कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अपांगताले छेकेन पढाइ

नुमा थाम्सुहाङ

काठमाडौँ — स्टेफन हकिङसजस्तै वैज्ञानिक बन्ने लक्ष्य छ १८ वर्षीय सोनाम छिरिङ शेर्पाको । फरक क्षमताका उनी जन्मजात मस्तिष्क पक्षघातका बिरामी हुन् । उनले एसईई परीक्षामा ३.२५ जीपीए ल्याएर उत्तीर्ण गरे ।

अपांगताले छेकेन पढाइ

मिहिनेतमा विश्वास गर्ने उनी इच्छाशक्ति भए जे पनि गर्न सकिने बताउँछन् । ‘म मिहिनेतमा विश्वास गर्छु, यो नतिजाका लागि धेरै लगनसाथ अध्ययन गरेको थिएँ,’ उनले भने, ‘यसमा एकदम खुसी छु ।’


दोलखा घर भएका उनी परिवारको जेठो सन्तान हुन् । यो सफलतामा परिवार र शिक्षक–शिक्षिका अत्यन्त खुसी भएको उनले बताए । परिवारमा आमा गंगाकुमारी, बुबा निमा दोर्जे शेर्पा र एक बहिनी छन् । पढाइमा अब्बल उनलाई कक्षामा पनि सबैले ‘स्टेफन हकिङस’ भनेर बोलाउने गरेको उनले सुनाए ।


दैलेखका रमेश खत्रीले २०७२ साल वैशाख १२ गतेको भूकम्पमा परी दुवै खुट्टा गुमाए । उनी बालाजुको भूमेश्वरी गेस्ट हाउसमा वेटरको काम गर्थे । भूकम्पमा गेस्ट हाउस भत्किँदा दुवै खुट्टा थिचियो । १७ वर्षकै उमेरमा हिँड्ने सहारा गुमाए । ‘जस्तोसुकै अवस्थामा पनि हरेस खाइनँ,’ उनले भने, ‘धैर्यपूर्वक काम गरियो भने सफलता पाइन्छ ।’ खुट्टा गुमे पनि उनले विश्वास गुमाएनन् ।


एसईईमा २.५५ जीपीए ल्याएका छन् । २१ वर्षीय उनले कम्प्युटर साइन्स पढ्ने लक्ष्य लिएका छन् । बुबा भारतमा मजदुरी गर्छन्, आमा र भाइबहिनी गाउँमै छन् । उनले पनि धेरै अनुभव बटुलिसकेका छन् । कक्षा ८ सम्म गाउँकै विद्यालयमा पढेका उनी त्यसपछि कमाउनका लागि भारतसमेत पुगे ।


‘मैले दुई महिना भारतमा काम गरें,’ उनले विगत सम्झिए, ‘नेपाल फर्केर गेस्ट हाउसमा वेटरको काम गर्दागर्दै यो संकट आइलाग्यो ।’ कक्षा दस उत्तीर्ण गर्ने उनी परिवारकै पहिलो हुन् । खगेन्द्र नवजीवनजस्तो विद्यालय काठमाडौंमा मात्र नभई अन्य ठाउँमा समेत खोल्नुपर्ने उनले बताए । ‘गाउँमा पनि फरक क्षमता भएका व्यक्ति हुन्छन्,’ उनले भने, ‘यस्ता विद्यालय र संघसंस्थाको सहयोग पुगे सबैको जीवन सफल हुन्छ ।’


ओखलढुंगाकी १६ वर्षीय सविना राईले २.४५ जीपीए ल्याएर एसईई उत्तीर्ण गरिन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति पढ्न मन पराउने उनी भन्छिन्, ‘मलाई देवकोटाका कविता मन पर्छ । उनका सबैजसो कविता पढेको छु, अब मुनामदन पढ्न मन लागेको छ ।’ नेपाली साहित्यमा रुचि भएको उनले सुनाइन् । नेपाली विषयको शिक्षिका बन्ने उनको लक्ष्य छ । ‘पढेर म नेपाली विषयको शिक्षिका बन्छु,’ उनले भनिन्, ‘मलाई पढ्न र पढाउन मन पर्छ ।’


काठमाडौंमा उनी आमाबुबा, दुई दिदी र एक बहिनीका साथ बस्दै आएकी छन् । विद्यालयमा विभिन्न क्षमताका साथीहरूसँग घुलमिल भएर पढ्न पाएकोमा उनी खुसी छिन् । यसबाट एकआपसमा सहयोग र आत्मीयता बढेको उनले बताइन् । खगेन्द्र नवजीवन विशेष शिक्षा मावि नारायणटारका प्राध्यापक राघव दवाडीका अनुसार एसईईमा सहभागी २६ मा १० जना भिन्न क्षमता भएका थिए । त्यसमा छात्रा ५ र छात्र ५ सहभागी थिए ।


‘फरक क्षमताका विद्यार्थीलाई उचित शिक्षाको वातावरण र खेलकुदको अवसर प्रदान गर्न २०२६ सालमा यो विद्यालय स्थापना भएको हो,’ दवाडीले भने, ‘यसबाट विद्यार्थीमा भविष्यमा केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।’

प्रकाशित : असार १४, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?