१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रमाणपत्र किर्तेमाथि संसद्मा प्रश्न

सुदीप कैनी

काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा सोमबार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र सेवा आयोगको अनियमितताबारे प्रश्न उठाउँदै त्यस्ता विकृति रोक्न माग गरिएको छ ।

विशेष समयमा बोल्दै सत्तारूढ नेकपाका सांसद अग्निप्रसाद सापकोटाले विश्वविद्यालयहरू विकृति र विसंगतिको थलो बन्दै गएकामा चिन्ता व्यक्त गरे । ‘विज्ञापनका लिखित परीक्षामा आफन्तको परीक्षा लिएर आफैंले उत्तीर्ण गराउने प्रवृत्ति बढदै गएको छ,’ उनले भने ।


उनले त्रिविले ९ नम्बरलाई ६९ बनाएर विद्यार्थीलाई स्वर्ण पदक दिलाएको विषयमा समेत प्रश्न उठाए । त्रिवि सेवा आयोगको परीक्षामा भएको अनियमितता र कम नम्बर ल्याएका विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालयकै कर्मचारीले सर्वोत्कृष्ट बनाएको समाचार कान्तिपुरमा छापिएको थियो ।


सांसद सापकोटाले शिक्षा मुलुक विकासको मेरुदण्ड भए पनि विकृत बन्दै गएको बताए । ‘राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक हिसाबले सुसज्जित हुनुपर्ने शिक्षा आज विकृत बन्न पुगेको छ,’ उनले भने, ‘९ नम्बरलाई ६९ बनाएर स्वर्ण पदक लिने र दिने कस्तो संस्कृति हो ? यस्तो गलत परिपाटीलाई भत्काउन हामी तयार हुने कि नहुने ?’


शिक्षण संस्थाहरू सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘सबै कुरालाई पैसाले घुमाइरहेको छ, प्रमाणपत्र किन्न पाइन्छ, भूमाफिया र बिचौलियाले सबैलाई कब्जामा लिन सक्छन्, यसको अन्त्यका लागि पद्धति बसाल्न मेहेनत गर्नुपर्‍यो,’ उनले भने । शैक्षिक थलोबाट भ्रष्टाचारविरुद्ध लड्ने नागरिक तयार पार्न सक्नुपर्नेमा उनले जोड दिए । ‘शिक्षा क्षेत्र सुधार गर्न नसके समृद्ध नेपाल सुखी नेपाली नारामा मात्रै सीमित रहन्छ,’ उनले भने ।


त्रिवि आयोगको प्रतिस्पर्धामा आफन्तलाई उत्तीर्ण गराइएको र परीक्षा नियन्त्रण कार्यालयबाट घूस लिएर शैक्षिक प्रमाणपत्र जारी गरेको विषयमा अख्तियारले छानबिन गरिरहेको छ ।


'उच्च शिक्षा ऐनले विकृति रोक्छ’

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरूको विकृति, विसंगति रोक्न सरकारले उच्च शिक्षा ऐनको तयारी गरिरहेको जनाए ।


प्रतिनिधिसभामा सोमबार शिक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफलमा उनले ऐनले विश्वविद्यालयहरूलाई बदल्ने दाबी गरे । उच्च शिक्षा र विद्यालय शिक्षासम्बन्धी छुट्टाछुट्टै विधेयक बन्दै गरेको उनले जानकारी दिए । ‘हिजोका संरचनामा रहेका विश्वविद्यालयहरूलाई प्रादेशिक विश्वविद्यालयमा रूपान्तरण गरेर अराजकता अन्त्य गर्नेछौं,’ उनले भने ।


त्रिविमा सुशासन र सदाचारको पढाइ

त्रिविभित्रका अनियमितता सार्वजनिक भइरहेका बेला स्नातकोत्तरमा सुशासन र सदाचार (गुड गभर्नेन्स र एन्टी करप्सन) विषय पठनपाठनका लागि पाठ्यक्रम निर्माण गर्न थालिएको छ ।


त्रिविमा उक्त विषयको पाठ्यक्रम निर्माणका लागि विज्ञसँग छलफल अघि बढाइएको मानविकी तथा सामाजिकशास्त्र संकायका डिन जीवलाल भुसालले जानकारी दिए । ‘सुशासन र सदाचार विषयको पढाइ सुरु गर्ने भनेर कोर्स बनाउन थालेका हौं,’ उनले भने, ‘विज्ञहरूको राय लिएर पाठ्यक्रम बनाएपछि पठनपाठन सुरु हुन्छ ।’


विश्वविद्यालयबाट स्वीकृति लिएर यसैपालि पढाइ सुरु गर्ने लक्ष्य संकायले लिएको छ । ‘मंसिर/पुसबाट नयाँ सत्र सुरु हुन्छ । पाठ्यक्रम बनाएर सबै तयारी पूरा भए यसैपालि कक्षा चलाउँछौं,’ भुसालले भने, ‘काम सकिएन भने अर्को वर्षबाट पठनपाठन हुन्छ ।


त्रिविबाट प्रहरी हटाउन माग

ठूला तीन विद्यार्थी संगठनले त्रिवि परिसरमा प्रहरी कार्यालय नराख्न माग गरेका छन् । अनेरास्ववियु/अखिल क्रान्तिकारीले संयुक्त र कांग्रेसनिकट नेविसंघले छुट्टै विज्ञप्ति प्रकाशित गरेर विश्वविद्यालयमा प्रहरी कार्यालय राख्दा शैक्षिक गतिविधिमा समेत असर पुग्ने जनाएका हुन् । विद्यार्थीको सहमतिबिनै प्रहरी कार्यालय राखे आन्दोलनमा उत्रने उनीहरूको चेतावनी छ ।

प्रकाशित : असार १०, २०७६ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?