२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निलम्बित सांसद रेशम चौधरीलाई लगाइएको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन

नेल लगाउन निर्देशन दिनेलाई कारबाही गर्न निर्देशन
दुर्गा खनाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिएका हुन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको तस्बिरसहितको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले शनिबार घटनाबारे चासो राख्दै निर्देशन दिएका हुन् ।

निलम्बित सांसद रेशम चौधरीलाई लगाइएको नेल खोल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री ओलीले नेल लगाउन निर्देशन दिने सम्बन्धित व्यक्तिलाई समेत कारबाही गर्न रेग्मीलाई भनेका छन् । ओलीले अस्पतालमा हुँदा नेल लगाउनु मानवीय नभएको र मानवअधिकार विरुद्ध भएको बताएका छन् । ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'पहिला कुनै व्यक्ति खराब आचरण हुँदा नेल लगाउने चलन थियो। तर अहिले त्यस्तो अवस्था छैन । चौधरीलाई नेल फुकाएर उपचार गराउनु ।'

फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको थियो ।


चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाइएको थियो । दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो । फोक्सोमा समस्या उत्पन्न भएपछि चौधरीलाई सास फेर्न गाह्रो हुने गरेको छ । ढाडको बोनम्यारोमा पनि समस्या देखिँदा उनी हिँडडुल गर्न नसक्ने भएको पारिवारिक स्रोतको भनाइ छ ।


चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन् । उनलाई कम्तीमा १० दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएको पारिवारिक स्रोतको भनाइ छ । चिकित्सकले चौधरीलाई दैनिक थेरापी गर्न र बेड रेस्ट गर्न सुझाएका छन् ।


संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए ।


सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा शपथग्रहणको मौका दिएको थियो । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसदबाट निलम्बित छन् ।

प्रकाशित : असार ७, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?