कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरको सिसा फुट्दा मेयरलाई ३० लाख, गोलीले पेट फुटेका घाइतेले सुको पाएनन्

पर्वत पाेर्तेल

बिर्तामोड — ०७४ कात्तिक १० मा अर्जुनधारा ११ का बालक लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणले बिर्तामोड तनावग्रस्त थियो । बिहानैदेखि स्थानीय आन्दोलित थिए । त्यही क्रममा आक्रोशित समूहले बिर्तामोडका नगर प्रमुख ध्रुव सिवाकोटीको घर र गाडी तोडफोड गरेको थियो ।

घरको सिसा फुट्दा मेयरलाई ३० लाख, गोलीले पेट फुटेका घाइतेले सुको पाएनन्

त्यसबापत सरकारको निर्णयबाट उनले ३० लाख रुपैयाँ क्षतिपूर्ति पाए । तर, त्यही घटनाका घाइते ३१ वर्षीय मणि दर्जी (नेपाली) ले केही पाएनन् । आन्दोलनको अध्ययन गर्न गृह मन्त्रालयअन्तर्गत बनेको छानबिन समितिले सिवाकोटीलाई एक करोड क्षतिपूर्ति उपलब्ध गराउन भनेको थियो । सरकारले भने ३० लाख दिने निर्णय गरेको हो ।

घाइते नेपालीलाई क्षतिपूर्तिबारे भने समिति मौन देखिएको छ । बिर्तामोड तनावग्रस्त भएको दिन घर बनाउने मिस्त्री नेपाली धवलागिरी सहकारी संस्थाको भवन निर्माणमा खटिएका थिए । मध्याह्न खाना खान डेरातिर जाँदै गर्दा गोली लागेर सडकमै ढलेका थिए । उनीसँगै ढलेका अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको भने मृत्यु भएको थियो ।

कर्फ्यु उल्लंघन गरेको भन्दै प्रहरीले चलाएको गोली उनको बायाँ हात छेड्दै पेटमा घुसेको थियो । आन्द्राभुँडी क्षतविक्षत अवस्थामा उनको उद्धार गरिएको थियो । घाइते नेपालीलाई प्रहरीले ‘पोस्टमार्टम’ का लागि मेची अञ्चल अस्पताल पुर्‍याएको थियो । चिकित्सकले ज्यूँदै रहेको बताएपछि उपचारका लागि काठमाडौं लगिएको थियो ।

गोलीको असरले एकातिरको फोक्सो ड्यामेज भएको चिकित्सकले पत्ता लगाएका थिए । आन्द्रा काटिएछ । उपचारपछि उनी बचे । अस्पतालले प्लास्टिकको आन्द्रा लगाइदिएको छ । पेटको मासु काम नलाग्ने भएपछि तिघ्राको मासु टाँसिदिएको छ ।

‘भोक लाग्छ, मज्जाले खान खोज्छु पेटले थेग्दैन,’ नेपालीले भने, ‘खाएपछि पचाउन झन् समस्या छ ।’ उनको हातको समस्या झन् जटिल छ । रड हालेको छ । हातबाट निरन्तर पिप बगिरहन्छ । घाउ पाकेको छ । ड्रेसिङ गर्न पनि सक्ने अवस्था छैन ।

प्रकाशित : असार १०, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?