पुर्ख्यौली खेतमा बाबुराम हिलाम्मे

हरिराम उप्रेती

गोरखा — समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई असार १५ मा आफ्नै पुर्ख्यौली थलोमा रहेको खेतको रोपाइँमा सहभागी भएका छन् । 

पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ज्योति चौतारामा रहेको पुर्ख्यौली खेतमा बाबुराम अन्य किसानसँगै झन्डै डेढ घण्टा काम गरे। ‘बिउ रोप्नुभयो, दाँते चढ्नु भयो, कोदाली लिएर आफैं बाउसे गर्नुभयो,’ स्थानीय सन्तोष पोखरेलले भने, ‘उहाँ आफैं काम गर्न तम्सिएपछि अरू किसान पनि हौसिए।’

भट्टराई हिलोमा पसेर काम थालेपछि स्थानीयले पनि उनीसँगै रमाए। ‘१०–१२ हल गोरु लिएर किसान स्वतःस्फूर्त रूपमा काममा आए,’ उनले भने, ‘पाँच हल गोरु लाग्ने खेतमा १०/१२ हल आएपछि रोपाइँ पनि चाडै सकियो।’

आफू रोपाइँमा सहभागी भएको तस्बिर भट्टराईले फेसबुकमा पनि राखेका छन्। उक्त स्थानमा भट्टराईकी छोरी मानुषीको नाममा झन्डै पाँच रोपनी जग्गा छ। पुर्ख्यौली थलोको खेतमा झन्डै ४० वर्षपछि रोपाइँमा सहभागी बनेको भट्टराईले कान्तिपुरलाई बताए।

उनले विदेशबाट धान आयात बढेको भन्दै चिन्ता जनाए। ‘आधुनिक प्रविधिको प्रयोग र उन्नत बिउ लगाएर उब्जनी बढाउनुपर्छ,’ भट्टराईले भने।
गत वर्षको असार १५ मा जरेबरमा भएको रोपाइँमा भट्टराई सहभागी बनेको थिए। ‘यो वर्ष वडा नम्बर १ ले पनि आयोजना गरेको रहेछ, संयोगले पुर्ख्यौली खेतको रोपाइँमा सहभागी हुन पाएँ,’ उनले भने।

प्रकाशित : असार १५, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भक्तपुरमा महिलाको हत्या

लिला श्रेष्ठ

भक्तपुर — भक्तपुरमा आइतबार दिउँसो एक महिलाको घाँटी रेटी हत्या भएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटी बाँसघारीस्थित ६० वर्षीया सावित्रा भट्टराईको दिउँसो घरमा बसिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए । 

सिन्धुपाल्चोकको इन्द्रवाती गाउँपालिका–५ की स्थायी वासिन्दा रहेकी भट्टराई आफ्नो छोरी ज्वाईको घरमा बस्दै आएकी थिइन् ।

घटनास्थलमा अहिले प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १५, २०७६ १६:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×