२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्घटना गराउने एउटा, पक्राउ दिने अर्को

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोट–२ मा असार ९ गते राति पश्चिमबाट पूर्वतर्फ गइरहेको ना७ख ७७१ नम्बरको ट्रकले ना२७प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । उक्त घटनामा ४० वर्षीय तिलचन्द्र अधिकारीको ज्यान गयो ।

घटना प्रहरीसमक्ष पुगेर सवारी नियन्त्रणमा लिँदा ट्रकका चालक फेरिइसकेका थिए । नक्कली चालक आफैं प्रहरीसमक्ष पुगेर आफूले ट्रक चलाएको भन्दै हिरासतमा पसे ।


रातको समय भएकाले अरूले घटना संलग्नको पहिचान गर्नुअघि नै चालक फेरिएका थिए । उक्त ट्रक हेटौंडाका रञ्जित लामाले चलाएका थिए । उनी घटनालगत्तै फरार भए । रातारात हेटौंडाकै २८ वर्षीय सञ्जित लामा चालकका रूपमा प्रहरी चौकी पुगे । प्रहरीलाई त्यसबेला थाहा भयो, जब चालक बनेर आएकासँग घटनाबारे सोधपुछ थालियो । सञ्जित अकमकाए ।


घटना कसरी भयो भन्ने प्रहरीको प्रश्नको उनले विश्वासिलो उत्तरै दिन सकेनन् । अनुसन्धान थालेपछि उनी नक्कली चालक बनेर आएको पत्ता लाग्यो । घटनाको भोलिपल्टै प्रहरीले वास्तविक चालक रञ्जितलाई हेटौंडाबाट पक्राउ गर्‍यो । दुवै जनाविरुद्ध अहिले सवारीज्यान तथा किर्ते मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी अर्जुन रानाभाटले बताए । ‘सवारी दुर्घटनामा पहुँच र हुनेखाने समुदायका मानिसले नक्कली चालक खडा गरेर उम्कने गरेको गुनासो जिल्लामा आएको थियो,’ उनले भने, ‘त्यसपछिका दुर्घटनाका दोषीलाई हामीले कडा निगरानीसँगै घटनाको गहिरो अनुसन्धान गरिरहेका छौं । अहिले शंका लागेर सोधपुछ गर्दा नक्कली भेटिएपछि दुवैलाई अदालतमा उपस्थित गराएका छौं ।’


गत वैशाख ११ मा गैंडाकोटमै ना२८प ४६८५ नम्बरको मोटरसाइकललाई बा३०च ११७९ नम्बरको कारले ठक्कर दिंदा दुई जना घाइते भएका थिए । घाइतेमध्ये गैंडाकोट–२ की नन्दकली शर्माको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनापछि हिरासतमा बस्नुपर्ने डरले कारका चालकले नक्कली चालक खडा गरेर आफू उम्कन खोजे । काठमाडौंका क्रसर व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीले ठक्कर दिएको थियो ।


हिरासत बस्नुपर्ने अवस्थाबाट बच्न उनले चितवनका किसन महतोलाई चालकका रूपमा खडा गरेका थिए । यही घटनालाई लिएर तत्कालीन इप्रका गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसीविरुद्ध अख्तियारले अनुसन्धान गरेको थियो । उनीविरुद्ध १० लाख रुपैयाँ लिएर सवारीज्यान मुद्दामा चालक फेरेको प्रमाणसहित उजुरी परेपछि घटनामा अख्तियारले चासो लिएको थियो ।


एक जनाको मृत्यु र अर्का गम्भीर घाइते भएको घटनामा जीसीले चालक फेरेर दोषीलाई उन्मुक्ति दिएको आरोप छ । घटनाको विषयलाई लिएर निरीक्षक जीसीले पीडित पक्षलाई हप्कीदप्की गरेर सहमति गराएका थिए । पीडित पक्षले प्रहरी कार्यालयमा मिलापत्र गरेपछि नक्कली चालक बनेर मुद्दा खेपेका व्यक्ति रिहा भइसकेका छन् ।


नवलपुर जिल्ला अत्यधिक सवारी दुर्घटना हुनेमा पर्छ । पूर्वपश्चिम राजमार्ग र भित्री सडकमा पनि सवारीको चाप धेरै छ । दिनहुँ सानाठूला दुर्घटना हुने गरेका छन् । यस क्षेत्रमा घटनालगत्तै नक्कली चालक खडा गरेर वास्तविक उम्कने गरेको नयाँ होइन । प्रायः निजी सवारी चालक आफ्नो साटो नक्कली चालक खडा गरेर पक्राउ हुनबाट उम्कने गर्छन् । यस्ता घटनामा अदालतबाट छिट्टै सफाइ पाइने भएकाले सामान्य परिवारका चालकलाई पैसा दिएर केही दिनका लागि प्रहरीको हिरासतमा बस्न लगाएका घटना खुलेका छन् ।


‘सवारी ज्यान मुद्दा एक महिनाभित्र किनारा लाग्ने र चालकलाई पनि हिरासतको समयमा अन्य आरोपीलाई जस्तो कडाइ हुँदैन,’ मध्यबिन्दु नगरपालिका–७ का देवीराम लुइँटेल भन्छन्, ‘राम्रै पैसा पाइने, हिरासतमा मासु–भात र छिट्टै थुनामुक्त हुने भएकाले नक्कली ड्राइभर बन्नेहरू पनि छ्याप्छ्याप्ती पाइन्छन् ।’

प्रकाशित : असार १५, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?