कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ : गृह

रासस

काठमाडौँ — सरकारले मनसुनको समयमा बाढी, पहिरो र डुबानबाट हुनसक्ने जनधनको क्षति र जोखिमको विश्लेषण गरी सम्पूर्ण आवश्यक पूर्व तयारी गरिएको जनाएको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले सबै प्रदेशका विभिन्न रणनीतिक स्थानमा खोज उद्धार सामग्री सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताए । त्यसक्रममा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति भएको, जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन सम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याइसकेको तथा स्थानीय तहमा समेत पूर्व तयारी तथा प्रतिकार्यका लागि सक्रिय रहने व्यवस्था मिलाइसकेको उनले जानकारी दिए ।


विपद् व्यवस्थापनको आपतकालीन कार्यको समन्वय गर्न केन्द्रमा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रदेशस्तरमा २ र ५ मा बाहेक ५ प्रदेशमा आपतकालीन केन्द्र तथा ५२ जिल्लामा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा रहेको जानकारी दिइयो ।


त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकै रहेको मानवीय सहायतास्थलबाट गतवर्ष नै सातवटै प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा विपद् पूर्व तयारीका लागि टेन्ट, (त्रिपाल), डोरी, जेनेरेजटर र प्लाष्टिक सिटलगायतका सामग्री भण्डारणमा रहेको सरकारले जानकारी गराएको छ ।

समितिले आगामी मनसुनमा बाढी, पहिरो, नदी कटान, हावाहुरी चट्याङ, आँधिबेरीबाट हुनसक्ने जनधनको क्षतिको आकलन र विश्लेषण गरी सुरक्षा निकाय, संघीय, प्रादेशिक र स्थानीय समितिको समन्वयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न व्यवस्थित पूर्व तयारी एवं प्रतिकार्य योजना बनाएर काम गर्न सरकारलाई निर्देशन दिएको छ ।


समितिले भनेको छ, 'विपद् जोखिम व्यवस्थापन कार्यमा एकरुपता ल्याउन, पूर्व तयारी, प्रतिकार्य, पुनर्वास र पुनःनिर्माणका लागि सम्बन्धित निकायबीच समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण यथाशीघ्र गठन गर्ने तर्फ ध्यान दिइयोस् ।'

प्रकाशित : असार ९, २०७६ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?