सञ्चारमन्त्री बाँस्कोटाले झुट बोले [भिडियोसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झुट बोलेका छन् । गुठी विधेयकका सम्बन्धमा शुक्रबार उनले आफूले 'सामन्तवाद' शब्द प्रयोग नगरेको दाबी गरेका हुन् । 

'आरोप लगाइरहन पाइन्छ । पुष्टि गर्नु मुख्य कुरा हो । त्यतातर्फ फर्कन म अनुरोध गर्न चाहन्छु,' उनको जवाफ थियो, 'भन्दै नभनेको कुरा भन्यो भनेर रिउमर क्रियट गरेर, पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला ।' प्रतिनिधिसभामा विनियोजन विधेयक ०७६/७७ अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्री बाँस्कोटाले सांसद्ले उठाएको प्रश्नको जवाफमा आफूमाथि आरोप लगाइएको दाबी गर्दै पुष्टि गर्न चुनौती दिए । 'कहीं त्यस्तो पुष्टि भयो भने म त्यतिखेर नै सवाल जवाफ गरौंला, मैले त्यो भनेको पनि छैन,' उनले थपे ।

मन्त्री बाँस्कोटाले काठमाडौंको कुरा सांस्कृतिक र काठमाडौं बाहिरको विषय भूमि व्यवस्था, भूमिहीनसित जोडिएको मात्रै भनेको दाबी गरेका थिए । नभनेको कुरालाई भन्यो भन्ने, तीललाई पहाड बनाउने, नचलेको हावा चलाउन खोजेर राजनीतिक लाभको स्वार्थबाट आफूमाथि आरोप लगाइएको उनको भनाइ थियो ।

बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले गुठी विधेयकको विरोधमा काठमाडौंमा उर्लिएको जनसागरलाई मन्त्री बाँस्कोटाले सामन्ती सोचको अवशेष भनेको बारे जवाफ मागेकी थिइन् ।

मन्त्री बाँस्कोटाले जेठ ३० गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने ?’ उनले प्रश्न गरे, ‘गुठी, बेखारी, हलिया, कमलरीजस्ता प्रथाले सामन्तवादको आर्थिक, सामाजिक एवं राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे, तिनलाई हामीले भत्काउन खोजेका मात्र हौं ।’

भिडियो

यो पनि

गुठी प्रथा सामन्तवादको स्वरूप : मन्त्री बाँस्कोटा

सञ्चारमन्त्रीको चुनौती- 'मैले गुठीबारे बोल्दा कतै सामन्तवाद भनेको रहेछु भने प्रमाण ल्याउनुहोस्'

प्रकाशित : असार ६, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्

सुरु भयो पाँचपोखरी–मेरा ट्रेक

कान्तिपुर संवाददाता

काठमाडौँ — सोलुखुम्बुका तन्नेरीहरूले एक्सप्लोर गरेको दश दिने नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा ट्रेक’ शुभारम्भ गरिएको छ । महाकुलुङ पर्यटन सूचना केन्द्र, सोलुखुम्बुले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सांसद उत्तम बस्नेत, पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, टानका केन्द्रीय सदस्य सुकबहादुर लामा, पर्यटनविद् लक्की कार्की र केन्द्रका संयोजक विक्की कुलुङले शुभारम्भ गरेका हुन् । 

उनीहरूले पदमार्गको नक्सा र बुकलेट विमोचन गरे सँगै पदमार्ग शुभारम्भ गरिएको हो । पाँचपोखरी क्षेत्र नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले छनोट गरेका सय गन्तव्यमा परेको छ ।

पदयात्रा महाकुलुङ गाउँपालिकाको बुङबाट सुरु भएर चलेम, हुर्हुरे, पाँचपोखरी, खोलाखर्क, तैमे, छेस्काम, गुदेल, साल्पापोखरी, सिलुछो, साउनेखर्क, गुदेल हुँदै बुङ आइपुग्दा एउटा चक्र पुरा हुने केन्द्रका अध्यक्ष कुलुङ बताउँछन् ।

पदमार्गमा अन्यत्र सामान्य होटल सुविधा भए तापनि तैमे र साउने खर्कमा क्याम्पिङ गर्नु पर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

प्रकाशित : असार ६, २०७६ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×