२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आफैंले जाँच लिएर पत्नीलाई जागिर

ठाकुरसिंह थारू

बर्दिया — बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज गरेर आफूखुसी शिक्षक नियुक्त गरेको पाइएको छ । आफैंले कानुन बनाएर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि मैनापोखरमा मावि तहको शिक्षकमा नियुक्त गरेका छन् । शिक्षक छनोटका लागि उनले नै परीक्षा लिएका थिए । 

गाउँपालिकाले जारी गरेको नयाँ नियमावलीमा शिक्षा प्रमुखको संयोजकत्वमा परीक्षा शाखा गठन गर्ने व्यवस्था छ । नियमावलीमा शिक्षा शाखा प्रमुख र गाउँपालिका उपप्रमुख सदस्य रहने गरी परीक्षा समिति गठन गर्ने प्रावधान छ । शिक्षा शाखा प्रमुख ढकालले श्रीमतीलाई शिक्षकमा नियुक्त गरेपछि आलोचना बढेको छ ।


सरकारी कर्मचारी नियुक्तिमा आफन्त वा परिवारका सदस्य परीक्षार्थी भए पदाधिकारी बस्न मिल्दैन । शिक्षा शाखा प्रमुखले भने आफ्नै श्रीमती सहभागी परीक्षाको नेतृत्व गरेका हुन् । ‘श्रीमतीको परीक्षा श्रीमान्ले लिनै मिल्दैन । नैतिक रूपमा शिक्षा प्रमुख परीक्षामा बस्नु हुँदैनथ्यो,’ गाउँपालिकाका एक कर्मचारीले भने, ‘जे भयो गलत भयो । त्यस्तो गर्न मिल्दैन ।’


शारदा माविका लागि मावि तहको अंग्रेजी विषयका लागि दुई जना प्रतिस्पर्धी थिए । मैनापोखरकै स्थानीय हेमा चौधरी र पाठक परीक्षामा सहभागी भए । चौधरी अंग्रेजी विषयमा स्नातकोत्तर छिन् । पाठकले अंग्रेजी विषयमा स्नातक गरेकी छन् । शिक्षा निर्देशिकाले मावि तहको शिक्षकका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने उल्लेख गरेको छ ।


शाखा प्रमुख ढकालले पत्नीलाई जागिर खुवाउन आफू मातहतका शिक्षकलाई विशेषज्ञ नियुक्त गरेका थिए । शिक्षा ऐन र शिक्षा नियमावली, २०५९ ले भने विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई विशेषज्ञ शिक्षक तोक्नुपर्ने व्यवस्था गरेको छ ।


‘मावि तहका लागि स्नातक उत्तीर्ण परीक्षार्थी मागियो । यसबाट पनि शिक्षा नियमावलीको उल्लंघन भएको छ,’ एक अधिकारीले भने, ‘शिक्षक नियुक्तिका सबै प्रक्रिया गैरकानुनी भएका छन् । आफैंले जारी गरेको नियमावलीलाई समेत खण्डन गर्ने गरी शिक्षक राखियो ।’


शाखा प्रमुख ढकालले भने नियम पुर्‍याएरै शिक्षक नियुक्ति गरिएको दाबी गरेका छन् । शारदा माविका प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए । समितिले परीक्षा सञ्चालन गरेकाले यसमा आफ्नो कुनै हात नरहेको उनको तर्क छ ।


नियुक्तिपत्रमा शिक्षा प्रमुखको हस्ताक्षर गरिएको छ । नियमअनुसार प्रमुख कार्यकारी अधिकृतले नियुक्ति दिनुपर्छ । पालिकाले ल्याएको नियमावलीमा कार्यकारीभन्दा शिक्षा प्रमुखलाई बढी अधिकार दिइएको छ ।


कानुनअनुसार शिक्षा, कृषि, महिला, स्वास्थ्यलगायत शाखा प्रमुख कार्यकारी अधिकृतको मातहत रहने प्रावधान छ । आफूलाई शिक्षक नियुक्तिबारे कुनै जानकारी नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले बताए ।


शिक्षक छनोटका लागि गरिने विज्ञापनदेखि विशेषज्ञ तोक्नेसम्मको प्रक्रियामा आफूलाई सहभागिता नगराइएको उनको भनाइ छ । ‘मलाई त्यसबारे कुनै जानकारी छैन । नियुक्तिपत्रमा मैले हस्ताक्षर गरेको छैन,’ उनले भने ।


जिल्ला शिक्षा समन्वय एकाइ समितिले पनि पालिका आफैंले राखेको शिक्षकलाई अभिलेखीकरण नगरेको जिल्ला शिक्षा समन्वय एकाइ समितिका निमित्त प्रमुख महेशकेशर खनालले बताए । ‘नियमले गर्न नमिल्ने भएपछि शिक्षकलाई अभिलेखीकरण नगरिएको हो,’ उनले भने ।


संघ र प्रदेशले नयाँ शिक्षा ऐन जारी नगर्दै गाउँपालिकाले हालसम्म कार्यान्वयनमा रहेको शिक्षा नियमावली खारेज गरेको छ । स्थानीय तहलाई संघ र प्रदेशले बनाएको ऐन र नियमावलीमाथि टेकेर कार्यविधि बनाउने अधिकार छ । तर उक्त पालिकाले शिक्षा ऐनलाई नै चुनौती दिँदै खारेज गरेको हो ।


नयाँ ऐन जारी नभइसकेको अवस्थामा शिक्षासम्बन्धी सम्पूर्ण काम शिक्षा ऐन, २०२८ र नियमावली, २०५९ अनुसार हुँदै आएको छ । उक्त पालिकाले नेपालको संविधानको भाग १८ धारा २२६ (१) अनुसार तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १५ को दफा १०२ ले दिएको अधिकार र बढैयाताल गाउँपालिकाको प्रशासकीय कार्यविधि ऐन, २०७४ प्रयोग गरी आधारभूत र माध्यमिक शिक्षा नियमावली, २०७४ (प्रथम संशोधन, २०७५ चैत १ गते) जारी गरेको दाबी गरेको हो ।

प्रकाशित : असार ९, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?