कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सबै प्रकारका विभेद समाप्त पार्नु साझा दायित्व : राष्ट्रपति

अवधेशकुमार झा

राजविराज — राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान सबै प्रकारका विभेदलाई जरैदेखि समाप्त पार्नु साझा दायित्व भएको बताएकी छिन् । सप्तरीको डाकनेश्वरी नगरपालिका तरही स्थित जनता माध्यमिक विद्यालयको हीरक जयन्तीका अबसरमा शनिबार विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले मुलुक बनाउने साझा राष्ट्रिय कार्यभार भएकोले सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिइन् । 

सबै प्रकारका विभेद समाप्त पार्नु साझा दायित्व : राष्ट्रपति

‘कोशी, कमला, वलान जस्ता नदी सभ्यताका रुपमा चिरपरिचित यो भूमि राजा जनक, विद्वान अष्टावक्र तथा विदुषीहरुको तपोभूमि हो’ राष्ट्रपति भण्डारीले मिथिलाञ्चलको चर्चा गर्दै भनिन्,‘प्रसिद्ध समाज सुधारक सलहेस, दिनाभद्री लगायतकाको सहिष्णुताको भावनालाई आत्मसाथ गर्दै महाकवि विद्यापति जस्ता प्रसिद्ध साहित्यकारद्वारा समृत मैथिली साहित्यको विकासमा हामी सबैले ध्यान दिनुपर्ने आवश्यकता छ ।’


हरेक वर्ष सप्तरी लगायत तराई क्षेत्रमा बाढीबाट हुने जनधनको क्षतिप्रति दुखः ब्यक्त गर्दै राष्ट्रपति भण्डारीले बाढी, नदी कटान र शितलहरजस्ता प्राकृतिक विपत्तिको पूर्व तयारीमा रहन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइन् ।


राष्ट्रपति भण्डारीले सप्तरीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आवश्यक पूर्वाधारको विकास गरि त्यसको सुव्यवस्थित संचालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई साधन स्रोत सम्पन्न बनाउनु पर्ने पनि औल्याइन् ।


कृषि क्षेत्रको विकासका लागि सिंचाईको विकासमा ध्यान दिनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले सार्वजनिक स्थलमा शौचालय निर्माणको कार्यलाई प्राथमिकतामा राख्न सम्बन्धित पक्षलाई आग्रह गरिन् ।


प्रदेश २ सरकारले संचालन गरिरहेको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले उक्त कार्यक्रम महिलाको हितमा रहेकाले सफल बनाउन सबै पक्ष अग्रसर हुनुपर्नेमा जोड दिइन् । आवश्यक पूर्वाधारसहितका स्वास्थ्य केन्द्रहरु विस्तार गरि जनतालाई सहज रुपमा स्वास्थ्य सेवाको उपलब्धताको सुनिश्चतता गर्न उनले आग्रह गरिन् ।


कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य विना मुलुकको समृद्धि हुन नसक्ने भएकाले विकासको पहिलो आधार शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लाग्नु सबैको दायित्व भएको बताए ।


उनले निःशुल्क शिक्षा र आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने नीति अनुरुप सरकार अघि बढिरहेकोले यसमा सहयोग गर्न उनले सबैमा आग्रह गरे ।


प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले महिलालाई शिक्षामा पहुँच बढाउनुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारले शिक्षामा छोरीहरुको पहुँच बढाउन प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ अभियान संचालन गरिइरहेको बताउँदै प्रदेश सरकारले विपन्न, आर्थिक रुपमा कमजोर र पछाडि पारिएका समुदायलाई शिक्षाको मूलधारमा ल्याउने प्रदेश सरकारको नीति अनुरुप कमजोर परिवारका बालिकालाई मासिक रुपमा प्रोत्साहन स्वरुप पाँच सय रुपैया प्रदान गरिने बताए ।


बालबालिकालाई विद्यालयमा टिकाउनका लागि प्रदेश सरकार र सबै प्रदेशवासी एकमत भएर लाग्नुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए । कार्यक्रममा प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थको पनि उपस्थिति रहेको थियो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नव निर्मित चारकोठे भवनको उद्घाटन गर्नुका साथै विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेकी थिइन् ।

प्रकाशित : असार ७, २०७६ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?