१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तातोपानी बजारका व्यवसायी भन्छन्, 'अहिले टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता आयो,’

अनिश तिवारी

(सिन्धुपाल्चोक) — भूकम्पको चार वर्षपछि औपचारिक रूपमा मालवाहक सवारी साधन सञ्चालनमा आएको तातोपानी नाकामा व्यापारिक गतिविधि भने ठप्प छ । ऊन ल्याउँदै आंशिक रूपमा खुलाइएको नाकामा अहिले मालवाहक कन्टेनरसमेत गुडेका छैनन् । बर्खासँगै सीमा झनै उराठलाग्दो देखिएको छ । 

तातोपानी बजारका व्यवसायी भन्छन्, 'अहिले टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता आयो,’

चीनतर्फ भौतिक संरचना र व्यापारिक स्थल पुनर्निर्माण भइरहेकाले तत्कालका लागि मालवाहक सवारी मात्रै सञ्चालन गरिएका थिए । ‘व्यापारिक तयारी भइरहेकाले कन्टेनर पनि खासै नेपाल भित्रिएका छैनन्, सबै संरचना यत्तिकै थन्किएझैं बसिरहेका छन्,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भने । सर्वसाधारणका लागि नाका नखुलाइएपछि चहलपहल नबढेको उनले सुनाए ।


तातोपानी नाकाका व्यापारी भूकम्पअघिझैं व्यापारिक रूपमा तातोपानी नाका खुल्ने आसमा बसिरहेका छन् । ‘३ महिनापछि मात्रै कन्टेनर आउने भएपछि नाका बन्दजस्तै छ, नखुलेमा नाकाको कुनै अर्थ छैन,’ उनले भने । चिनियाँ राजदूत होउ याङ छिसँग जनप्रतिनिधिले विद्यालय, स्वास्थ्य, सडकलगायत पूर्वाधार निर्माण र सर्वसाधारणका लागि नाका खुलाउन अनुरोध गर्दै आएको पौडेलले बताए ।


नाका खुल्ने र व्यापार हुने आसमा लिपिङ पुल छेउ होटल, पसल थापेर बसिरहेका व्यवसायी निराश छन् । भोटेकोसी– २ तातोपानीका वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठका अनुसार नाकालाई पूर्ण रूपमा खुलाउन पूर्वाधार बलियो बनाउन थालिएको छ ।


चिनियाँ प्रतिनिधिले दर्जनौं भेट, छलफलमा भौतिक पूर्वाधार तयारी गरिरहेको र आफ्नो सरकारलाई यसबारे अनुरोध गरिरहेको बताउँदै आएका छन् । नाका खुलाउँदा नेपालबाट झन्डै १ सय ८२ प्रकारका सामग्री (मुडा, खाद्यान्न, गलैंचा, ह्यान्डिक्राफ्टलगायत) चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो । चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक सामान, कपडाजस्ता सयौं प्रकारका सामग्री नेपाल भित्रिने अनौपचारिक सहमति भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।


‘नाका खुलेर पनि नखुलेजस्तो अनुभव भइरहेको छ, सर्वसाधारणले गरेर खाने ठाउँ भएन,’ तातोपानी बजारमा चार वर्षदेखि व्यवसाय गरिरहेकी सुनमाया शेर्पाले भनिन् । ‘भूकम्प, भोटेकोसी बाढी, बर्खैपिच्छेको पहिरोले भागाभाग बनाए पनि व्यवसाय छोडेनौं । अहिले टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता आयो,’ शेर्पाले भनिन् ।


सातादेखि थन्कियो कन्टेनर

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा लार्चामा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह अझै सञ्चालनमा आएको छैन । चाइना रेलवे कन्सट्रक्सन कम्पनी (सीआरसीसी) ले बनाएको बन्दरगाहमा सातादेखि ऊन बोकेको एउटा कन्टेनर थन्किएको छ ।


‘बल्ल साँचो लियौं, हप्तादिनपछि बन्दरगाह पूर्ण रूपमा सञ्चालनमा ल्याउनेछौं, प्राविधिक, सञ्चारलगायत पूर्वाधार तयार गर्नुपर्‍यो,’ तातोपानी भन्सारका प्रमुख अधिकृत कृष्ण बस्नेतले भने । नाका खुलेसँगै बन्दरगाह जिम्मा लिएको सुनाउँदै उनले शुक्रबारबाट सातजना कर्मचारी आउने बताए ।

प्रकाशित : असार १०, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?