१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

संखुवासभामा प्रहरी र चन्द समूहबीच गोली हानाहान

दीपेन्द्र शाक्य

संखुवासभा — सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान भएको छ ।

संखुवासभामा प्रहरी र चन्द समूहबीच गोली हानाहान

प्रहरी र चन्द समूहका कार्यकर्ताहरुबीच गोली हानाहान भए पनि कुनै क्षति भने नभएको प्रहरीले बताएको छ ।


जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको नियमित गस्ती हेयाङ्ला पुगेको थियो । गस्ती टोलीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । उनीहरु २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् ।


प्रहरीले जवाफी फायरिङ गरेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको पैदल गस्ती त्यहाँ पुगेको थियो,’ प्रजिअ दुलाले भने, एक सुरक्षाकर्मी देख्नासाथ उनीहरुले फायरिङ गरे, त्यसपछि, प्रहरीले गोली चलायो ।’


हातहतियारसहित चन्द समूहका कार्यकर्ता आएको उनले बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभा स्रोतका अनुसार, त्यसतर्फ थप सुरक्षाकर्मी पठाउने तयारी भइरहेको छ । घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट कम्तीमा १० घण्टा बढी पैदल हिड्नु पर्छ । सिलिचोङ गाउँपालिकाको केन्द्रबाटै ५ घण्टा बढी लाग्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : असार १६, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?