कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

'३७ भाषा लोप हुन लागे’

काठमाडौँ — भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले मुलुकका ३७ वटा भाषा केही समयभित्रै लोप भइसक्ने दाबी गरेका छन् । उनले भाषा नरहे कुनै आदिवासी जनजातिको पहिचान पनि नरहने बताए ।

‘भाषा, संस्कृति नरहेपछि शब्दमा मात्रै आदिवासी भन्न मिल्दैन,’ उनले नेपाल आदिवासी जनजाति महासंघद्वारा आइतबार आयोजित ‘नेपालका आदिवासी जनजातिको स्थिति, नीति, कार्यक्रम र चुनौती’ विषयक गोष्ठीमा भने, ‘मातृभाषा र जनजीवन जोड्ने क्रियाकलाप घट्दो छ ।’


राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सामाजिक दृष्टिकोण गलत रहेकाले सम्बन्धित समुदाय उत्पीडनमा परेको बताइन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ भाषाशास्त्री योगेन्द्र यादवले मुलुकमा बोलिने अधिकांश भाषा लोपोन्मुख रहेको बताए ।


‘१२३ भाषामध्ये १९ भाषाको वक्ता १ लाखभन्दा बढी छ, धेरै भाषा लोपोन्मुख छन्,’ उनले भने, ‘भाषा बचाउने पहिलो उपाय घरपरिवारका सदस्यबीच बोलचाल व्यवहार नै हो । त्यो वातावरण मोबाइल, इन्टरनेटले मिच्दै छ । अर्कोतर्फ औपचारिक पठनपाठन पनि चाहिन्छ ।’


थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले भाषा, संस्कृति संरक्षण कार्य चुनौतीपूर्ण रहेको बताए । जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले संघ, प्रदेश र स्थानीय सरकारले संविधानमा भएको भाषा, संस्कृतिसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : असार ९, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?