लाञ्छना लागेपछि धुरुधुरु रोए मेयर

वीरेन्द्र केसी

अर्घाखाँची — डेढ वर्षदेखि भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा र उपप्रमुख खडानन्द बेल्वासेबीच खटपटले विकासका काम प्रभावित भएका छन् । उनीहरूबीचको खटपट आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित बजेट बनाउने क्रममा नगरसभामै छताछुल्ल भयो ।

प्रमुख–उपमेर, वडाध्यक्षबीच भनाभन भएपछि दुई दिनसम्म नगरसभा अवरुद्ध भयो। योजना अनुगमन, भुक्तानी, सेवासुविधाबारे आरोप–प्रत्यारोप चल्यो। असमझदारीबीच नगरसभा पूरा गरियो। सभामा थापा र बेल्वासेले एकअर्कालाई कटाक्ष पनि गरे।

सभामा नगरप्रमुख थापा एक्लै भए। उपप्रमुख बेल्वासेसहित ९ वटै वडाका वडाध्यक्ष एकातिर भए। स्रोतका अनुसार योजनाको बजेट बाँडफाँट गर्दा कुरा नमिलेपछि विवाद भएको हो। एक्लिएपछि थापा सभा छाडेर दुई घण्टा रोएका थिए। ‘नगरको बजेट योजना बनाउने, कहाँ, कुन योजनामा, कति बजेट राख्ने र सबै जनप्रतिनिधिको भावनाअनुसार काम गर्न नसकेकै कारण रुनु लाजमर्दो कुरा हो,’ वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण बन्जाडेले भने।

आफ्नो काम, कर्तव्य के हो ख्याल नगरी अनावश्यक अरू जनप्रतिनिधिको काममा हस्तक्षेप गर्ने अनि भत्ताको कुरा उठाएर अतिरञ्जित गर्नु राम्रो नभएको उनको भनाइ छ। ‘बैठक भत्ता र अन्य सेवासुविधाबारे बैठकमा कुरै उठेको छैन,’ उनले भने, ‘बाहिर हल्ला फिँजाएर भ्रम छरियो।’

थापाले शनिबार सदरमुकाममा पत्रकार सम्मेलन गरी उपप्रमुख र वडाध्यक्षहरूले नगरप्रमुखभन्दा आफू ठूलो ठानेकाले समस्या भएको प्रतिक्रिया दिए। ‘मेरो पदलाई नमान्ने, स्वीकार गर्न नसक्ने,’ उनले भने, ‘उहाँहरू (उपप्रमुख, वडाध्यक्ष) का अनुसार नगर चल्दैन।’ नगरसभामा आफूलाई व्यक्तिगत लाञ्छना लगाएर गाली गरेकाले दुःख लागेर रोएको उनले बताए। ‘मन थाम्न सकिनँ,’ उनले भने, ‘धेरैबेर रोएँ।’

नगरलाई भ्रष्टाचारमुक्त र पारदर्शी ढंगले अगाडि बढाउन विकास योजनाको काम भइरहेको उनले बताए। ‘म एक्लै छु, सत्यका लागि लडछु,’ उनले भने, ‘जनताले मूल्यांकन गर्छन्।’ नगर प्रमुख थापाले पदको दुरुपयोग गरेको वडा नम्बर ४ का अध्यक्ष बाबुराम पन्थी सुनारको आरोप छ। ‘बैठकमा भत्ताको विषय नै प्रवेश भएन, सभा गर्ने ढंग नभएर रुने र कराउने अनि बाहिर भत्ता नलिऔं भनेर प्रस्ताव राख्दा म एक्लिएँ भनेर भ्रम छर्ने काम थापाले गरे,’ उनले भने।

थापा र बेल्वासेबीचको व्यक्तिगत कारणले नगरसभा भाँडिने स्थिति आएपछि वडा नम्बर ९ का अध्यक्ष नारायण खनाल, ३ का अध्यक्ष बालकृष्ण बन्जाडेसहितको टोलीले दुवै जनालाई मिलाएर भाँडिनबाट जोगाएको उनले बताए। ‘हामीले उहाँ (थापा र बेल्वासे) को इज्जत जोगाइदियौं, हाम्रो चरित्रहत्या गर्न लुकेर पत्रकार सम्मेलन गर्नु बेठीक हो,’ उनले भने, ‘हामीले फेरि पत्रकार सम्मेलन गरेर प्रमुखका कर्तुत सार्वजनिक गरिदियौं भने के होला?’ प्रमुखले काठमाडौं जाँदाआउँदा र व्यक्तिगत काम गर्दा सरकारी गाडी दुरुपयोग गरेको उनको आरोप छ।

अनुगमन समिति, बजेट तर्जुमा समितिको संयोजक नगरमा उपप्रमुख हुन्छ। थापाले आफैं हस्तक्षेप गर्नु राम्रो नभएको उनले बताए। प्रमुख थापा मदिरा र बेल्वासे हार्डवेयर व्यापारी भएकाले राजनीतिक संस्कारको कमी भएको स्थानीयको भनाइ छ। सानातिना विषयमा पनि झगडा गरेर काममा भाँजो होल्ने काम भएको उनीहरूले बताए।

अनावश्यक रूपमा नचाहिँदा कुरा काट्ने, अरूको अधिकारमाथि हस्तक्षेप गर्ने प्रमुखको बानीले अप्ठ्यारो परेको उपप्रमुख बेल्वासेको भनाइ छ। ‘प्रमुख, उपप्रमुख र वडाध्यक्षबीच राजनीतिक र व्यक्तिगत कुराले असमझदारी होला,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले भने, ‘त्यो उहाँहरूको कुरा हो।’

प्रकाशित : असार १५, २०७६ २०:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पीडित सम्पर्क नआएपछि ‘धर्तीमाता’ विरुद्धको मुद्दा कमजोर

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीको भद्रकाली मन्दिर परिसरमा उपचारका नाममा दुर्व्यवहारमा परेकी पीडित युवती सम्पर्कमा नआएका कारण कथित ‘धर्तीमाता’ विष्णु कुँवर विरुद्धको मुद्दा कमजोर बनेको छ । 


महानगरीय प्रहरी परिसर काठमाडौंले दुर्व्यवहारबाट पीडित युवती सम्पर्कमा नआएकाले आरोपी विष्णु कुँवर विरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको छ।

‘युवती सम्पर्कमा आएको भए बोक्सीको नाममा दुर्व्यवहार गरेको बढी सजाय हुन प्रकृतिको मुद्दा चलाउँथ्यौं, युवती सम्पर्कमा नआएकाले बाध्यतावश अभद्र व्यवहारमा मात्र मुद्दा अगाडि बढाएका छौ’ प्रहरी स्रोतले भने।

प्रहरी स्रोतका अनुसार युवतीको खोजी कार्य जारी रहेको र प्रहरीको सम्पर्कमा आए कुँवर विरुद्ध फेरि थप अर्को मुद्दा दर्ता हुने छ। असार ५ मा आफूलाई धर्तीमाता बताउने कुँवरले उपचारका नाममा भद्रकालीमा युवतीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो।

प्रहरीले बुटवलस्थित कालिकानगर बस्ने कुँवरलाई बालाजुबाट तीन दिनअघि पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनले यसअघि समेत पटकपटक उपचारका नाममा थुप्रै व्यक्तिलाई दुर्व्यवहार गर्दै आएको जानकारीमा आएकाले त्यसबारेमा समेत थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : असार १५, २०७६ २०:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT