१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

भरतपुर मतपत्र काण्डका दोषी नेकपा सदस्य चयन

रमेशकुमार पौडेल

चितवन — स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घटनामा कसुरदार ठहर भएका दुवैजना नेकपा चितवनको जिल्ला कमिटि सदस्यमा चयन भएका छन् । 

भरतपुर मतपत्र काण्डका दोषी नेकपा सदस्य चयन

गत जेठ ३० गते द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई अदालतले मतपत्र काण्डमा कसुरदार ठहर गरेको थियो । उनीहरुको सजाय निर्धारण गर्न आउँदो सोमबार पेशी तोकिएको छ ।


महानगरपालिकामा स्थानीय तह चुनावमा तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रकी रेनु दाहाललाई उठाएका थिए । गठबन्धनको उम्मेदवार दाहाल र तत्कालीन एमालेबाट मेयर पदका उम्मेदवार देपवप्रसाद ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा भएका बेलामा भरतपुर–१९ को मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि १९ नम्बर वडामा दोहर्‍याएर मतदान भएको थियो ।


मतपत्र च्यातेर दोहर्‍याएर चुनाव गराउँदा दाहालको पक्षमा नतिजा गएको थियो । गणना सरासर सकिएको भए आफ्ना उम्मेदवारले मेयर जित्ने एमालेको दाबी रहने गरेको थियो ।


यो प्रकरणपछि स्थानीय रुपमा मात्रै नभए केन्द्रीय तहमा नै एमाले र माओवादी केन्द्रबीच मनमुटाव बढेको थियो । पार्टी एकीकरण पछि मतपत्र च्यातेको काण्डमा दोषी ठहर भएकाले पनि जिल्ला कमिटिमा ठाउँ पाएका छन् ।


नेकपा चितवनको १५५ सदस्यीय जिल्ला कार्य समितिले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट सपथ ग्रहण गरेका थिए ।


जिल्ला समितिमा यो पटक जिल्लाको सिमान्तकृत आदिवासी समुदायमा पर्ने चेपाङ जातिबाट प्रतिनिधित्व छैन । चितवनमा पहाडी क्षेत्रमा चेपाङ र मैदानी क्षेत्रमा थारुहरु आदिवासी समुदाय हुन् । थारु समुदायबाट जिल्ला कमिटिमा सातजना सदस्य चयन भएका छन् ।


गोरखा, धादिङ, मकवानपुर र चितवनको पहाडी क्षेत्रमा चेपाङ समुदायको बाक्लो बसोबास छ । चारमध्ये सबैभन्दा धेरै चेपाङ चितवनमा बस्दछन् । चेपाङबाट मकवानपुरमा तीन, धादिङ र गोरखामा दुई–दुईजनाको प्रतिनिधित्व भए पनि चितवनमा एकजनाले पनि ठाउँ पाएका छैनन् ।

प्रकाशित : असार १०, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?