कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम : आयोग

सुरज कुँवर.

काठमाडौँ — तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाको मुख्य कारण ‘खराब मौसम’ रहेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ । आयोगका संयोजक यज्ञप्रसाद गौतमले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको मुख्य कारक एकाएक बिग्रिएको मौसम भएको उल्लेख छ ।

मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम : आयोग

‘हामीले गरेको अध्ययनमा दुर्घटनाको मुख्य कारण खराब मौसम नै देखियो,’ पूर्वपर्यटन सचिवसमेत रहेका गौतमले कान्तिपुरसँग भने । गत फागुन १५ गते पर्यटनमन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्ने सिस्नेभीरमा दुर्घटना भएको थियो ।


दुर्घटनामा मन्त्री अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, पर्यटनमन्त्रीका अंगरक्षक सेनाका जमदार अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।


जाँचबुझ आयोगका संयोजक गौतमले घटनास्थलको भिडियो, तस्बिर विश्लेषण, स्थानीय, प्रहरी, घाँसी, दाउरे, मन्दिरका जोगी, पुजारीसँग अन्तर्क्रियाका आधारमा यस्तो निष्कर्षमा पुगेको बताए । ‘यो दुर्घटनाबारे विभिन्न अफवाह पनि सुनिए तर मुख्य कारण त्यसबेलाको खराब मौसम हो,’ संयोजक गौतमले भने, ‘हामीले दुर्घटनामा परेको हेलिकप्टर उत्पादन गर्ने फ्रान्सेली कम्पनी एयरबस, इन्जिन र ब्लेड उत्पादन गर्ने कम्पनीका तीन जना प्रतिनिधिसँग पनि जानकारी लिएका थियौं ।’ घटनास्थलमा स्वास्थ्यका कारण जान नसकेको बताउँदै गौतमले ताप्लेजुङ विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरलाई काठमाडौं बोलाएर अन्तर्वार्ता गरेको बताए ।


घटनास्थलमा छानबिन समितिका संयोजक नगए पनि आयोगका अन्य सदस्य घटनास्थल पुगेर अध्ययन गरेको आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताए । त्यसबेला नेपाल आएका तीन विदेशी विज्ञले पनि पाथीभरा पुग्न चाहेको तर मौसमका कारण जान नसकेको गौतमले जनाए ।


हेलिकप्टरमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर नभएकाले आयोगले घटनास्थल आसपासको भौगोलिक अवस्था, फ्रत्यक्षदर्शी र सरोकारवाला विज्ञसँग अन्तर्त्रिया गरेर निष्कर्ष निकालेको हो । आयोगले उक्त हेलिकप्टरका पाइलटसँग २ सय ५० घण्टा उडेको अनुभव भएको तर पाथीभरामा उनको पहिलो उडान रहेको भनेको छ । ‘पाइलटमा कुनै समस्या थिएन तर सेल्फ इन्करेजमेन्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ,’ गौतमले भने, ‘आफ्नै कम्पनीको मालिक र तालुक मन्त्रालयको मन्त्री भएकाले पाइलटले केही प्रेसर लिएको हुन सक्छ ।’


३७ सय मिटर उचाइको पाथीभराबाट हेलिकप्टर फर्किने क्रममा तौल सन्तुलन (लोड क्यालकुलेसन) नमिल्नु पनि दुर्घटनाको सहायक कारण मानिएको छ । ‘उचाईबाट टेकअफ गर्दा इन्धनको भार र यात्रुहरूको सन्तुलित बसाइ नमिलेको जस्तो देखिन्छ,’ गौतमले भने ।


आयोगले हेलिकप्टर टेकअफ भएको ३५ सेकेन्डमै दुर्घटनामा परेको प्रतिवेदनमा उल्लेख गरेको छ । उडेको ३५ मिनेटमै २ हजार फिट तल बजारिएको आयोगले जनाएको छ । यो हेलिकप्टर ३५ सेकेन्डमा मन्दिरदेखि २७ सय मिटर पर मात्रै पुगेको थियो । आयोगले दुर्घटना भएको स्थल र मन्दिरको सिधा दूरी ३७ मिटर मात्रै रहेको भनेको छ ।


त्यस्तै उक्त उडान काठमाडौंबाट तेह्रथुमको चुहानडाँडासम्मका लागि मात्रै रहेको खुलेको छ । ‘फ्लाइट प्लानमा पाथीभरा जाने कार्यक्रम देखिएन । सायद हेलिकप्टरभित्र सबै बसेपछि पाथीभरा पनि पुगिहालौं भन्ने कार्यक्रम तय भएको हुन सक्छ,’ संयोजक गौतमले भने । कसले यो कार्यक्रम बनायो भन्नेबारे खुल्न नसकेको उनले बताए ।


चुहानडाँडामा विमानस्थल निर्माणका लागि स्थलगत अवलोकनमा गएका मन्त्री अधिकारीसहितको टोली कार्यक्रमस्थलबाट पाथीभरा जाने बेला ताप्लेजुङ विमानस्थलसँग सम्पर्क भएको खुलेको छ । फर्किने बेला पाइलटले कुनै पनि जानकारी गराएको देखिएको छैन । ‘मन्दिर परिसरमा ४५ मिनेट समय बिताउँदा पाइलटले ग्राउन्डबाटै एटीसीलाई पाथीभरा मन्दिर आसपासको मौसमबारे जानकारी गराएका थिए । उड्ने बेला गर्नुपर्ने रिपोर्टिङ भने नगरेको छानबिनबाट खुलेको छ । ‘उड्ने बेला आफ्नो रुटलगायतका विषयमा एटीसीलाई पाइलटले टिपाउनुपर्थ्यो तर कुनै जानकारी नदिई हेलिकप्टर उडेछ, एटीसीले दुर्घटनाको खबर सीडीओबाट थाहा पाएछन्,’ गौतमले भने । क्याप्टेन केसीले पाथीभराबाट फर्किनुअघि त्यहाँको मौसमबारे सुकेटार विमानस्थलको टावरलाई ‘हिमपात भइरहेकाले उड्न नसकेको’ भनेका थिए ।

प्रकाशित : असार ११, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?