‘पिर्के सलामी’ चर्चा

कुम्भराज राई

ओखलढुंगा — सुनकोसी गाउँपालिकामा गत शुक्रबार राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम थियो । उद्घाटन सत्रको प्रमूख अतिथि प्रदेशसभाका अर्थ समिति सभापति मोहनुकमार खड्का थिए ।

उद्घाटनमा खेलाडीहरुले मार्च पास गर्ने बेला उनलाई अन्य अतिथिभन्दा अघिल्तिर ‘पिर्का’ मा उभ्याइयो । केही व्यक्तिले तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे ।


सामाजिक सञ्जालमा ‘पिर्के सलामी’ भन्दै भाइरल भयो । त्यही दिन सिद्धिचरण नगरपालिकामा पनि नगरपालिकास्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन थियो । उद्घाटनका प्रमूख अतिथि बनेर प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङले मार्च पासका बेला खडाले जसरी पिर्कामा उभिएर सलाम गरे । उनको तस्बिर सञ्चारमाध्यममा प्रकाशन भयो ।


यो दृश्य अधिकांश खेलकुद प्रतियोगितामा सँधै देखिने दृश्य हो । तर यसपटक सामाजिक सञ्जालमा विरोध भए । आफूलाई राजा सो सरह ठान्ने सम्मका प्रतिक्रिया देखिए । खेलप्रेमीहरु समेत यसलाई खेलकुदको परम्परा भएको बताउँछन् । ‘हामीले थाहा पाएदेखि विशेष किसिमका खेलकुदका सबै कार्यक्रममा प्रमूख अतिथिलाई मार्चपासको बेला सम्मान साथ सलामीको शैलीमा उभ्याउने परम्परा छ ।’


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङले भने, ‘यसलाई गलत अर्थ लगाएर बदनामी गर्ने कोशिस गरिएको छ त्यो बुझेर गरिएको हैन ।’ प्रदेशसभा सदस्य मोहनकुमार खड्का यसरी पिर्कामा उभिने मान्यताको विरोधी भएको बताउँछन् । ‘मैले यस्तो गर्नुपर्दैन भुईँमै उभिन्छु भन्दा केही कार्यक्रममा यो खेलकुदको नियमावलीभित्रको विषय हो । तपाईँले गर्न सक्नु भएन भने प्रमुख अतिथि अरुलाई बनाउँला भन्नेसम्मको जवाफ पाएको छु’ सांसद खडाले भने, ‘खासगरी स्काउट र खेलकुदको कार्यक्रममा यसरी प्रमूख अतिथिलाई सम्मान दिने नियम नै रहेछ ।’


सामाजिक सञ्जालमा केही व्यक्तिहरुले नियोजित रुपले अतिरञ्जना गर्ने काम गरेको सांसद खड्काले बताए । ‘यो नियोजित रुपले व्यक्तिको चरित्र हत्या गर्ने मनसायले अतिरञ्जित गर्ने काम भईरहेको छ’ उनले भने, ‘पिर्कामा उभिएर सलामीको शैलीमा उभिनु खेलाडीहरुको सम्मानका लागि हो । यसलाई नकारात्मक अर्थमा बुझाएर बदनाम गर्न खोजिनु भर्त्सनायोग्य छ ।’

प्रतियोगिताका आयोजकहरुले समेत खेलकुदको परम्परा अनुसार प्रमूख अतिथिलाई त्यसरी उभ्याउने गरेको जवाफ दिएका छन् ।

प्रकाशित : असार ९, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?