२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हुम्ला जिप दुर्घटना : बेपत्ता भेटिएनन्, गोताखोर फर्किए

छपाल लामा

हुम्ला — कर्णाली नदीमा जिपसँगै बेपत्ता भएका व्यक्ति नभेटिएपछि गोताखोर टोली फर्किएको छ । गत मंगलबार खार्पुनाथ गाउँपालिका–५ को बेडुबिसौना र कैल्यवालुको बीचमा जिप सडकदेखि २० मिटर तल नदी खसेको थियो ।

हुम्ला जिप दुर्घटना : बेपत्ता भेटिएनन्, गोताखोर फर्किए

घटनाको भोलिपल्ट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेतको गोताखोर टोली जिप र बेपत्ताको खोजीको लागि हुम्ला आएको थियो । तीन दिनसम्म लगातार खोज्दा पनि नभेटिएपछि टोली फर्किएको प्रमुख जिल्ला अधिकार धोलकराज ढकालले बताए । नदीमा पानीको बहाव बढ्नु, पानी धमिलो हुनु, चिसो बढ्नु जस्ता कारणले गोताखोरको लागि खोजीकार्य जटिल बनेको उनले जानकारी दिए ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एकमात्र जिल्ला हुम्लामा खार्पुनाथ यातायात प्रालिले हेलिकोप्टरबाट चारवटा जिप लगेर सेवा दिएको थियो । लु१ज ७१६६ नम्बरको उक्त जिप खसेपछि अब खार्पुनाथसँग तीनवटा जिप बाँकी छन् । प्रालिका अध्यक्ष सरोज रावतले दुर्घटनास्थल खासै अप्ठेरो नभए पनि कसरी खस्यो भन्दै आश्चर्य व्यक्त गरे ।


जिप दुर्घटनामा परि बेपत्ता भएका व्यक्तिको बिहीबार कुशको शव बनाएर कर्णाली नदीमा अन्त्यष्टि गरिँदै । तस्बिर : छपाल लामा । कान्तिपुर


जिप दुर्घटनामा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहसहित ११ जना बेपत्ता भएका थिए । गाउँपालिकाको खापुबाट पालिका केन्द्र याङचु जाने क्रममा जिप कर्णाली नदीमा खसेको थियो ।

गोताखोर टोली उपलव्धीबिनै फर्किएपछि गाउँपालिका अध्यक्ष कर्ण रावलले निराशा व्यक्त गरे । उनले गोताखोर आएपछि बेपत्ताको केही न केही भेटिने आश भए पनि असंभव भएको बताए । गाउँपालिका उपाध्यसहित व्यक्ति गुमाएपछि खार्पुनाथमा शोक छाएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कार्यालयका कर्मचारीसमेत स्तव्ध छन् ।

यही शोकमा गाउँपालिकाले १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । बेपत्ता सबैका परिवारलाई जनही १० हजार रुपैयाँ किरियाखर्च बापत दिइने अध्यक्ष रावलले जनाए । उनका अनुसार तेह्रौं दिनको दिन असार १६ गते गाउँपालिकामा श्रद्धाञ्जलीसभा गर्नुका साथै सम्पूर्ण सरकारी कार्यालय र विद्यालय बन्द गरिनेछन् ।

स्थानीय शोभा शाहीले उपाध्यक्ष सिन्धुको मत्युले गाउँपालिका र जिल्लाले ठूलो क्षति व्यहोरेको बताइन् । ‘उहाँजस्तो मिलनसार र कुशल नेतृको अभाव सधैं खडकरहने छ,’ उनले भनिन्, ‘ हामीलाई राजनीतिक र सामाजिक काममा प्रेरणा दिइरहने स्वभाव यहाँका महिलाले सम्झिरहने छन् ।’


पुत्ला बनाएर दाहसंस्कार

यसैबीच, दुर्घटनामा बेपत्ता भएका व्यक्तिको शव नभेटिएपछि बिहीबार आफन्तले कुशको पुत्ला बनाई दाहसंस्कार गरेका छन् । अन्तिम संस्कारसँगै उनीहरूको विधिवत रूपमा मृत्यु भएको विश्वास गरिएको छ ।

उपाध्यक्ष सिन्धु हमाल शाहीसँगै ७ जनाको कर्णाली नदीको खापुदोभानमा दाहसंस्कार गरियो । प्यूस निवासी कौरा दमाई र उनका दुई वर्षीय छोराको भने कर्णालीकै गोग्चेगौंडामा दाहसंस्कार गरिएको छ । परालको पुत्ला बनाएर दाहसंस्कार गरिँदा स्थानीय शोकमग्न अवस्थामा दाहसंस्कारस्थलमा पुगेका थिए ।

उनीहरूले बेपत्ता व्यक्तिहरूप्रति अन्तिम श्रद्धाञ्जलीसमेत गरे । ‘तीन दिनसम्म खोज्दा पनि लाश भेटिने आश मरेपछि हिन्दु परम्पराअनुसार परालको पुत्ला बनाएर दाहसंस्कार गरेका हौं,’ गाउँपालिका अध्यक्ष रावलले भने, ‘उहाँहरू सबैको स्वर्गमा बास होस् ।'

प्रकाशित : असार ७, २०७६ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?