अधिकांश नेपाली कलाकार कर तिर्दैनन् !

रामजी ज्ञवाली

काठमाडौँ — कलाकारहरुको सधैं एउटै गुनासो छ, राज्यले हामीलाई हेरेन । नेपाली चलचित्र र गीत–संगीत क्षेत्रमा क्रियाशिल कलाकारहरुले राज्यबाट आफूहरु सधैं उपेक्षामा पर्दै आएको बताउँदै आएका छन् । यस्तो किसिमको गुनासो गर्दै आएका तिनै कलाकारहरु स्वयं भने राज्यप्रति उत्तरदायी छैनन् । लामो समयको अध्ययनपछि नेपालका धेरै कलाकारहरुले कर छली गरेको भेटिएको हो ।

अधिकांश नेपाली कलाकार कर तिर्दैनन् !

नेपालका धेरै कलाकार करको विषयमा अनविज्ञ छन् । केहि कलाकारहरुले व्यक्तीगत प्यान नम्बर लिएर पनि कर तिरेका छैनन्, कतिपयले एक–दुई पटक तिरेपनि नियमित रुपमा कारोबार दाखिला भने गराएको देखिँदैन ।


लाचार कलाकार

सर्वाधिक धेरै म्युजिक भिडियो निर्देशन तथा अभिनय गर्ने शंकर बि.सी कमाईको मामिलामा म्युजिक क्षेत्रका धेरैलाई पछि पार्छन् । तर अचम्मको कुरा, मासिक लाखौं कमाई गर्ने उनै बिसीले अहिलेसम्म व्यक्तीगत प्यान नम्बर लिएका छैनन् ।


किन नलिएको ?


‘राज्यलाई आयकर बुझाउनका लागी व्यक्तिगत प्यान नम्वर लिनुपर्छ भन्ने थाहा छ, तर अहिलेसम्म लिएको छैन,’ उनले भने ।


उनलाई कर कार्यालयबाट धेरैपटक सोधपुछ समेत भएको छ । अधिकांस समय म्युजिक भिडियोमा व्यस्त उनले अन्य समय कहिले स्टेज कार्यक्रम, कहिले विदेश घुमघाम गरेर समय बिताउने गरेका छन् । तर एकदिन प्यान नम्बर लिनका लागी समय छुट्टाउन भने सकेका छैनन् ।

उनि भन्छन्, ‘कमजोरी मेरै हो । धेरै साथिभाईहरुले नम्बर लिएका छैनन् । म मात्रै के जानु भनेर नगएको हो ।’


यस्तै मोडलिङ क्षेत्रमा व्यस्त महेन्द्र गौतमको भनाई पनि समान छ । लिनुपर्ने थाहा भएपनि अहिलेसम्म नलिएको उनले बताए ।


यी त उदाहरण मात्रै हुन् । नेपाली कला क्षेत्रमा यस्ता कलाकार धेरै छन् ।


सधैं विभिन्न किसिमको आन्दोलन, माग र सरकारलाई सधैंजसो आफू अनुकुल बनाउन खोज्ने कलाकारहरु करको मामिलामा भने बहाना बनाएर पन्छिने गर्छन् । वार्षिक करोडभन्दा धेरै आम्दानी गर्ने कलाकार नेपालमा दर्जनौं छन् । दैनिक लाखसम्म आम्दानी गर्ने कलाकारहरुको लिस्ट पनि लामै छ । यद्यपी, नियमित कर बुझाउने कलाकार भेट्टाउनै मुस्किल पर्छ । सानदार कमाई गरेका तिनै कलाकारहरुलाई करको विषयमा धारणा माग्दा उल्टै सरकारलाई दोष दिन्छन् ।


उनिहरु भन्छन्, ‘राज्यले हामीहरुको भविष्यप्रति कति उत्तरदायी छ र हामी सरकारलाई कर बुझाउनु ?’


कति कमाउनेले कति तिर्नुपर्छ ?

केहि समय अघि सरकारले व्यक्तिगत आयकर संकलनमा ३० प्रतिशतले वृद्धि गरेको छ । चालु आर्थिक वर्षको बजेटले आयकरको दर परिवर्तन गरेको छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ बजेटमार्फत आयकरको दरमा हेरफेर गरेको थियो । आयकरमा १० प्रतिशत, २० प्रतिशत र ३० प्रतिशत गरी तीनवटा स्ल्याव निर्धारण गरेको छ ।


वार्षिक साढे तीन देखि ४ लाख रुपैयाँसम्म कमाउनेले सुरुको साढे तीनलाखसम्म १ प्रतिशत कर र बाँकीका लागि १० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । यसअघि १५ प्रतिशत थियो । वार्षिक ६ लाखसम्म आम्दानी गर्नेले २० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ । २० लाखसम्म आम्दानी गर्नेले ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ । २० लाखभन्दा बढी कर योग्य आयमा थप २० प्रतिशत अतिरिक्त कर लगाइने व्यवस्था पनि छ ।


बेमतलवी राजस्व कार्यालय

मुलुकको वित्त नीतिको प्रमुख उपकरण कर–राजस्व अन्तर्गत आन्तरिक राजस्व परिचालनलाई महत्वपूर्ण मानिदै आएको छ । आन्तरिक राजस्व संकलनमा सरकारले सधैं कडाई गर्ने बताए पनि कलाकारहरुको विषयमा भने कहिल्यै कडाई गर्न सकेको छैन । कलाकारहरुले नेपाल भित्र र बाहिरबाट वार्षिक करोडौं आम्दानी गर्दै आएका छन् । यो कलाकारले यति लाख पारिश्रमिक बुझ्यो, यो कलाकारको यति डिमाण्ड गर्‍यो जस्ता समाचार दैनिक रुपमा मिडियामा सार्वजनिक भएपनि ति कलाकारले आय कर बुझाउँछन की बुझाउँदैनन् भन्ने खबर खासै आउने गरेको छैन । कार्यालय समेत यस विषयमा निकै उदार हुने गरेको छ ।


सामान्य म्युजिक भिडियो खेल्ने कलाकारले समेत दिनको १० हजारसम्म कमाई गरेका छन् । महिनामा कम्तीमा २ लाखसम्म कमाएका मोडलहरु धेरै छन् । नियमित लाखौं आम्दानी गर्ने नेपालमा दर्जनौं कलाकार भएपनि उनिहरुले कर बुझाउँछन् या बुझाउंदैनन् भन्ने विषयमा कार्यालयले अध्ययन गरेको छैन ।


नेपाली चलचित्र क्षेत्र र गीतसंगीत क्षेत्रमा वार्षिक करोडौं कर छलि भइरहेको विषयमा कार्यालय बेखबर छ ।


आन्तरिक राजस्व कार्यालय बबरमहलका प्रमुख कर अधिकृत हरीप्रसाद तिमिल्सिना भन्छन्, ‘धेरै कलाकारहरुले कर बुझाएका छैनन् भन्ने विषय हामीहरुलाई थाहा छ, तर बुझाउनुपर्छ भन्ने उहाँहरुले पनि बुझ्नुपर्छ नि ।’


उनले केहि कलाकारहरुले व्यक्तीगत प्यान नम्बर लिएपनि नियमित रुपमा कर नबुझाउने गरेको बताए ।


कमाई करोडौं, कर तिर्न भने करकर

नेपालका अभिनेता, अभिनेत्री, गायक–गायिका, संगीतकार, कोरियोग्राफर, सिनेम्याटोग्राफर, प्रोडक्शन डिजाईनर, सम्पादकलगायत अहिले महंगा प्राविधिक मानिनेहरु पनि व्यक्तीगत प्यानको विषयमा अनविज्ञ छन् । तर, यिनै अनविज्ञ व्यक्तिहरुको कमाई भने दिनकै लाखभन्दा माथी हुने गरेको छ । वार्षिक करोडौं रकम कमाउनेहरुलाई कर तिर्ने चासो किन छैन ? कर छलि गरेका उनिहरुले टन्न बैंक ब्यालेन्स, गाडी, घर जोडेका छन् । तर, कर बुझाउने मामिलामा भने उनिहरु अग्रसरता देखाएका छैनन् ।


नेपालका सर्वाधिक महंगा अभिनेता अनमोल केसीदेखि सर्वाधिक महंगीगायिका विष्णु माझीसम्मले कर तिर्ने गरेका छैनन् । केहि समयअघि अनमोलसँग भएको कुराकानीमा व्यक्तिगत प्यानको विषयमा आफू अनविज्ञ रहेको बताए ।


नेपालकी सबैभन्दा धेरै महंगी गायिका विष्णु माझीको नामबाट कुनैपनि कारोबार हुँदैन । उनको कारोबार सबै श्रीमान् सुन्दरमणी अधिकारीले गर्ने गरेका छन् । एउटा गीतमा स्वर दिएवापत विष्णु माझीलाई अहिले १ लाख रुपैयाँ बुझाउनुपर्छ । यो हिसाबमा माझीले महिनामा थोरैमा १५ लाख कमाई गर्दै आएकी छिन् । यस विषयमा विष्णु माझी कुनैपनि तेस्रो व्यक्तीसँग सम्पर्क नभएकाले बुझ्न सकिएन भने माझी जस्तै सुन्दरमणी समेत लुकेर हिँड्ने गरेका छन् । उनको न फोन उठ्छ, न कसैको सम्पर्कमा आउँछन् ।


माझी निकटका धेरै कलाकार भन्छन्, ‘कसैको सम्पर्कमै नहुने भएपनि कसरी र किन कर तिर्नु ?’ तर उनका नजिकका सहकर्मी दाबीका साथ भन्छन्, विष्णु माझीले अहिलेसम्म करोडौं कमाएकी छन्, तर कर बुझाएको कल्पना पनि गर्न सकिँदैन ।’


अभिनेता प्रदीप खड्काले एक चलचित्रवापत ४० लाखसम्म बुझेका खबर निकै आउने गरेको छ । तर, उनले आयकर नतिरेको स्वीकार गरे । ‘मैले व्यक्तीगत आयकर बुझाएको त छैन,’ उनले भने, ‘जुन कम्पनीसँग काम गरिएको हुन्छ उसैले कटाएर दिएको हुन्छ, सोहि कारण मैले व्यक्तीगत प्यान नम्बर नलिएको हो ।’ आफूले व्यक्तीगत प्यान नम्बर लिने सोच बनाइरहेको तर्क उनले गरे ।


स्टेजका 'बादशाह' मानिएका चर्चित गायक प्रमोद खरेलले कलाकारबाट कर उठाउनु अघि उनिहरुको समस्या बुझ्न सरकारलाई सुझाव दिन्छन् । ‘गायक–गायीकाले कसरी कमाएका छन् ? आयश्रोत के–के छ ? विदेश वा नेपालमा स्टेज कार्यक्रममा जाँदा कस्तो दुःख पाउँछन्, कसरी स्टेजसम्म पुग्छन् भन्ने सरकारले सोचेको छ ?’ उनले भने, ‘कार्यक्रममा हिँड्न छोडेको भोलीबाट औषधि खाने पैसा समेत हुँदैन । कलाकारको भविष्यको ग्यारेन्टी होस्, कर बुझाउन तयार छौं ।’

उनले आफूले भने कर बुझाएको/नबुझाएको विषयमा केहि बोल्न मानेनन् ।


नेपाली चलचित्रका व्यस्त कलाकारको सूचिमा दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, पुष्प खड्का, आँचल शर्मा, साम्राज्ञीराज्यलक्ष्मी शाह, वीपीन कार्की, नम्रता श्रेष्ठ लगायत धेरै कलाकारहरु पर्छन् । उनिहरुजस्ता दर्जनौं व्यस्त कलाकारहरुले कर बुझाएका छन् कि छैनन् ? धेरैले गरिरहेको प्रश्न हो यो । तर, राजस्व कार्यालयले भने कर तिर्ने मामिलामा कलाकारहरु आफैं लाचार बन्ने गरेको बताउँछ ।


गीतसंगीत क्षेत्रमा सक्रिय अधिकांस गायक–गायिकाहरुले समेत करको विषयमा अनविज्ञ छन् । गायक शिव परियारले भने आफूले नियमित रुपमा कर बुझाउँदै आएको बताए । उनले भने, ‘कलाकारहरुले नियमित रुपमा कर बुझाउन सकियो भने भोली आफू पनि सरकारसँग लड्न सकिन्छ । मैले नियमित रुपमा बुझाउने गरेको छु । सरकारले कुनैपनि बेला बुझ्न खोज्यो भने देखाउन सक्छु ।’


नाम मात्रैका प्यान नम्बर

व्यक्तिगत प्याननम्बर लिने कलाकारमा रेखा थापा, शुभेच्छा थापा, रेजिना उप्रेती, झरना थापा, गरिमा पन्त, उषा पौडेल, ऋचा घिमिरे, अरुणिमा लम्साल, सञ्चिता लुइँटेल, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, आर्यन सिग्देल, रमित ढुंगाना, रमेश बुढाथोकी, देशभक्त खनाल, वीरेन श्रेष्ठलगायत रहेको बुझिएको छ । यस्तै, गायक रामकृण ढकाल, संगीतकार आलोक श्री, हास्यकलाकार किरण केसी, शिवहरि पौडेल, दीपकराज गिरी, सीताराम कट्टेल, केदार घिमिरे, राजेश पायल राईलगायतका कलाकारले पनि व्यक्तीगत प्याननम्बर लिएका छन् ।


व्यक्तिगत प्यान लिएपछि आम्दानी विवरण कार्यालयलाई बुझाउनुपर्छ । कार्यालयले काट्न मिल्ने र नमिल्ने आम्दानी छुट्याएर आयकर काट्छ र आर्थिक वर्षको समाप्तीसँगै आयकर तिरेको प्रमाणपत्र दिन्छ । प्यान लिएको भनेर उल्लेख भएकाहरुमध्ये कतिले कहिलेसम्मको कर तिरेका छन् वा छैनन् ? कति रकम बुझाएका छन् ? कर अधिकारीहरुले खुलाउन मानेनन् ।


कर कार्यालय बबरमहलका प्रमुख कर अधिकृत हरीप्रसाद तिमिल्सिना भन्छन्, ‘थोरै कलाकारले प्यान नम्बर लिएका छन् भन्ने कुरा खुलाउन मिलेपनि प्यान नम्बर नहुँदासम्म को–कसले प्यान नम्बर लिएको छ–छैन थाहा हुँदैन । प्यान नम्बर लिएकाहरुले पनि नियमित रुपमा नबुझाएको बुझिन आएको छ ।’


यतापनि छली

अभिनेता अभिनेत्रीहरुले आफूले काम गर्ने कम्पनी मार्फत आयकर बुझाउने गरेको दाबी गर्ने गरेका छन् । उनीहरुले आफूले काम गर्ने कम्पनीले आयकर तिरिदिएको दाबी गर्छन् । यद्यपी, कार्यालय स्रोतका अनुसार कुनै पनि कम्पनीले कलाकारको आयकर तिरेका भने छैनन् ।


एक चलचित्रका निर्माताले नाम नखुलाउने सर्तमा भने, ‘केही कलाकारले पाउने पारिश्रमिक धेरै हुन्छ । तर अनुबन्धन पत्रमा कम लेखिन्छ । आन्तरिक सहमतिमा कागज गरेर काम गर्ने–गराउने क्रम बढ्दो छ ।’


नेपालमा दर्जनौं कलाकारले विदेशमा केहि दिनदेखी महिनौंसम्म कार्यक्रम गरेर लाखौं ल्याउने गरेका छन् । उनिहरुले त्यसरी ल्याउने आम्दानीको स्रोत स्पष्ट नभए कमाएको रकम स्वतः ‘ब्ल्याकमनी’ हुनसक्छ । यद्यपी कर छल्ने र आम्दानी लुकाउनेहरूको छानबिन कसले गर्ने ?


अभिनेता निर्मल शर्माले आन्तरिक राजस्व कार्यालयकै बे–वास्ताका कारण कलाकारहरुबाट करमा चुहावट भैरहेको बताउँछन् । ‘यो त लगभग सबैलाई थाहा भएकै कुरा हो नी,’ उनले थपे, ‘पाउने रेट एउटा, सम्झौता अर्कै गरेर आय कर नबुझाउने, चलचित्रको घाटा देखाएर कर मिलान गर्ने जुन चलन छ, यस विषयमा अनुसन्धान गर्नुपर्छ ।’


उनले नियमित रुपमा आफूले आयकर बुझाउँदै आएको बताउँदै सम्पूर्ण कलाकारलाई करको दायरामा ल्याउन राजस्व कार्यालयलाई माग गरे । ‘यदि मैले कर नबुझाएको भए कसैले केहि नभन्ने रहेछ नि ?’ उनले प्रश्न गरे, ‘अहिलेसम्म कसैले बुझेको छैन, मैले राज्यप्रतिको दायित्ववोध भएकाले कर बुझाउने गरेको हुँ । राज्यले एउटा छुट्टै संयन्त्र बनाएर कला क्षेत्रमा को–कसले कर बुझाएको छ/छैन कडाई गर्नुपर्छ ।’


२० करोडभन्दा बढि उठ्न सक्ने अनुमान

नेपालका अधिकांस कलाकारलाई करको दायरामा ल्याउन सकियो भने वार्षिक २० करोड बढी राजस्व उठ्ने अनुमान छ । यो कुरा आन्तरिक राजस्व कार्यालयलाई पनि थाहा छ ।


कलाकारहरुको आम्दानी र बुझाउनुपर्ने करको हिसाब किताब गर्दा कम्तीमा २० करोड कर पूर्ति नभएको देखिन्छ । तर, कलाकारहरुलाई तुरुन्तै यो दायरामा ल्याउन भने निकै गाह्रो छ ।


नेपाली चलचित्र क्षेत्रका एक हस्ति नाम उल्लेख नगर्ने सर्तमा भन्छन्, ‘राजस्व कार्यालयले आफैं तात्न सकेन भने यो सम्भव छैन ।’


आन्तरिक राजस्व विभागका सूचना अधिकारी यज्ञराज ढुंगेलले यस विषयमा कार्यालयले कदम उठाउनुपर्ने बताउँछन् । ‘यो विषय एकदमै महत्वपूर्ण हो,’ उनले भने, ‘पहिलो कुरा त उहाँहरु आफैं करको दायरामा आउनुपर्ने हो । यदि भएन भने कार्यालय आफैं पनि तात्नुपर्छ । केहि अध्ययन गरेर यस विषयमा कदम चाल्नैपर्छ ।’


आन्तरिक राजस्व कार्यालयका सहायक सूचना अधिकृत दुर्गादत्त भण्डारीले कलाकारहरुले व्यक्तिगत प्यान नम्बर लिएर अथवा कुनै कम्पनीमार्फत बुझाएका पनि हुनसक्ने भएपनि आधिकारिक जानकारी आफूहरुले राख्न नसकेको स्विकारे ।


आफूहरुले गम्भिर रुपमा कुन–कुन कलाकारले कर बुझाएका छन्, छैनन भन्ने विषयमा खासै अध्ययन नगरेको उनले बताए । भने, ‘यो गम्भिर विषय हो, कला क्षेत्रका विभिन्न स्थानमा काम गर्ने कलाकारहरु सबैलाई करको दायरामा ल्याउनैपर्छ ।’


करको दायरामा आउनुपर्छ : बोर्ड अध्यक्ष

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले चलचित्रकर्मीहरुबाट भैरहेको कर छलीको विषयमा आन्तरिक राजस्वकार्यालयले कदम उठायो भने आफूले सहयोग गर्ने बताए ।


‘अहिले कलाकारहरुको पारिश्रमिकका खबर जति आइरहेका छन् त्यसअनुसार आयकर बुझाएका छन् या छैनन् ? त्यो हेर्नुपर्छ,’ उनले भने, ‘चलचित्रको आम्दानी यति–उति भनेर समाचार आउने गरेका छन्, त्यसअनुसार राजस्व बुझाएका छन् या छैनन ? यस्ता विषयमा अनुसन्धान हुन जरुरी छ ।’


चलचित्रको व्यापारबाट भैरहेको कर चुहावट चाँडै नियन्त्रणमा आउने उनको अनुमान छ । ‘हामी चाँडै बक्सअफिस पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदै छौं । त्यसो भयो भने धेरै हदसम्म कर चुहावट रोकिन्छ,’ उनले भने, ‘बाँकी आयकरको विषयमा आन्तरिक राजस्व कार्यालयले अनुसन्धान गर्नुपर्छ ।’


प्रकाशित : असार १२, २०७६ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?