कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लाञ्छना लागेपछि धुरुधुरु रोए मेयर

वीरेन्द्र केसी

अर्घाखाँची — डेढ वर्षदेखि भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा र उपप्रमुख खडानन्द बेल्वासेबीच खटपटले विकासका काम प्रभावित भएका छन् । उनीहरूबीचको खटपट आर्थिक वर्ष २०७६/७७ को प्रस्तावित बजेट बनाउने क्रममा नगरसभामै छताछुल्ल भयो ।

लाञ्छना लागेपछि धुरुधुरु रोए मेयर

प्रमुख–उपमेर, वडाध्यक्षबीच भनाभन भएपछि दुई दिनसम्म नगरसभा अवरुद्ध भयो । योजना अनुगमन, भुक्तानी, सेवासुविधाबारे आरोप–प्रत्यारोप चल्यो । असमझदारीबीच नगरसभा पूरा गरियो । सभामा थापा र बेल्वासेले एकअर्कालाई कटाक्ष पनि गरे ।


सभामा नगरप्रमुख थापा एक्लै भए । उपप्रमुख बेल्वासेसहित ९ वटै वडाका वडाध्यक्ष एकातिर भए । स्रोतका अनुसार योजनाको बजेट बाँडफाँट गर्दा कुरा नमिलेपछि विवाद भएको हो । एक्लिएपछि थापा सभा छाडेर दुई घण्टा रोएका थिए । ‘नगरको बजेट योजना बनाउने, कहाँ, कुन योजनामा, कति बजेट राख्ने र सबै जनप्रतिनिधिको भावनाअनुसार काम गर्न नसकेकै कारण रुनु लाजमर्दो कुरा हो,’ वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण बन्जाडेले भने ।


आफ्नो काम, कर्तव्य के हो ख्याल नगरी अनावश्यक अरू जनप्रतिनिधिको काममा हस्तक्षेप गर्ने अनि भत्ताको कुरा उठाएर अतिरञ्जित गर्नु राम्रो नभएको उनको भनाइ छ । ‘बैठक भत्ता र अन्य सेवासुविधाबारे बैठकमा कुरै उठेको छैन,’ उनले भने, ‘बाहिर हल्ला फिँजाएर भ्रम छरियो ।’


थापाले शनिबार सदरमुकाममा पत्रकार सम्मेलन गरी उपप्रमुख र वडाध्यक्षहरूले नगरप्रमुखभन्दा आफू ठूलो ठानेकाले समस्या भएको प्रतिक्रिया दिए । ‘मेरो पदलाई नमान्ने, स्वीकार गर्न नसक्ने,’ उनले भने, ‘उहाँहरू (उपप्रमुख, वडाध्यक्ष) का अनुसार नगर चल्दैन ।’ नगरसभामा आफूलाई व्यक्तिगत लाञ्छना लगाएर गाली गरेकाले दुःख लागेर रोएको उनले बताए । ‘मन थाम्न सकिनँ,’ उनले भने, ‘धेरैबेर रोएँ ।’


नगरलाई भ्रष्टाचारमुक्त र पारदर्शी ढंगले अगाडि बढाउन विकास योजनाको काम भइरहेको उनले बताए । ‘म एक्लै छु, सत्यका लागि लडछु,’ उनले भने, ‘जनताले मूल्यांकन गर्छन् ।’ नगर प्रमुख थापाले पदको दुरुपयोग गरेको वडा नम्बर ४ का अध्यक्ष बाबुराम पन्थी सुनारको आरोप छ । ‘बैठकमा भत्ताको विषय नै प्रवेश भएन, सभा गर्ने ढंग नभएर रुने र कराउने अनि बाहिर भत्ता नलिऔं भनेर प्रस्ताव राख्दा म एक्लिएँ भनेर भ्रम छर्ने काम थापाले गरे,’ उनले भने ।


थापा र बेल्वासेबीचको व्यक्तिगत कारणले नगरसभा भाँडिने स्थिति आएपछि वडा नम्बर ९ का अध्यक्ष नारायण खनाल, ३ का अध्यक्ष बालकृष्ण बन्जाडेसहितको टोलीले दुवै जनालाई मिलाएर भाँडिनबाट जोगाएको उनले बताए । ‘हामीले उहाँ (थापा र बेल्वासे) को इज्जत जोगाइदियौं, हाम्रो चरित्रहत्या गर्न लुकेर पत्रकार सम्मेलन गर्नु बेठीक हो,’ उनले भने, ‘हामीले फेरि पत्रकार सम्मेलन गरेर प्रमुखका कर्तुत सार्वजनिक गरिदियौं भने के होला ?’ प्रमुखले काठमाडौं जाँदाआउँदा र व्यक्तिगत काम गर्दा सरकारी गाडी दुरुपयोग गरेको उनको आरोप छ ।


अनुगमन समिति, बजेट तर्जुमा समितिको संयोजक नगरमा उपप्रमुख हुन्छ । थापाले आफैं हस्तक्षेप गर्नु राम्रो नभएको उनले बताए । प्रमुख थापा मदिरा र बेल्वासे हार्डवेयर व्यापारी भएकाले राजनीतिक संस्कारको कमी भएको स्थानीयको भनाइ छ । सानातिना विषयमा पनि झगडा गरेर काममा भाँजो होल्ने काम भएको उनीहरूले बताए ।


अनावश्यक रूपमा नचाहिँदा कुरा काट्ने, अरूको अधिकारमाथि हस्तक्षेप गर्ने प्रमुखको बानीले अप्ठ्यारो परेको उपप्रमुख बेल्वासेको भनाइ छ । ‘प्रमुख, उपप्रमुख र वडाध्यक्षबीच राजनीतिक र व्यक्तिगत कुराले असमझदारी होला,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले भने, ‘त्यो उहाँहरूको कुरा हो ।’

प्रकाशित : असार १५, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?