एउटै सडकमा तीन सरकारको बजेट

प्रताप रानामगर

दमौली — एउटै सडकमा तीन तहका सरकारले बजेट विनियोजन गरी निर्माण अघि बढाएका छन् । तनहुँको धार्मिक स्थल छाब्दीबाराही मन्दिर जाने मुख्य सडक कालोपत्रेका लागि संघ, प्रदेश र स्थानीय सरकारले चालु आर्थिक वर्षमा बजेट दिएका हुन् । 

एउटै सडकमा तीन सरकारको बजेट

छाब्दीमार्ग नामकरण गरिएको सडकको स्तरोन्नतिको काम भइरहेको छ । सडकका लागि संघीय र प्रदेश सरकारले १/१ करोड रुपैयाँ तथा व्यास नगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजित गरेका छन् ।


दमौली छाब्दीमार्ग सडकखण्डको कुन्छाटोलदेखि मोहरिया टोलसम्म संघीय सरकारले दिएको बजेटबाट कालोपत्रे गरिँदै छ । मोहरियाटोलदेखि गौडापहरासम्म प्रदेश सरकार र छाब्दीको बसपार्कबाट स्थानीय सरकारले विनियोजन गरेको बजेटबाट काम भइरहेको दमौली छाब्दीमार्ग उपभोक्ता समितिका अध्यक्ष मणिजंग बस्नेतले जानकारी दिए ।


‘एउटै सडकमा तीनै तहका सरकारको बजेट छ,’ उनले भने, ‘यो खुसीको कुरा हो ।’ उपभोक्ता समितिले कालोपत्रेको काम गरेको छैन । टेन्डर आहान गरी ठेकेदारले कालोपत्रेको काम गरेको उनले बताए । सडकको स्तरोन्नतिको रेखदेख गर्न उपभोक्ता समितिलाई जिम्मेवारी छैन ।


सडकको कालोपत्रे गर्न दुई निर्माण व्यवसायीले ठेक्का लिएका छन् । संघीय र प्रदेश सरकारले विनियोजन गरेको रकमको कालोपत्रे गर्न डायमन्ड कन्स्ट्रक्सनले ठेक्का लिएको छ । संघीय सरकारबाट विनियोजित रकमले ८ सय १७ मिटर र प्रदेश सरकारले ७ सय ५० मिटर कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको ठेकेदार आरसी पौडेलले बताए । ‘कालोपत्रेका लागि पूर्वाधार बनेको छ,’ उनले भने, ‘पक्की नाला बनाउने र बेस राख्ने काम सकिएको छ,’ उनले भने, ‘असार २० सम्म कालोपत्रेको काम सकिन्छ ।

एउटै बाटोमा एउटै समयमा तीनै तहको सरकारको बजेट आउनु विकासका लागि राम्रै भए पनि व्यवस्थापनमा समस्या हुने उनले बताए । व्यास नगरको बजेटमा जीएस कन्स्ट्रक्सनले कालोपत्रेको ठेक्का लिएर बसपार्कबाट दमौलीतर्फको काम गरिरहेको छ । १ हजार ३ सय मिटर कालोपत्रे हुनेछ । यो सडकखण्डमा ८० प्रतिशत काम भइसकेको ठेकेदार वसन्त आलेले बताए ।

प्रकाशित : असार १५, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?