घूसकाण्डमा मुछिएका पाठकका सहयोगीलाई पनि भ्रष्टाचारमुद्दा

काठमाडौँ — ७८ लाख रुपैयाँको घूसकाण्डमा परेर भ्रष्टाचारको आरोप खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकका सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
 
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय काठमाडौंका नायब सुब्बा ललित झाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर भएको हो ।

घूसकाण्डमा मुछिएका पाठकका सहयोगीलाई पनि भ्रष्टाचारमुद्दा

अख्तियारले उनीसहित उनकी पत्नी सुचिता झा माथि समेत भ्रष्टाचारमुद्दा दायर गरेको छ । लामो समय विमानस्थलको अध्यागमन कार्यालयमा काम गरेका उनी पछिल्लो समय इलाका प्रशासन कार्यालय महोत्तरीमा थिए ।

२०४० साल असार १७ गतेदेखि २०७६ साल जेठ मसान्तसम्म जागिरे अवधिमा उनले २ करोड २८ लाख ६४ हजार रुपैँया वैध आर्जन गरेकोमा ३ करोड ८५ लाख रुपैयाँ जोडेको भेटिएको हो । अख्तियारले उनीविरुद्ध १ करोड ५६ लाख रुपैयाँ गैरकानुनी सम्पत्तिआर्जनको अभियोग लगाएको छ ।

पाठकको स्टेसनमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘स्टेसन’ खडा गरेका थिए । पाठकले निजामती प्रशासनमा रहेका केही व्यक्तिहरुलाई त्यहाँ राखेर विभिन्न व्यक्तिहरुसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको उजुरी अख्तियारमा परेपछि छानबिन सुरु भएको थियो । उजुरीमा नासु झाको नामसमेत थियो ।

‘उहाँका बारेमा अनेक गुनासो आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो’ तत्कालीन आयुक्त पाठकको घूस प्रकरणमाथि छानबिनका क्रममा अख्तियार स्रोतले कान्तिपुरसित भनेको थियो, ‘उनीहरुले विभिन्न व्यक्तिहरुलाई धम्क्याउने, रकम उठाउने लगायतका काम गरिरहेको खुल्यो । केही कर्मचारी हाम्रो निगरानीमा छन् ।’ अख्तियार उच्च स्रोतले त्यतिबेला बताए अनुसार, उक्त स्टेसनमा तीनजना व्यक्तिलेले काम गरिरहेका थिए ।

तीमध्ये एकजना नापी विभागमा कार्यरत थिए । अर्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छन् भने तेस्रो व्यक्ति नापीका पूर्वकर्मचारी हुन् । शैक्षिक प्रमाणपत्रमाथि छानबिन चलेपछि उनी राजिनामा गरेका थिए । आयुक्त पाठकको इशारामा चल्ने उनीहरुले तराईका आठ जिल्लामा १० हजार रुपैयाँदेखि ५ लाख उठाउँदै गरेको भनी बारम्बार उजुरी परेको थियो ।

कान्तिपुरसँगको त्यतिबेलाको कुराकानीका क्रममा नासु झाले आफूले पाठकलाई चिनेको र उनीसँग बारम्बार भेट भएको स्वीकारेका थिए । ‘हाम्रो नाता पर्छ त भेटघाट उठबस भइहाल्छ नि’ उनले कान्तिपुरसित भने, ‘उनको नाममा मैले कुनै गडबड गरेको छैन । प्रमाणित भयो भने नेपाल छाडेर गैहाल्छु ।’ उनले आफू ९ महिनादेखि बिदामा रहेको बताएका थिए ।

अख्तियार स्रोतका अनुसार, पाठकले उनीहरुलाई तराईका विभिन्न जिल्लामा नियमित रुपमा स्थलगत रुपमा पठाउने र स्थानीय तहका कर्मचारीहरुसँग रकम उठाउने गर्थे । अख्तियारमा परेको केही उजुरीमा यसबारेमा संकेत रहेको एक उच्च कर्मचारीले बताए । ‘स्तर हेरेर १० हजार रुपैंयादेखि ५ लाखसम्म उठाउने गरेका थिए’ उनले भने, ‘खुद्रा तहमा रकम उठाउन उनीहरुलाई प्रयोग गर्ने, अनि ठूला व्यक्तिसँग आफै सक्रिय हुने पाठकको स्वभाव थियो ।’

ठूलालाई आफैंले

पाठकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्याम लाल दासलाई नियमित रुपमा धम्क्याएर आफ्नो स्वार्थमा काम गराएको स्रोतले बतायो । आयुक्त पाठकको बारम्बारको दवावका कारण उपकुलपति दासले उनका भाई शुभनारायणलाई पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान संकायको डिन बनाउन बाध्य भएका थिए । ‘पाठकले भाईमार्फत अनेक स्वार्थपूर्तिका काम गरिरहे’ अख्तियारस्रोतले भन्यो, ‘बेलाबेलामा घरमै बोलाएर भ्रष्टाचारको मुद्दा चलाइदिउ भनेर समेत अनेक दवाव दिइरहेका थिए ।’

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिनहरु डा. राकेश श्रीवास्तव र विमल सिन्हासमेत आयुक्त पाठकबाट पिडित रहेको स्रोतले बतायो । पाठकले गतवर्ष नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्माकान्त बास्कोटा र रजिष्ट्रार डा. दिलीप शर्मामाथि समेत आफ्नो स्वार्थका विषयमा निर्णय गराउन दवाव दिएका थिए । अख्तियारस्रोतले भन्यो, ‘केही मेडिकल कलेजका सम्बन्धन र कोटामा उनको विशेष रुची थियो ।’ रेल विभागका महानिर्देशक बलराम मिश्रमाथि समेत उनले घरमै बोलाएर धम्क्याउने र मोलमोलाई गर्ने गरेको सूचना अख्तियारसम्म पुगेको थियो ।

दुई वर्षअघि आयुक्त पाठकले डिएसपी दानबहादुर कार्कीलाई पनि घरमै बोलाएर धम्क्याएका थिए । नाकाबन्दीको बेलामा दुगड समूहको खानेतेलको कालोबजारी प्रकरणमा छानविन अघि बढेको थियो । बानेश्वर प्रहरी वृत्तमा कार्यरत डिएसपी कार्कीलाई आयुक्त पाठकले घरमै बोलाएर प्रलोभन देखाएका थिए । एक उच्च प्रहरी अधिकारीका अनुसार, उनले कालोबजारको मुद्दा अघि नबढाउन र त्यसबापत ‘आफ्नो भविष्य सोच्न’ सुझाव दिएका थिए ।

‘तपाईको काठमाण्डौंमा घर छैन भने मिलाउनुस्, एउटा छ भने दुईटा बनाउनुस’ पाठकको भनाई उदृत गर्दै एक उच्च प्रहरी अधिकारीले भने, ‘मुद्दा लगाउने, अरुलाई दुःख दिने ढंगले अघि नबढ्नुस, सबैलाई सहयोग गर्नुपर्छ ।’ पाठकलाई अख्तियारका आयुक्त बनाउन पहल गर्नेमा पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाह समेत थिए । तर पछि उनैको एक नातेदारसँग पाठकले रकम मागेका थिए, जुन पछि फिर्ता नगरेको भनी केही सरकारी वकिलहरुबीच कुरा समेत पुगेको थियो ।

प्रकाशित : असार १५, २०७६ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?