‘बालगृह’ को धन्दा : पढाइदिने प्रलोभन देखाउँदै असुली

काठमाडौंमा रहेका केही बालगृहले राम्रो शिक्षा दिलाउने भन्दै गाउँगाउँबाट बालबालिका बटुल्छन्, अभिभावकबाट पैसा उठाउँछन् । तिनै बालबालिका देखाएर संघसंस्थाबाट रकम जुटाउँछन् ।
तुलाराम पाण्डे, छपाल लामा

कालिकोट र हुम्ला — कल्पना बुढा तीन महिनाकी छँदा बुबा मीनबहादुरको भारत, हिमालचुलीमा दुर्घटनामा मृत्यु भयो । कल्पनासहित ५ छोराछोरीलाई आमाले दुःखसुख हुर्काइरहेकी थिइन् । दाउरा काट्न गएका बेला चार वर्षअघि उनी रूखबाट खसेर घाइते भइन् ।

त्यही घाउ सडेर क्यान्सर भयो । उपचारकै क्रममा २०७४ वैशाखमा उनको मृत्यु भयो । जग्गाजमिन बेचियो, गाईभैंसी साहूले लगे ।
सान्नीत्रिवेणी गाउँपालिका मुम्रा बस्ने परिवारको अवस्था थाहा पाएपछि काठमाडौं, पाटनढोकास्थित रिलेसनसिप नेपाल नामक बालगृह आइपुग्यो र कल्पनालाई राम्रोसँग पढाउने बतायो । ‘गाउँका मान्छे र छरछिमेकले पनि राम्रो हुन्छ, काठमाडौं पठाऊ भनेर सल्लाह दिए,’ दिदी अस्मिताले सुनाइन् ।

कल्पना अनाथ थिइन्, त्यही भएर बालगृहमा पुगिन् । बालगृहमा पाउनुपर्ने व्यवहार भने पाउन सकिनन् । ‘काठमाडौं गएपछि पढाउनेभन्दा पनि बच्चाहरूको कपडा धुने, भाँडा माझ्ने काममा लगाए, बहिनीमाथि दुर्व्यवहार भयो,’ अस्मिताले भनिन् । काठमाडौं, सामाखुसीस्थित एक बालगृहले शुभकालिका गाउँपालिका–७ का दिनेश शाहीलाई राम्ररी पढाउने आश्वासन दियो । बुबा भीमबहादुरले नै तत्कालीन गाविस कार्यालयबाट सिफारिस बनाएर दिनेशलाई बालगृहमा पुर्‍याए ।

उनले आवश्यक बन्दोबस्तीका सामान किन्नुका साथै बालगृह सञ्चालकलाई ३० हजार रुपैयाँ पनि बुझाए । ‘गाउँका अरू तीन जनाले बालबच्चा राखेको विश्वास भयो,’ भीमबहादुरले भने, ‘केही महिनापछि छोरालाई भेट्न जाँदा दुब्लाएर सुकुटी भएको देखेँ, भक्कानिएर रोएँ । बुझदा बालगृह अवैध रहेछ ।’ त्यसपछि उनले छोरो फिर्ता ल्याए ।

अनेक प्रलोभन देखाएर कालिकोट र हुम्लालगायत जिल्लाबाट काठमाडौंका अवैध बालगृहमा पुर्‍याइएका थुप्रै बालबालिकाका प्रतिनिधि हुन् कल्पना र दिनेश । राम्रो पढाउने नाममा बालगृहले अभिभावकबाट मोटो रकमसमेत असुल्ने गरेको पाइएको छ । दर्ता भएका बालगृहले अनाथ बालबालिकालाई दातृनिकायका साथै विभिन्न ठाउँबाट पैसा असुल्ने माध्यम बनाएका छन् । कतिपयलाई उद्धार गरिए पनि अझै कति बालबालिका आर्थिक मुनाफा केन्द्रित ‘बालगृह’ मा छन्, यकिन छैन ।

गत वैशाख २३ गते मात्र काठमाडौं, गोल्फुटारस्थित न्यु कर्णाली होस्टलमा दयनीय अवस्थामा राखिएका १२ बालबालिकालाई केन्द्रीय बालकल्याण समिति र महानगरीय प्रहरी प्रभागले उद्धार गरेको थियो । त्यसरी उद्धार भएका एक बालकका अभिभावक हुन्, पचालझरना गाउँपालिका–५, बाँझकोटका ठोसे नेपाली ।

चिलखायाका जयबहादुर विकले बुढानीलकण्ठ स्कुलमा पढाइदिने आश्वासन दिएपछि नेपालीले गत माघमा ७ वर्षीय छोरालाई काठमाडौं पठाएका थिए । उनले ऋण सापट गरेर १ लाख २५ हजार रुपैयाँ पनि दिए । ‘छोरो त दलालको हात पुगेछ, ठगी गर्नेको भलो नहोस्,’ उद्धार गरी ल्याइएका छोराको हविगत देखेपछि उनले भने, ‘छोराको यस्तो हालत होला भन्ने त सोचेकै थिइनँ ।’ विकले नेपालीजस्तै थुप्रै बालबच्चालाई बूढानीलकण्ठलगायत राम्रा स्कुलमा पढाउने भन्दै लगेका थिए । उनले १ लाख २५ हजारदेखि १ लाख ८० हजारसम्म असुली गरेको पीडित अभिभावकको भनाइ छ ।

कालिकोटका बालबालिका अवैध रूपमा बाहिरिनुको प्रमुख कारण हो, पालनपोषण र शिक्षादीक्षाको प्रलोभन । यस्तो प्रलोभन देखाएर ओसारपसार गर्ने गिरोहले बालबालिकालाई काठमाडौं, नेपालगन्ज, धनगढी, सुर्खेतलगायत सहरमा पुर्‍याउने गरेको छ । गाउँका हुनेखानेका छोराछोरी सहरमा पढेको देखेका अभिभावकले त्यही मनोकांक्षा पूरा गर्ने क्रममा बालबालिका गिरोहलाई सुम्पिने गरेको तत्कालीन जिल्ला बालकल्याण समितिका कार्यवाहक अध्यक्ष लालबहादुर मल्लले बताए । सशस्त्र द्वन्द्वका बेला लगिएका ६ जना बालबालिका त कहाँ छन् भन्नेबारे नै थाहा नभएको उनको भनाइ छ ।

कति छन् बालगृहमा
कालिकोट जिल्ला बालकल्याण समितिले गत आर्थिक वर्षसम्म ९० बालबालिकालाई बालगृहमा पठाउन सिफारिस गरेको छ । बालअधिकारकर्मी बाले विश्वकर्मा अहिले सिधै वडा कार्यालयले सिफारिस गरी पठाउने गरेकाले तथ्यांक भेटाउनै मुस्किल हुने गरेको बताउँछन् ।

बालगृहमा रहेका कालिकोटका बालबालिकाको यकिन तथ्यांक नभए पनि करिब ५ सय हुन सक्ने उनको भनाइ छ । ‘चार वर्षअघि जिल्लाका मान्म, दाहा, पाखा, छाप्रे, जुबिथा, गेला, सुकाटिया र भर्ता गाविसमा गरिएको सर्वेक्षणमा २ सय ८० बालबालिका जिल्लाबाहिरका बालगृहमा रहेको पाइएको थियो,’ उनले भने ।

धार्मिक स्वार्थ
चार वर्षअघि स्थानीय एक व्यक्तिले जुबिथा र खल्लाका १८ बालबालिकालाई काठमाडौंमा १० कक्षासम्म अंग्रेजी माध्यममा पढाइदिने भन्दै बाटाखर्चबापत ५० हजारदेखि १ लाखसम्म उठाएर लगे । उनीहरूलाई बालगृहमा राख्न साविक गाविस कार्यालयले अनाथको सिफारिस गरिदिएको थियो ।

काठमाडौं लगेपछि भने टुपी पालेर संस्कृतको श्लोक मात्र पढ्न लगाइयो । बालबालिका समस्यामा परेको थाहा पाएपछि केन्द्रीय बालकल्याण समितिमार्फत फिर्ता गरेर ल्याइयो । ‘त्यसरी संस्कृत मात्र पढाएर राख्नुको कारण के हो थाहा हुन सकेन,’ तिलागुफा नगरपालिका नागरिक समाजका अध्यक्ष विक्रमबहादुर शाहीले भने, ‘बालबालिकालाई बालगृहमा अत्यन्तै नाजुक अवस्थामा राखेको पाइएपछि फिर्ता ल्याइयो ।’

चार वर्षअघि नै कालिका, मुग्राहका २८ बालबालिकालाई भारतको क्रिश्चियन धर्मप्रचारक संस्थाले लैजाने क्रममा कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले फर्काएको थियो । प्रहरीका अनुसार गाउँकै एक क्रिश्चियन अगुवाले बालबालिकालाई निःशुल्क पढाइदिने प्रलोभन दिएपछि अभिभावकले कागजपत्र मिलाएर पठाएका थिए ।

कस्ता बालबालिका जोखिममा
आर्थिक रूपमा विपन्न, निरक्षर र जनचेतना कम भएका र अनाथ बालबालिकालाई संरक्षणका नाममा बालगृहमा पुर्‍याउने गरिएको छ । दलित समुदायका बालबालिका बढी जोखिममा देखिन्छन् । बालगृहमा पुर्‍याइने बालबालिका ५ देखि १३ वर्ष उमेर समूहका हुन्छन् ।

काठमाडौंमा सम्पर्क भएका केही टाठाबाठाले बालगृहमा बालबालिका लैजान्छन् । यसरी बालबालिका लैजाँदा मिलेमतोमा फर्जी कागजपत्र बनाइन्छ । बुबाआमा भएका बालबालिकालाई पनि नभएको प्रमाण बनाएर पठाउने गरेको पाइएको अधिकारकर्मी राजेश शर्माले बताए ।

उनका अनुसार तीन वर्षअघि काठमाडौंको एक प्रतिष्ठित बालगृहमा लगिएका १४ मध्ये ८ बालबालिकाका बुबाआमा भए पनि नभएको कागज गरिएको थियो ।

रोकथाम प्रयास
कालिकोटमा संरक्षण गर्नुपर्ने अभिभावकविहीन, अपांगता भएका र अति विपन्न परिवारका २३ जना बालबालिकालाई रास्कोट नगरपालिकाले ‘डे केयर सेन्टर’ खोलेर निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । नगरप्रमुख काशीचन्द्र बरालले नगरका ९ वटै वडाका बालबालिकालाई केन्द्रित गरे न्यौपानेवाडामा संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको बताए । सेभ द चिल्ड्रेनसहितका संघसंस्थाले यसमा सहयोग गरेको उनको भनाइ छ ।

त्यस्तै, सन् २०१५ यता सहयात्रा परियोजनाले नरहरिनाथ, सान्नीत्रिवेणी, तिलागुफा र शुभकालिकामा अवैध ओसारपसारको जोखिममा रहेका ३ हजार बालबालिकालाई सहयोग गरेको जनाएको छ । यस्ता सहयोगले बालबालिकाको अवैध ओसारपसार नियन्त्रणमा टेवा पुग्ने परियोजना संयोजक रामबहादुर रावतले बताए ।

पुनर्मिलनमा भावविभोर
केही समयअघि काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहबाट हुम्लाका १ सय २२ बालबालिकालाई उद्धार गरी अभिभावकको जिम्मा लगाइयो । उद्धार गरिएकामा ७७ बालक र ४५ बालिका रहेको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

असार ६ गते उद्धार गरी ल्याइएका बालबालिका र उनीहरूका अभिभावकको पुनर्मिलन भावविभोर देखिन्थ्यो । सिमकोट २ की जौमती बोहराले पनि आफ्ना छोराछोरीलाई राम्रो शिक्षादीक्षाका लागि काठमाडौं पठाए पनि दुःख पाएको बताइन् । ‘काठमाडौं गएपछि छोराछोरीले केके न गर्लान् भनेर पठाइयो,’ उनले भनिन्, ‘दुःख पाउन गएका रहेछन् ।’

अदानचुली गाउँपालिका, पाल्साका बालकुमार बोहराका ७ सन्तान छन् । उनले बालबच्चाको लालनपालन र शिक्षादीक्षाको बोझ कम होस् भनेरै २ छोरालाई गाउँकै एक भाइका साथमा काठमाडौं पठाएका थिए ।

‘उसले अवैध बालगृहमा बिजोग बनाएर राखेको रहेछ,’ छोरासँग पुनर्मिलनपछि उनले भने, ‘अहिले दुवै छोरालाई सिमकोटकै स्कुलमा हालेको छु ।’ अब घरकै सिस्नो र रोटी खुवाएर पढाउने उनले प्रण गरे ।

पछिल्लो समय जिल्ला बालकल्याण समितिबाट बालबालिकालाई बाहिर लान सिफारिस दिँदैन । स्थानीय तहले भने सिफारिस गरिरहेका छन् । सिमकोट गाउँपालिका २ का वडाध्यक्ष नर भण्डारीले आर्थिक अवस्था कमजोर भएका, पिछडिएका र संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि सिफारिस मागेपछि दिने गरिएको बताए ।

प्रकाशित : असार १४, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ईपीएसमा १२ हजार पास–‘स्वदेशमै आत्मनिर्भर बन्ने मन छ’

विद्या राई

काठमाडौँ — भाषा परीक्षामा उत्तीर्ण भएसँगै इटहरीका ३६ वर्षीय अमर राईलाई रोजगारीका लागि कोरिया जाने बाटो खुलेको छ । इटहरीकै एक इन्स्टिच्युटमा तीन महिना कोरियाली भाषा सिकेका उनले काठमाडौं आएर परीक्षा दिएका थिए ।

दुई पटकको प्रयासपछि लिखित परीक्षा पास गर्न सफल भएका हुन् । कतार, साउदीलगायत खाडी देश पुगिसकेका उनलाई स्वदेशमै आत्मनिर्भर बन्ने मन छ तर पटक–पटकको लगानी फसेकाले निराश भएका छन् ।

०५८ सालमा एसएलसी गरे । खोटाङ पुर्ख्यौली घर भएका उनी काठमाडौं, खाडी मुलुक हुँदै यतिबेला इटहरीमा संघर्षरत छन् । खाडी देश जाँदै/आउँदै कहिले गाडी, ट्र्याक्टर किनेर चलाए । गाईफार्म, कुखुरा फार्म सञ्चालन गरे । जग्गा किनबेच गरे । लगानी जहिल्यै डुब्यो । लगानीमा घाटा र ऋण तिर्नकै लागि कोरिया पलायन हुने तरखर गर्दै छन् । तीन छोरी र एक छोरालाई घरमा पत्नीको जिम्मा लगाएर ।

‘देशको हालत यस्तै छ, ‘सिस्टम’ छैन, बसेर केही गर्छु भन्दा घाटैघाटा,’ उनले भने, ‘मैले के गरिनँ तर सबै लगानी बालुवामा पानी खन्याएजस्तै भयो ।’ थप्छन्, ‘विदेशको दुःख, पीडा कति हुन्छ भन्ने मलाई सबै थाहा छ, रहर नभए पनि बाध्यता भएको छ ।’ लिखितमा पास गरे पनि सीप परीक्षण बाँकी छ । कृषिमा रुचि र अनुभव भएकाले ‘स्किल टेस्ट’ मा उत्तीर्ण हुनेमा आशावादी छन् ।
देशभित्र भविष्य नदेख्ने अमर मात्रै होइनन् ।

इलाम, नेपालटारकी २६ वर्षीया अञ्चला खिम्दुङ राई पनि बाटो तताउन खोज्दै छिन् । इलाममै एक इन्स्टिच्युटमा भाषा पढेर काठमाडौंबाट परीक्षा दिएकी उनले शुक्रबार बिहानै पास भएको थाहा पाइन् । कक्षा १२ सम्म पढेर गाउँमै बसिरहेकी उनलाई पहिलो प्रयासमै लिखित पास गरेकामा केही हौसला भने छ ।

‘वर्षभरिको मिहिनेत खेर गएन, अब सीप परीक्षण गर्नु छ,’ उनले भनिन् । ७ जनाको परिवारकी कान्छी सन्तान उनी कोरियामा रोजगारी पाउने सम्भावना बढेकामा खुसी छिन् । सँगसँगै घरपरिवार, आफन्त छाड्नुपर्ने चिन्ताले पनि सताउन थालेको छ । भन्छिन्, ‘अलिकति रहर, बढी चाहिँ बाध्यता । आफ्नै देशमा काम पाइने भए यति दुःख गरेर बिदेसिने रहर कसलाई हुन्छ ?’

वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीका अनुसार अमर र अञ्चलाजस्तै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको भाषा परीक्षामा उत्तीर्ण १२ हजार ९ जनालाई कोरिया जाने ढोका खुलेको छ जसमध्ये उत्पादनमूलक (उद्योग) समूहतर्फ ९ हजार १ सय ३३ र कृषितर्फ २ हजार ८ सय ७६ छन् । ईपीएस शाखाका अनुसार गत जेठ २५ र २६ मा काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्रमा भाषा परीक्षा लिइएको थियो ।

९२ हजार ३ सय ५६ युवायुवतीले परीक्षाका लागि आवेदन फारम भरेकामा ८४ हजार ३ सय ८ जना परीक्षामा सामेल थिए । पास भएका सबैले कोरिया जान पाउनेछैनन् । सीप परीक्षणमा छानिएका १० हजार ५० जना मात्रै कोरिया जान सक्ने पराजुली बताउँछन् । सीप परीक्षणको मिति तोकिइसकेको छैन ।

लिखित परीक्षाको नतिजा भने ईपीएस शाखाको वेबसाइटमा अपडेट भइसकेको छ । परीक्षार्थीले लिखित परीक्षा ४० पूर्णांकको लेखेका थिए । कृषितर्फ ३७ ल्याउने र उत्पादनमूलक क्षेत्रतर्फ ३८ ल्याउने पास भएका छन् । एक पटक पास गरेको नतिजा दुई वर्षका लागि मात्रै मान्य हुन्छ ।

कोरिया जाने सीमित कोटाका लागि भाषा परीक्षा दिनेहरू बर्सेनि बढिरहेका छन् । कोरियामा विदेशी कामदार ल्याउने १६ देशमध्ये कामदार संख्याका आधारमा कम्बोडियापछि नेपाल दोस्रोमा पर्छ । राजनीतिक अस्थिरता, सरकारले घोषणा गरेका रोजगार कार्यक्रम पनि झारा टार्ने खालका छन्, जसले सामान्य परिवार धान्नै मुस्किल भएकाले कोरिया रोज्ने गरेको बुंगल, देउलीकोट बझाङका २३ वर्षीय जनक विष्टले बताए ।

प्रकाशित : असार १४, २०७६ ०७:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×