कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नाडी छाम्दै तीन नेता

अघिल्लो शुक्रबार प्रधानमन्त्री ओलीले ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टीको दस्ताबेजमा राख्न प्रस्ताव गरेपछि अध्यक्ष दाहाल झस्किए । त्यही प्रकरणको बाछिटाले आन्तरिक एकता खल्बलिने शंका बढेपछि सातायता तीन मुख्य नेताबीच छुट्टाछुट्टै संवाद चलिरहेको छ । 
दुर्गा खनाल

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफनो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटार जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे । 

नाडी छाम्दै तीन नेता

नेता नेपालले बुधबार प्रधानमन्त्री ओली र दाहालबीच भएको पछिल्लो कुराकानीको ब्रिफिङ लिए । प्रधानमन्त्री ओलीले पार्टी नेताहरूलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि नेपाल शुक्रबार बालुवाटार जानुअघि दाहालसँगको कुराकानीको ‘स्पिरिट’ बुझ्न खुमलटार पुगेका थिए ।


एक दिनअघि (बुधबार) ओलीले दाहालसँग ‘धेरै वादविवाद नगरौं, मिलेर जाऔं’ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपालसँग पनि राखेका छन् । ओलीको मिलेर जाऔं भन्ने प्रस्ताव नेता नेपालले अस्वीकार त गरेनन् तर मिल्ने आधार, विधि, पद्धति र प्रक्रियाबारे उल्टै प्रश्न तेर्स्याएका छन् । ‘तपाईं र म व्यक्तिको कुरा होइन, हामी कुन पद्धतिमा जाने हो, विधिअनुसार चल्ने कि नचल्ने भन्ने मुख्य कुरा हो, यसमा मिल्नुपर्‍यो,’ नेता नेपालले ओलीलाई शुक्रबारको भेटमा यस्तो जवाफ दिएको स्रोतले जनाएको छ ।


प्रधानमन्त्री ओलीमाथि नेता नेपालले विगतदेखि नै पार्टीलाई पद्धतिअनुसार नचलाएको र सरकारमा पनि मानोमानी ढंगले अघि बढेको आरोप लगाउँदै आएका छन् । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउने नेतामा अहिले दाहाल पनि थपिएका छन् । त्यसैले विगतमा ओलीसँग मात्र बढी निकट देखिने दाहाल अहिले नेपाल र ओलीलाई समदूरीमा राखेर हिँडिरहेका छन् । अहिले बालुवाटारमा ओलीसँग जति नै बाक्लो भेटघाट नेपाल र दाहालबीच पनि चलिरहेको छ । यसैसाता दाहाल र नेपालबीच कहिले खुमलटार त कहिले नयाँ बानेश्वरको अर्याल होटलमा लामा संवाद भएका छन् ।


ओली ट्र्याकबाहिर हिँड्न खोजेको वा आफूहरूलाई कुनै पनि विन्दुमा कर्नर गर्ने कोसिसमा रहेको बुझाइ अहिले नेपालमा मात्र होइन, दाहालमा पनि बढ्न थालेको छ । यो कुरा दाहालले आफूनिकट नेताहरूलाई बोलाएर गत आइतबार खुमलटारमा ब्रिफिङ गरेका थिए । अघिल्लो शुक्रबार प्रधानमन्त्री ओलीले ‘जनताको बुहदलीय जनवाद’ लाई पार्टीको दस्ताबेजमा राख्ने प्रस्ताव गरेपछि दाहाल झस्किए । त्यही प्रकरणको बाछिटाले आन्तरिक एकता खल्बलिने शंका बढेपछि सातायता तीन मुख्य नेताबीच छुट्टाछुट्टै संवाद चलिरहेको छ ।


गत शनिबार पार्टीको सचिवालय बैठकको तयारी सिलसिलामा अघिल्लो दिन शुक्रबार असार ६ गते प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा जनताको बहुलदीय जनवादलाई राजनीतिक दस्ताबेजमा राखेर जाऔं भन्ने प्रस्ताव गरेका थिए, जुन प्रस्ताव पार्टी एकता क्रममा भएको सहमतिविपरीत आएको थियो । उक्त प्रस्ताव आएपछि अध्यक्ष दाहाल रुष्ट बने । त्यही दिन साँझ ७ बजे ओलीले नेता नेपाललाई पनि बालुवाटारमा बोलाएर ‘जबज’ लेखेर जाने प्रस्ताव गरे ।


ओलीको यो अनपेक्षित प्रस्ताव नेता नेपाललाई स्वीकार्य भएन किनभने पार्टीको राजनीतिक प्रतिवेदन तयार गर्ने टोलीको संयोजक उनी नै थिए । दुई अध्यक्षसँगको परामर्शमै नेता नेपाल नेतृत्वको कार्यदलले पार्टी एकताको सहमतिअनुसार तत्कालका लागि ‘जनताको जनवाद’ भन्ने शब्द राख्ने सहमति गरेर प्रतिवेदन हस्तान्तरण गरेको थियो । ‘जनताको बहुदलीय जनवाद’ प्रति नेता नेपालको असहमति हैन । एकताको सहमतिभन्दा विपरीत कुरा गर्दा नैतिक संकटमा पर्ने भएपछि नेता नेपालले गत शुक्रबार साँझको भेटमा ओलीको प्रस्ताव अस्वीकार गरिदिए ।


ओलीले यस्तो प्रस्ताव गर्नुका पछाडि नेपाललगायत नेता दाहालको क्याम्पमा पुगेर आफूलाई अप्ठेरो नपारुन् भन्ने उद्देश्यले आएको थियो । ‘जनताको बहुदलीय जनवाद’ भनेपछि नेता नेपालसहित पूर्वएमालेको ठूलो पंक्ति दाहालको क्याम्पमा जानै नसक्ने बुझाइ ओलीको थियो । नेता नेपालले ‘महाधिवेशनमा जबज भनेरै जाऔँला, अहिलेचाहिँ सहमतिअनुसारकै दस्ताबेज बनाऔँ’ भनेपछि ओली अप्ठेरामा परे । त्यसैले गत शनिबार बोलाएको सचिवालय बैठकमा ‘राजनीतिक दस्ताबेज हामी अध्ययन गर्दै छौं’ भनेर ओलीले छलफलमै राखेनन्, युरोप भ्रमणको ब्रिफिङमा समय बिताए ।


गत शुक्रबार भएको ओलीसँगको संवादपछि अध्यक्ष दाहालले गत आइतबार आफूनिकट नेताहरूलाई बोलाएर छलफल गरे । त्यहाँ सहमतिविपरीत हुने खालका कुनै पनि एजेन्डामा सहमत हुन नहुने सन्देश पूर्वमाओवादीका नेताहरूले दाहाललाई दिए । त्यसपछि चितवन पुगेर अध्यक्ष दाहालले गत सोमबार ‘सहमतिबाट दायाँबायाँ गरे दुर्भाग्यपूर्ण’ हुने अभिव्यक्ति दिए ।


यही सिलसिला चलिरहँदा राजनीतिक वृत्तमा यो साता एउटा हल्ला चल्यो, ‘केपी ओलीले बालुवाटारमा बोलाएर दुई नेता नेपाल र झलनाथ खनाललाई आफूलाई सहयोग नगर्ने हो भने जुनसुकै खालको कदम पनि चाल्ने, नयाँ चुनावमा जानेसम्म चेतावनी दिए ।’

त्यस्तो हल्लालाई मलजल गर्‍यो प्रधानमन्त्रीकै परराष्ट्र सल्लाहकार रहेका नेता राजन भट्टराईले गरेको एउटा टवीटले ।


भट्टराईले लेखे, ‘बढ्दो जनअपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई सक्दा व्यवस्था उल्टाउने, नभए सरकारका विरुद्ध प्रयोग गर्ने । ककसलाई के कसो गरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र–बाहिरका शक्तिहरू सक्रिय रहेको अवस्था । इतिहास दोहोर्‍याउने कुचेष्टा ।’ पार्टीभित्र र बाहिरबाट समेत आलोचना बढ्न थालेपछि ओलीमा रहेको खटपटीको प्रतिबिम्ब भट्टराईको ट्वीटले देखायो ।


तर बालुवाटारमा बोलाएर नेपाल र खनाललाई ओलीले चर्को कुरा गरे भन्ने हल्ला मात्रै भएको नेता खनालले बताए । ओलीले बोलाएर कुरा गरेको भनिएका वरिष्ठ नेता खनालले आफूसँग एकल वा नेता नेपालसँग ओलीले भेट नगरेको बताए । ‘निकै लामो समय उहाँसँग मेरो सिंगल वा माधव नेपालजीसहित मात्र बसेर कुराकानी भएको छैन,’ खनालले भने, ‘बाहिर के कुरा चल्छन्, त्यसमा सत्यता छैन । खनालसहितलाई थर्काएको भन्ने कुरा हल्ला भए पनि यो एक साता ओलीले अरू नेतासँग ‘सिंगल–सिंगल’ कुराकानी गरेको चाहिँ यथार्थ हो । उनले बामदेव गौतम, नारायणकाजीसँग पनि कुराकानी गरेका छन् ।


पछिल्लो विवादले निकै चर्को रूप लिन थालेपछि गत बुधबार दाहालसँगको भेटमा चाहिँ ओली केही नरम देखिएको स्रोतले बताएका छन् । प्रधानमन्त्री ओलीसँग बुधबार भेटेपछि बिहीबार खुमलटारमा पूर्वमाओवादी धारका केही नेतासँग दाहालले कुराकानी गरेका थिए । उक्त कुराकानी गर्ने मध्येका एक नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलका अनुसार अब स्थिति केही सहज बन्न थालेको छ ।


‘धेरै मनमुटाव नगरौं, विगतका सहमतिलाई पछ्याउँदै मिलेरै अघि बढौं भन्नेमा दुई नेता पुग्नुभएको छ,’ स्थायी समिति सदस्य पौडेलले भने, ‘सहमति कार्यान्वयन नहुने हो कि सबै बिग्रिने हो कि भन्ने चिन्ता थियो, त्यो अहिले टरेको जस्तो छ ।’


स्रोतअनुसार यो एक साताको घटनाक्रमले प्रधानमन्त्री ओली अहिले तत्काल दस्तबेजमा जनताको बहुदलीय जनवाद राखिहाल्ने अडानबाट केही ब्याक भएका छन् तर कुनै पनि बेला यो विषय उठ्न सक्छ । प्रधानमन्त्री अहिले सरकार पार्टीका काममाथि समीक्षा गर्दै अघि बढ्नेतर्फ केन्द्रित छन् ।


बजेट पारित भइसकेपछि सरकारको कामलाई पनि नयाँ ढंगले अघि बढाउन मन्त्रिपरिषद् हेरफेरसम्म गर्ने उनको योजना छ तर मन्त्रिपरिषद् हेरफेर भइहाल्ने भन्ने अभिव्यक्ति पुष्पकमल दाहालले दिएपछि भने ओलीले यो योजनालाई केही लम्ब्याउन सक्नेछन् किनभने भित्र भएको तयारी बाहिर दाहालले भन्दै हिँडेको कुरालाई ओलीले रुचाएका छैनन् ।

प्रकाशित : असार १४, २०७६ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?