१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिटौला पक्षले मनोनीतबाट पार्टी संरचना गठन नगर्न दियो चेतावनी

सभापति देउवा भने मनोनीतबाटै समिति गठन गर्ने गृहकार्यमा, मनोनीतलाई बाटो खोल्ने गरी नियमावली संशोधनको तयारी
पौडेल पक्ष पनि मनोनीतको विरोधमा

काठमाडौँ — कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पार्टीका तल्ला तहका संरचना अधिवेशनबाट मात्रै बनाउन जोड दिएको छ । पार्टी विधान विपरित तदर्थ समिति बनाउन नदिने चेतावनी उनीहरुले दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशन नहुञ्जेलको अन्तरिम अवधिका लागि भन्दै तदर्थ समिति बनाउने कसरत गरीरहेका बेला सिटौला पक्षको यस्तो चेतावनी आएको हो ।

सिटौला पक्षले मनोनीतबाट पार्टी संरचना गठन नगर्न दियो चेतावनी

सिटौला पक्षीय नेताहरुको मात्रै उपस्थिती रहेको जीपी कोइराला अध्ययन केन्द्रद्वारा सोमबार आयोजित कार्यक्रममा पार्टी संगठन विस्तार नगरी दोस्रो चरणको जागरण अभियान नथाल्न समेत नेतृत्वलाई सुझाएका छन् । उनीहरुले पहिलो जागरण अभियानलाई ‘संगठन विनाको यात्रा’ भनेका छन् ।


कांग्रेसले पहिलो जागरण अभियान बैशाख २५ देखि जेठ २५ सम्म सञ्चालन गरेको थियो । कांग्रेसले जिल्ला केन्द्रित यो अभियानपछि भदौ २४ बाट असोज ७ सम्म दोस्रो चरणको अभियान सुरु गर्दैछ । दोस्रो चरण अभियान सुरु गर्नुअघि वडादेखि प्रदेशसम्मको कार्यसमिति बनाउनु पर्ने उनीहरुको जोड छ ।


संविधान जारी भएको तीन वर्षसम्म पनि कांग्रेसको संगठन केन्द्रीकृत चरित्रको छ । संघीय ढाँचाअनुसारको पार्टी संरचना छैन । स्थानीय तहमा वडा, गाउँ, नगरको सिमांकन हेरफेरपछि पार्टी संरचना लथालिंग छ । स्थानीय तहको बदलिँदो संरचना अनुसार पार्टीका कार्यसमिति बनाउन विधानको धारा ७२ को दफा ४ को (ख) (ग) र (घ) ले बाटो खोलिदिएको छ । विधानले तत्कालिन १३ औं अधिवेशनका प्रतिनिधिबाट निर्वाचन गरी वडा, प्रतिनिधिसभा, प्रदेश निर्वाचन, गाउँ, नगर र प्रदेश कार्यसमिति गठन गर्न सकिने व्यवस्था गरेको छ ।


तर, सभापति देउवाले त्यस विपरित तदर्थ समिति बनाउने उद्देश्यबाट नियमावली परिवर्तन गर्ने प्रयास गरेपछि सिटौला पक्ष सशंकित बनेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निर्वाचनकै पक्षमा छ । सभापतिले तल्ला तहका संरचनामा आफ्ना पकड कायम गर्न मनोनितको प्रयास थालेपछि संस्थापन इतरपक्ष एक ठाउँमा उभिएको हो ।


सभापति देउवा पक्षको बहुमत रहेको नियमावली मस्यौंदा समितिले निर्वाचनबाट कार्यसमिति गठन गर्नुपर्ने प्रावधान विपरितको व्यवस्था राख्न चाहेको छ । निर्वाचनबाट मात्रै कार्यसमिति गठन गर्न सकिने विधानको उक्त व्यवस्थालाई प्रस्तावित नियमावलीले खण्डन गरेको छ । ‘प्रस्तावित पार्टी विधानको धारा ७२ को उपधारा ४ को ख, ग र घ को बमोजिम व्यवस्था केन्द्रीय कार्यसमितिले निर्णय गरे अनुसार कार्यन्वयन हुनेछ’ भन्ने उल्लेख छ । केन्द्रीय कार्यसमितिको बहुमतबाट तल्ला तहका संरचना मनोनित गर्ने गरी यस्तो प्रावधान राख्न खोजिएको संस्थापन इतरपक्षीय नेताहरुको आरोप छ ।


सिटौलाले संविधान निर्माणको नेतृत्व लिएको कांग्रेसले अहिले सम्म पार्टीको संरचना संघीय संरचना अनुसार नबनाएको भन्दै सभापति देउवाको आलोचना गरे । उनले महासमितिको ‘म्यानडेट’ विपरित क्षेत्रीय र महाधिवेशन प्रतिनिधिमा स्वतः प्रतिनिधिको व्यवस्था थपिएको भन्दै त्यसलाई सच्याउनै पर्ने बताए । यस्तो नसच्याउन नेताहरुले आफूलाई ‘मालिक’ र कार्यकर्ताहरुलाई ‘कारिन्दा’ को व्यवहार गरेको भन्दै आलोचना बढेको सिटौलाले बताए ।


दोस्रो चरणको जागरण सुरु हुनुअघि पार्टीका तल्ला तहमा अधिवेशन सम्पन्न भईसक्नुपर्ने उनीहरुको जोड छ ।


‘नेतृत्वको चरित्र र मानिसकतामा अझै परिवर्तन आएको छैन । अझै नेतृत्व केन्द्रीय मानिसिकतामा छ, यसलाई परिवर्तन नगरेसम्म कांग्रेस अघि बढैन,’ सिटौलाले भने,‘जागरण अभियान पनि विना संगठनको यात्रा मात्रै बनेको छ ।’ उनले सरकार दुर्घटनाको बाटोमा र प्रतिपक्षी कमजोर बाटोमा अघि बढिहेको बताए । ‘व्यवस्थालाई कमजोर बनाउने गरी सत्तापक्षको गतिविधि हुँदा समेत कांग्रेसको हराएको जस्तो, थाकेजस्तो देखिएको छ । स्थानीय, प्रदेश र केन्द्रीय संसदमा बलियो प्रतिपक्ष बनाउने हो भने पहिला सांगठिनक संरचना बनाउनु पर्छ । भागबण्डा र मनोनितबाट होइन, निर्वाचनबाटै हुनुपर्छ,’ उनले भने ।


नेता गगन थापाले पार्टीका तल्ला समितिहरु सानेपाबाट गठन नगर्न चेतावनी दिए । ‘विधानको व्यवस्थाबाट मात्रै समितिहरु बन्नुपर्छ’ उनले भने,‘नेतृत्वको अनुहारमा दाग लाग्दा समेत ‘डिम्पल’ देखिएको हो भनेर वंग्याउन भएन ।’


अर्का केन्द्रीय सदस्य उमाकान्त चौधरीले नेतृत्वमा आउने समयका लागिपनि पार्टी कसरी कव्जा गर्ने भन्नेमा मात्रै ध्यान केन्द्रित भएको आरोप लगाए । ‘पार्टीलाई एक ढिक्का होइन, भागबण्डा गरेर पार्टीमा कसरी कब्जा जमाउने भन्नेमा नेतृत्वपंक्ति लागेको छ,’ मनोनितबाट पार्टी संरचना गठन गर्ने नेतृत्वको गृहकार्यप्रति विरोध जनाउँदै उनले भने,‘नाताबाद, कृपावाद, पैसावाद, फरियावाद र भागबण्डा अन्त नभएसम्म यो पार्टी बन्दैन । पहिला चुनाव हारेको पनि यीनै बादहरुका कारणले हो, अरु कारण मुख्य थिएन ।’


केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीका तल्ला संरचना नबनेसम्म दोस्रो चरणको जागरण अभियान हुन नदिने बताए । संगठन विनाको अभियान अर्थ नभएको भन्दै पहिलो अनुभवबाट पनि तत्काल तल्ला तहका संरचना गठनका लागि अधिवेशनको तयारी थाल्न नेतृत्वसँग आग्रह गरे ।


केन्द्रीय सदस्य शिव हुमागाईं र युवा नेता देवराज चालिसेले पहिलो चरणको जागरणलाई पार्टीले कस्मेटिक ढंगको उपलब्धि ठानेको बताए । ‘संगठनको आधारबिनै थालिएको यो अभियानले राम्रो प्रतिफल दिन सकेको छैन,’ चालिसेले भने,‘यसलाई डेन्टिङ, पेन्टिङ गरेर भयंकर उपलब्धि भएको देखाइएको छ । यस्तो चलन बन्द गरौं ।’

प्रकाशित : असार १०, २०७६ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?