त्रिभुवन विश्वविद्यालयले खटाएको अध्ययन टोली सोमबार हेटौंडा आइपुगेको छ ।

फिल्डमा खटियो त्रिवि टोली

मन्त्रिपरिषद् र दुई विश्वविद्यालयको सहमतिविपरीत कृषि विश्वविद्यालयले जग्गा अतिक्रमण गरी भवन निर्माण

थालेको त्रिवि पदाधिकारीको आरोप छ ।


त्यसैले विस्तृत अध्ययनका लागि त्रिविले टोली खटाएको हो । राजेन्द्र पौडेल संयोजकत्वको टोलीमा प्राडा विनोद पराजुली, प्राध्यापक संघका महासचिव केशवराज शर्मा, कानुनी सल्लाहकार राजेन्द्र खनाल, कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद आचार्य सदस्य छन् ।


उक्त टोलीले सोमबारै कृषिले भवन निर्माण थालेको क्षेत्र र वनविज्ञान अध्ययन संस्थानका लागि छुट्याइएको पश्चिम दक्षिण क्षेत्रको जग्गाको अवलोकन गरेको छ । मन्त्रिपरिषदको निर्णयले छुट्याएर दिएको जग्गाभन्दा बाहिर गएर त्रिविको जग्गामा भवन निर्माण सुरु गरेको पाइएको टोलीले जनाएको छ । ‘प्रदेश ३ का मुख्यमन्त्री र प्रदेश सरकारले नै कानुनविपरीत सुरु भएको काममा सहयोग गरेको पाइएको छ,’ संयोजक राजेन्द्र पौडेलले भने । प्रदेश सरकारका पदाधिकारीसँग भेट्न खोजे पनि मुख्यमन्त्री डोरमणि पौडेल जिल्लाबाहिर भएकाले नसकिएको उनले बताए ।


‘कानुनविपरीत निर्माण सुरु भएको भवन कुनै पनि हालतमा रोक्नुको विकल्प छैन,’ त्रिविका कानुनी सल्लाहकार राजेन्द्र खनालले भने, ‘जबर्जस्ती गरिए न्यायिक उपचारमा जान हामी तयार छौं ।’ दुवै विश्वविद्यालयबीच भएको सहमति र सरकारको निर्णयको बेवास्ता गर्दै कृषि तथा वन विश्वविद्यालय एकलौटी रूपमा अगाडि बढेको अवस्था रहेको त्रिविको वन संकायका डिन कृष्णराज तिवारीले आरोप लगाए ।


हेटौंडा–१० मा रहेको त्रिविको १ सय ५८ बिघा जग्गामध्ये ६० बिघा जमिन कृषि विश्वविद्यालयलाई भोगाधिकार दिने निर्णय भएको थियो । दुई विश्वविद्यालयका पदाधिकारीले पश्चिमतर्फको जग्गा कृषि विश्वविद्यालयले भोगचलन गर्ने सहमति यसअघि भएको थियो ।


कृषिले भने दक्षिणतर्फ १० करोड रुपैयाँ लागतमा शैक्षिक भवन निर्माणको तयारी सुरु गरेपछि विवाद भएको हो । त्रिविबाट अध्ययनका लागि टोली र एएफयू हेटौंडाको पदाधिकारीबीच भेटवार्ता पनि भएको छ ।

प्रकाशित : असार १७, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?