संसद्‌मा ‘गलबन्दी च्यातियो ...’ गीतको चर्चा

रासस

काठमाडौँ — प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपूत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाईन्।

साथै उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारबाही गर्न माग गरिन्। सांसद महेश्वरजंग गहतराजले पनि ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महिनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याएकी थिइन्।

प्रकाशित : असार १०, २०७६ १६:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी भएको भन्दै कांग्रेसले मंगलबारको बैठक चल्न नदिएको हो । बैठक प्रारम्भ हुनासाथ कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले सभामुखसँग समय लिएर बोलेका थिए ।

उनले बजेट मुख्यमन्त्री र मन्त्रीका क्षेत्रमा मात्रै गएको र समग्रमा नगएको, रसुवा र सिन्धुपाल्चोकजस्ता विकट जिल्लालाई पर्याप्त बजेट नछुट्याइएको आरोप लगाए।

यस्तै नेता बानियाँले विविध शीषर्कमा करिब ८ अर्ब बजेट छुट्याइएकोमा दुरुपयोग हुने आशंका गरे। प्रदेश नीति तथा योजना आयोगमार्फत छनौट भएका योजनाहरुमा बजेट नपारिएको, प्रदेश सरकारले ३० लाखभन्दा कमको योजना नबनाउने नीति अवलम्बन गरे भनेपनि त्यसको बेवास्ता गर्दै बजेट छरेको आरोप लगाए। उनले धारणा राखिसकेपछि कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए। कांग्रेस सांसदहरुलाई पटक पटक बस्न आग्रह गर्दा नमानेपछि सभामुख सानुकुमार श्रेष्ठले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।

प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथि छलफलको कार्यसूचि थियो। प्रदेश सरकारले असार १ गते ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट प्रदेशसभामा पेस गरेको थियो।

प्रकाशित : असार १०, २०७६ १६:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×