कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गैरकानुनी रुपमा जग्गा कब्जा गरेर बनाएको भवनको निर्माण सम्पन्नको प्रमाणपत्र खोज्दै कृष्णदास महाराज

प्रदीप मेन्याङ्बो

(सुनसरी) — अर्काको स्वामित्वमा रहेको जग्गा कब्जा गरेर आठ करोडको लागतमा १ सय २८ कोठाको भव्य भवन त बनाए तर कसरी घर नक्सा पास गर्ने भन्ने चिन्ताले सताउन थालेको छ कृष्णबहादुर गिरी अर्थात अनन्तश्री विभूषित जगदगुरु कृष्णदास महाराजलाई ।

गैरकानुनी रुपमा जग्गा कब्जा गरेर बनाएको भवनको निर्माण सम्पन्नको प्रमाणपत्र खोज्दै कृष्णदास महाराज

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २७ गते औपचारिक उद्घाटन गरेको उक्त भवन बराहक्षेत्रको चतरा नहरको पश्चिम किनारमा सुनसरी मोरङ सिंचाई आयोजनाको स्वामित्वमा रहेको जग्गामा निर्माण भएको छ । आयोजनाको बराहक्षेत्रस्थित चतरा इन्टेक (मुहान) नजिकै १२ विगा ८ कट्ठा १९ धुर जग्गा ०६४ सालमा अवैधानिकरुपमा अतिक्रमण गरेर जगद्गुरु श्रीरामानन्दाचार्य सेवापिठ स्थापना गरेको १२ वर्षपछि आठकरोड रुपैयाँ लागतको भव्य भवन निर्माण गरेका थिए ।


उनी पहिलै देखि विवादमा पर्दैआएका साधु हुन् । आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधी गरेको बताउने कृष्णदाससँग भने कुनैपनि विषयमा आधिकारिक अध्ययन गरेको प्रमाणपत्र भने छैन । तर, उनले आफ्नो नामको अगाडि डा. लेख्ने गरेका छन् ।

बराहक्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्दै हरित क्रान्ति, आयुर्वेद, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडिबुटी प्रशोधन र उत्पादन गर्ने बहाना बनाएर कृष्णदासले सिंचाइ आयोजनाको जग्गा कब्जा गरेका थिए । मन्त्री, नेतादेखि राष्ट्रपतिलाई समेत झुक्याएर ‘कन्भिन्स’ गर्न सफल कृष्णदास महाराजले भवन निर्माण गरिसकेपछि टेलिफोन गरेर बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई बोलाएका थिए ।


मन्त्री नेता, मुख्यमन्त्री, राष्ट्रपति देखि नेपाली मिडियाका मालिकहरु समेत आफ्नो भक्त भएको दाबी गर्ने कृष्णदासले नगरप्रमुख खनाललाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिलाइदिन आग्रह गरेका थिए । कृष्णदासले आफूलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र मागेको बारेमा नगर प्रमुख खनालले भने, ‘भवन निर्माण थाल्दा न मलाई सोधेका थिए न नगरपालिकाकाको घरनक्सा फाँटमा निवेदन नै दिएका थिए । उनले आफुखुशी भव्य भवन निर्माण गरे । अहिले भवन निर्माणको आधिकारिक प्राविधिक डिजाइन, भूकम्प प्रतिरोधी बनाए नबनाएको कुनै प्रमाण छैन । भवन निर्माण भएको जग्गा नै कृष्णदासको स्वामित्वमा नभएपछि मैले कसरी प्रमाणित गरिदिने ? त्यो त कुरै भएन । जसको स्वीकृति लिएर बनाइयो उसैलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र माग्नु भनेको छु ।’


प्रमुख खनालका अनुसार उक्त जग्गा कोशी प्रोजेक्टको हो । कोशी प्रोजेक्टले पछि सुनसरी मोरङ सिंचाई आयोजनालाई हस्तान्तरण गरेपछि आयोजनाको स्वामित्वमा आएको हो । पहिले उक्त जग्गामा मानव बस्ती थियो । त्यहाँबाट हटाइएका बासिन्दालाई अझै पनि सट्टा भर्ना मुआब्जा दिइएको छैन । आयोजनाले आफ्नो भौतिक संरचना बनाउने योजना बनाउँदा बनाउँदै कृष्णदासले जगदगुरु रामानन्दाचार्य पिठ स्थापना गरी जग्गा कब्जा गरेपछि आफखुशी भवन निर्माण गरेपछि अहिले भवन निर्माणको वैधानिकता खोजिरहेका छन् ।


उक्त जग्गामा बराहक्षेत्र नगरपालिकाले क्याम्पसको भवन निर्माण गर्न सिंचाई मन्त्रालय र संघीय तथा स्थानीय मामिला मन्त्रालय र शिक्षा मन्त्रालयमा पनि निवेदन दिएको थियो । तर कसैले चासो नदिएपनि आयोजनाको स्वामित्वमा रहेको जग्गामा साधुसन्त जोगीले ८ करोडको १२८ कोठाको भवन बिना नक्सा पास बनाउँदा सबै चुपचाप हुनुले चतरा नहरको भविष्यमाथि खेलवाड गरेको हो कि भन्ने शंका उत्पन्न भएको छ ।


चतराको नहरमा बसेका कोशी विस्थापितका परिवारलाई पाँच वर्षअघि सरकारले डोजर स्काभेटर र बल प्रयोग गरेर हटाएपनि कृष्णदास महाराज साधु भएकै भरमा प्रशासनले पनि छुन नसकेको पीडितहरुले बताएका छन् ।


एक पीडितले भनिन्, ‘साधुले १३ बिगा बढी ओगटेर करोडौंको भवन बनाउँदा आयोजना र प्रशासनले नदेख्ने तर हामीले चतरा नहरको डीलमा दुइ तीनधुर जग्गामा छाप्रो बनाएर बसेको देख्ने कस्तो नियम कानून हो ।’


सुनसरीको हरिपुरमा सशस्त्र द्वन्द्व हुँदा मधेसी टाइगरले ०६४ कार्त्तिकमा खेदाएका ५८ परिवार मध्ये ४२ परिवार आयोजनाको चतरा नहरको डिलमा बसेका थिए । तिनीहरु सबैलार्ई प्रहरी प्रशासन लगाएर उठाएको थियो ।


यसैबीच तीनसाता अघिमात्र सुनसरी मोरङ सिंचाइ आयोजना प्रमुख हरिराम श्रेष्ठले कृष्णदास महाराजले कब्जा गरेको जग्गा आयोजना स्वामित्वको रहेको र त्यहाँ निर्माण भएको भौतिक संरचना हटाउन र नयाँ बन्न नदिन सुनसरी जिल्ला प्रशासनलाई पत्र लेखेको बताए ।


उनले भने, ‘पहिला हामीले आफ्नो स्वामित्वको जग्गा कहाँ कति छ भनेर खोजिनिति गर्‍यौं । कृष्णदासले भवन निर्माण गरेको जग्गा आयोजनाकै रहेको कन्फर्म भएपछि पुरानो संरचना हटाउन र नयाँ बन्न नदिन जिल्ला प्रशासनलाई चिठी लेखेका छौं ।’


उनले आयोजनाले चतरा नहरलाई थप स्तर उन्नती गर्ने, निकट भविष्यमा लाहानसम्म सिंचाई सुविधा विस्तार गर्न सोही क्षेत्रको आसपास नयाँ ब्यारेज समेत निर्माण गर्ने डिजाइन र योजना पनि भइरहेको बताए ।


उनले भने, ‘आयोजनाले एकातिर आफ्नो योजना बनाउँदै छ अर्कोतिर अरुले अतिक्रमण गरेर भौतिक निर्माण, पक्कि भवनहरु बनाएपछि समस्या उत्पन्न भएको छ । यसबारेमा मन्त्रालयमा औपचारिक अनौपचारिक जानकारी दिइसकिएको छ ।’

कृष्णदासले बनाएको भवन र अरु भवन मुनि आयोजनाको चतरा नहरको बालुवा फाल्ने ठूला ठूला पाइपलाइनहरु पाँच ठाउमा विस्तार गरिएका छन् । किसानको खेतमा बालुवा जानबाट रोक्न ड्रेजर मेसिन लगाएर पम्प गरेर बालुवा फाल्ने पाइपलाइन विस्तार गरेकै ठाउँमा कृष्णदासले आठ करोडको भवन मात्र नबनाएर अरु भवन पनि निर्माण गरेकाले पछिल्लो समयमा प्राविधिक समस्या उत्पन्न भएको छ । पाइपमा बालुवा अडकिएमा चेक जाँच गर्नु परेमा भवनका कारण कुनै पनि बेला अर्को समस्या उत्पन्न हुनसक्ने प्राविधिकहरुले बताएका छन् ।


प्रकाशित : असार ११, २०७६ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?