एसईईको नतिजा आज सार्वजनिक हुँदैन : राष्ट्रिय परीक्षा बोर्ड

हल्लाको पछि नलागौं : परीक्षा नियन्त्रक
सुदीप कैनी

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरे । ‘आज रिजल्ट हुँदै हुँदैन, नतिजा प्रकाशनको तयारी चलिरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिक हुन्छ ।’

एसईईको नतिजा आज सार्वजनिक हुँदैन : राष्ट्रिय परीक्षा बोर्ड

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पनि आज नतिजा सार्वजनिक गर्ने कुनै तयारी नरहेको जनाए । नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ । बुधबार मध्यान्हसम्म बोर्ड बैठक डाकिएका छैन । बोर्डका एक सदस्यले भने, 'यतिखेर त बैठक बोलाइ सक्नुपर्ने हो । बोलाइएको छैन । रिजल्ट हुने सम्भावना देख्दिनँ ।'


यतिबेला पनिकाका कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेका छन् ।


कुनै प्राविधिक समस्या उत्पन्न नभए बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको अधिकारीले जनाए । ‘कम्प्युटरमा प्रविधिकहरु डाटा इन्ट्रीसँगै रुजु गरिरहेका छन,’ उनले भने, ‘कुनै वाधाअवरोध नभए ४८ घण्टा भित्रसम्म नतिजा आउँछ ।’


मंगलबार अपराह्न र बुधबार बिहानैदेखि नतिजा प्रकाशन हुने खबर विभिन्न अनलाइन तथा सोसल मिडियामा छ्याप्छ्याप्ती भएको थियो । अधिकारी ती समाचार र सूचनाको खण्डन गर्दै भने, 'रिजल्ट प्रकाशनको तयारी गर्दा कामको चापअनुसार केहीघण्टा तलमाथि हुनसक्छ । यसैले कार्यालयले नतिजा प्रकाशनको मिति र समय तय नगरिएको हो । हल्लाको पछि नलागौं ।' नतिजा सार्वजनिक गर्नु केहीघण्टा अघि सञ्चारमाध्यमहरुलाई समेत खबर गर्ने चलन छ ।


बोर्डका सदस्यहरुले मंगलबार नतिजा प्रकाशनको तयारीबारे निरिक्षण समेत गरेका थिए । गतवर्ष नतिजा प्रकाशन गर्दा करिब ९ हजार विद्यार्थीको ग्रेडसिटमा समस्या देखिएकाले यसपाली रिजल्ट सार्वजनिकमा हतार नगर्ने मनस्थितिमा बोर्डका कर्मचारीहरु छन् । निरीक्षणको क्रममा मंगलबार नतिजा प्रकाशनको नमुना परीक्षण (डेमो) समेत गरिएको थियो । गतवर्ष जस्तो त्रुटी नहोस् भनेर उच्च सर्तकता अपनाइएको बोर्डका सदस्यहरुले बताए । उनीहरुले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरुलाई हतार नगर्न समेत सुझाव दिएका हुन् ।


मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको हो । नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ । गतवर्ष असार ९ गते रिजल्ट भएको थियो । यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो ।

प्रकाशित : असार ११, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?