२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

३ सय २९ लाई सुरक्षित घडेरी

हरिराम उप्रेती

गोरखा — जोखिम बस्तीका ५ सय २६ भूकम्पपीडित लाभग्राहीमध्ये ३ सय २९ ले सुरक्षित स्थानको जग्गाधनी पुर्जा पाएका छन् । सबैभन्दा बढी जोखिममा परेको मानिने धार्चे गाउँपालिका–२ केरौंजाका ६५ घरपरिवारलाई गाउँमै शिविरको आयोजना गरी पुर्जा वितरण गरिएको छ ।

३ सय २९ लाई सुरक्षित घडेरी

पटकपटक गरी केरौंजाको मात्र २ सय ६५ भूकम्पपीडितलाई सुरक्षित जग्गाको लालपुर्जा वितरण भइसकेको दिगो समाधान परियोजनाकी अधिकृत पुष्पा घलेले बताइन् । पछिल्लो समय लालपुर्जा पाएकाले जग्गा खरिदको रकम पाउन प्रक्रिया सुरु भएको उनको भनाइ छ ।


जोखिम बस्ती पहिचान भएका ठाउँका भूकम्पपीडितले प्राविधिकको सिफारिसपछि सुरक्षित थलोमा जग्गा खरिदका लागि बढीमा २ लाख रुपैयाँसम्म अनुदान पाउँछन् । जग्गाको लालपुर्जा, जग्गाधनीको नागरिकता र मालपोतको लिखत लगायत कागजपत्रका प्रतिलिपिका आधारमा जग्गाधनीको नाउँमा रकम निकासा हुन्छ ।


भूकम्पपछि जमिन चिरा परेका र पहिरोको जोखिम भएका क्षेत्रमा भूगर्भविद्को टोली पुगेको थियो । टोलीले जोखिम क्षेत्र पहिचान गरी भूकम्पपीडितलाई स्थानान्तर गर्न सुझाव दिएको थियो । पुनर्निर्माण प्राधिकरणको जिल्ला एकाइले त्यस्ता लाभग्राहीलाई सूचीकृत गरेर घडेरी खरिदका लागि अनुदान दिइरहेको छ ।


जग्गा खरिद गरेका धार्चेका २ सय ६७, अजिरकोटका २८, चुमनुव्रीका १८ र बारपाक सुलिकोट गाउँपालिकाका १६ गरी ३ सय २९ जनालाई लालपुर्जा वितरण भइसकेको भूकम्प पुनर्निर्माण प्राधिकरणको जिल्ला एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख रामशरण आचार्यले बताए । चुमनुव्री–३ सिर्दिबासमा जोखिममा परेका ११ घरलाई देवलमा एकीकृत बस्ती बस्ने गरी जग्गा खरिद भइसकेको उनले बताए । ‘बाँकी जोखिम बस्तीका भूकम्पपीडितलाई चालु महिनाभित्रै लालपुर्जा वितरण गरिसक्ने लक्ष्य छ,’ उनले भने ।


केरौंजामा मात्र अब १ सय ३७ जनालाई लालपुर्जा वितरण गर्न बाँकी छ । यिनमा ९१ जनाको सुरक्षित स्थानमा आफ्नै नाममा जग्गा रहेको पाइएको छ । केरौंजाबाट विस्थापित भएर गोरखा नगरपालिका–६ सिमलगैरीमा आएर बसेका १८ परिवार लाभग्राहीलाई छिट्टै जग्गा खरिदको रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको एकाइले जनाएको छ ।


केरौंजामा गत असारमा ४१, पुसमा १ सय ५० र अहिले ६५ लाई सुरक्षित स्थानको लालपुर्जा वितरण भइसकेको छ । बारपाकका १५, अजिरकोट गाउँपालिकास्थित मुच्चोक सावदुरका १७, डिस्काको एक, मुच्चोकटारका २, जोगीडाँडाका १, ठूल्ढुंगाका २, दार्मेका एकजना लाभग्राहीलाई पनि लालपुर्जा दिइएको छ ।


मुच्चोकबाट विस्थापित भई गोरखा नगरपालिकाको पन्ध्रकिलोस्थित नयाँगाउँ आएका ५ जनालाई पनि पुर्जा वितरण गरिएको छ । बारपाकका ५५ मध्ये १५ ले लालपुर्जा पाइसकेका छन् भने बाँकीलाई वितरणका लागि छलफल भइरहेको एकाइले जनाएको छ । ‘जोखिम बस्तीका भूकम्पपीडितलाई स्थानान्तरणको प्रक्रिया निरन्तर अघि बढेको छ,’ एकाइ प्रमुख आचार्यले भने, ‘स्थानान्तरणका लागि छनोट भएका जग्गा पनि भ्गूर्भविद् अध्ययन गरेपछि बस्नयोग्य रहे/नरहेको निर्क्यौल भएपछि मात्र अनुदान र लालपुर्जा पाउने प्रक्रिया अघि बढ्छ,’ भ्मूिहीन लाभग्राही पनि यकिन भइसकेको एकाइले जनाएको छ ।


‘अहिलेकै ठाउँमा बस्छौं भनेर १६ परिवार भूमिहीनले माग गरेका छन्,’ आचार्यले भने । जिल्लाभर १ सय ८० परिवार भ्मूिहीन लाभग्राही रहेको तथ्यांक इकाईमा छ । यहाँ लाभग्राही सूचीमा नाम भए पनि अनुदान सम्झौता नगरेका झन्डै ६ हजारजना छन् । उनीहरूलाई असार २१ भित्र अनुदान सम्झौता गरी मसान्तसम्म पहिलो किस्ता लिन भनिएको एकाइले जनाएको छ ।

प्रकाशित : असार १५, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?