१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सरकार र पार्टीका कामबारे नेकपाकै सांसद रुष्ट

दुर्गा खनाल

काठमाडौँ — सत्तारूढ नेकपाका सांसदले सरकार र पार्टीका काम प्रभावकारी रूपमा सञ्चालन नगरेको भन्दै नेतृत्वको कडा आलोचना गरेका छन् । सांसदहरू कडा रूपमा प्रस्तुत भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अहिलेसम्मका कमजोरी सुधारेर अघि बढ्ने भन्दै उनीहरूलाई साम्य पार्ने प्रयत्न गरे ।

सरकार र पार्टीका कामबारे नेकपाकै सांसद रुष्ट

नेतृत्व एकलौटी ढंगले चल्न खोजेको र पार्टीभित्र अन्तर्क्रिया नगरी मनलाग्दी काम गर्दै हिँडेको सांसदहरूको भनाइ थियो । आफ्ना कुरा राख्न नपाएको भन्दै असन्तुष्टि प्रकट गरेपछि अध्यक्षद्वयले सोमबार उनीहरूलाई बोल्न दिने गरी संसदीय दलको बैठक बोलाएका थिए ।


पार्टी एकतापछि पहिलोपटक सांसदको राय बुझ्ने गरी डाकिएको बैठकमा अधिकांशले सरकारका कामप्रति असन्तुष्टि र पार्टीको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे । सरकार र पार्टीको कार्यशैलीका कारण जनविश्वास घट्दै गएको उनीहरूको निष्कर्ष थियो । सुशासन दिने प्रतिबद्धता भए पनि त्यसअनुसारको अनुभूति जनताले गर्न नसकेको उनीहरूले बताए । बजेट छुट्याउने विषयमा मन्त्रीले एकलौटी गरेको भन्दै उनीहरूले आरोप लगाए ।


स्थायी समिति सदस्य घनश्याम भुसालले सरकार र पार्टी सैद्धान्तिक रूपमै अलमलमा हिँडिरहेको बताए । उनले कुन दिशामा कसरी जाने भन्ने छलफल नभएको भन्दै नेतृत्वको आलोचना गरे । बैठकमा एजेन्डा तय गरेर छलफल गर्ने र त्यसको आधारमा निष्कर्षमा पुग्ने काम नभएको उनले बताए ।


स्थायी समितिका अर्का सदस्य भीम रावलले सरकारले एकपछि अर्को गलत निर्णय गरिरहेको भन्दै आलोचना गरे । उनले भारतीय फिल्म अवार्ड ‘आइफा’ का लागि सरकारले स्वीकृति दिएको विषयको पनि आलोचना गरे ।


स्थायी समिति सदस्य जनार्दन शर्माले आफूलाई लागेको कुरा स्पष्ट रूपमा पार्टीमा भन्न पाउनुपर्ने भन्दै छलफलै नभएकोमा आपत्ति जनाए । ‘नबोले बोलेन भन्छन्, बोलेपछि केही कुरा भन्नैपर्ने हुन्छ किनकि सबै कुरा समर्थन वा चुप लागेर सुन्ने खालका मात्र छैनन् ।’ अर्का नेता देवेन्द्र पौडेलले सरकार लक्ष्यअनुसारको बाटोमा हिँड्न नसकेको बताए ।


सांसद रामकुमारी झाँक्रीले पार्टीलाई मिलाएर हिँड्न नसकेको, बालुवाटारको सीमित घेराभित्रबाट मात्र चल्न खोजेको भन्दै प्रधानमन्त्रीको आलोचना गरिन् । उनले पार्टी र संसदीय दल कामविहीन भएको बताइन् । पार्टीलाई एउटै लयमा नहिँडाउँदा समस्या भएको भन्दै उनले सरकारको औपचारिक काम सिंहदरबारको फराकिलो दायराबाट सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।


खगराज अधिकारी, पदम गिरी, अन्जना विशंखेलगायतले सांसदलाई पहिले योजना माग्ने, पछि बजेटमा बेवास्ता गर्ने खालको गतिविधि भएको भन्दै आपत्ति जनाए । करिब ३० सांसदले बोलेपछि अध्यक्ष पुष्पकमल दाहाल र अन्तिममा प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए । उनीहरूले सरकार र पार्टीका काममा कमजोरी भएको स्विकारे पनि सांसदहरूलाई राम्रा कामको डिफेन्स गर्न आग्रह गरे ।


प्रधानमन्त्री ओलीले राम्रा काम गर्न खोज्दा खोज्दै पनि सरकारलाई अप्ठेरो र असफल पार्न खोज्ने तत्त्वहरू सक्रिय भइरहेकाले त्यसैको लहैलहैमा नलाग्न सांसदलाई आग्रह गरे । विधेयकहरू नपढी विपक्षीले विरोध गर्ने गरेकाले उनको भनाइ थियो ।


गुठी विधेयक, गोविन्द केसीको आन्दोलनलगायतसँग जोडेर बेला–बेला सरकारलाई असफल पार्न खोज्नेहरू सक्रिय हुने गरेको ओलीको धारणा थियो । ‘सबै सम्हालिएर हिँड्नुपर्छ, सम्हालिएनौं भने सिद्धिन्छौं,’ बैठकमा प्रधानमन्त्रीले ओलीले राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘हामीसँग केही छ भने बाँड्न सक्छौं, केही नै नरहे के बाँड्ने ?’


उनले कतिपय काम राम्रो उद्देश्यले गरे पनि स्पष्ट पार्न नसक्दा समस्या आएको स्विकारे । ‘विधेयकहरूका विवादमा सम्बन्धित मन्त्रीले सरोकारवाला सांसदसँग सुरुमै अनौपचारिक छलफल गर्ने विषयमा कमजोरी रह्यो,’ प्रधानमन्त्रीको भनाइ थियो ।


उनले भारतीय फिल्म अवार्ड गर्न आयोजना दिने निर्णय पनि सैद्धान्तिक रूपमा मात्र भएको जानकारी दिए । अर्का अध्यक्ष दाहालले विविधताका बीच पार्टी एकता गरेकाले त्यसलाई सही निष्कर्षमा पुर्‍याएरै छाड्ने बताए । ‘मैले बोलेका कुराबाट कुनै आशंका पैदा भएको छ भने म जिम्मा लिन्छु तर हामी एकताको कामलाई टुंगोमा पुर्‍याउँछौं, एउटै डुंगामा बसेर झगडा गर्दा हामी डुब्छौं भन्ने थाहा छ ।’


पार्टी एकताका लागि एउटाले बनाएको डकुमेन्ट अर्कोले नहेरी हस्ताक्षर गर्नेसम्मको विश्वास रहेको प्रसंग उल्लेख गर्दै दाहालले अहिले नेताहरूको भनाइमा केही फरक पर्न खोज्दा गडबडी होला कि भन्ने आशंका बढ्ने गरेको उल्लेख गरे । उनले पार्टीमा सबैलाई यथोचित काम बाँडफाँट गरिने आश्वासनसमेत दिए ।


सबै सांसदले बोल्ने क्रम नसकिएपछि बाँकी सांसदलाई आउँदो शनिबार बोल्ने समय तोकिएको छ ।

प्रकाशित : असार १७, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?