पीडित सम्पर्क नआएपछि ‘धर्तीमाता’ विरुद्धको मुद्दा कमजोर

काठमाडौँ — राजधानीको भद्रकाली मन्दिर परिसरमा उपचारका नाममा दुर्व्यवहारमा परेकी पीडित युवती सम्पर्कमा नआएका कारण कथित ‘धर्तीमाता’ विष्णु कुँवर विरुद्धको मुद्दा कमजोर बनेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले दुर्व्यवहारबाट पीडित युवती सम्पर्कमा नआएकाले आरोपी विष्णु कुँवर विरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको छ ।


‘युवती सम्पर्कमा आएको भए बोक्सीको नाममा दुर्व्यवहार गरेको बढी सजाय हुन प्रकृतिको मुद्दा चलाउँथ्यौं, युवती सम्पर्कमा नआएकाले बाध्यतावश अभद्र व्यवहारमा मात्र मुद्दा अगाडि बढाएका छौ’ प्रहरी स्रोतले भने ।


प्रहरी स्रोतका अनुसार युवतीको खोजी कार्य जारी रहेको र प्रहरीको सम्पर्कमा आए कुँवर विरुद्ध फेरि थप अर्को मुद्दा दर्ता हुने छ । असार ५ मा आफूलाई धर्तीमाता बताउने कुँवरले उपचारका नाममा भद्रकालीमा युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।


प्रहरीले बुटवलस्थित कालिकानगर बस्ने कुँवरलाई बालाजुबाट तीन दिनअघि पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले यसअघि समेत पटकपटक उपचारका नाममा थुप्रै व्यक्तिलाई दुर्व्यवहार गर्दै आएको जानकारीमा आएकाले त्यसबारेमा समेत थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : असार १५, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?