जहाँबाट जिप खस्यो

‘हामीले सडक नखनेर आफ्नै दाजुभाइको खाल्डो खनेका रहेछौं’
वसन्तप्रताप सिंह

बझाङ — १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ । जयपृथ्वी नगरपालिकाको पानकोटदेखि मस्टा गाउँपालिकाको भुस्या जोड्ने यो सडक बिनाकुनै सर्भे डिजाइन दुई–दुई पटक निर्माण गर्दा लाखौं रकम खर्चिएको थियो । 

२०७२ सालमा पहिलो पटक निर्माण थाल्दा पानकोटदेखि डुग्राकोट हुँदै साविक कोटदेवल गाविसको भुवाँढुस्कासम्म डोजरले खनेको थियो । जिविसको डोजर प्रयोग गरेर सडक खनिए पनि यसमा प्राविधिक प्रयोग गरिएको थिएन । स्थानीय अपरेटरको सल्लाहका आधारमा डोजरले सडक खनिएको थियो ।

त्यतिबेला कोटदेवल गाविस र साविक जिल्ला विकास समिति बझाङको करिब ४० लाख रकम खर्च भएको थियो । त्यसमध्ये सोमबार दुर्घटना भएको बिन्दु डौठीबाट डुग्राकोटसम्मको साढे तीन किलोमिटर सडकखण्डमा मात्र २० लाख रुपैयाँ हाराहारीमा रकम डोजरलाई तिरिएको थियो । यति धेरै खर्च गरेर खनिए पनि डौठी–डुग्राकोट खण्डमा गाडी चल्न सकेनन् ।

‘हामीसँग प्राविधिकको सल्लाहअनुसार सडक खन्न पर्याप्त रकम थिएन । जसरी पनि रोड रनाडासम्म पुर्‍याउनुपर्ने थियो,’ तत्कालीन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कलकबहादुर खड्काले भने, ‘त्यसैले गाउँले र डोजर ड्राइभरको सल्लाहमा जताजता छोटो पर्छ त्यतैत्यतै खन्यौं ।’

छोटो दूरीमा सातवटा घुम्ती बनाएर काटिएको सडक काम नलाग्ने भएपछि डौठीबाट डुग्राकोटतिरका घुम्ती छाडेर पछिल्लो पटक सोझै कोटदेवलसम्म बाटो काटिएको थियो । त्यसका लागि मस्टा गाउँपालिकाले २०७४ सालमा पुनः ९२ लाख रुपैयाँ खर्चिएको थियो ।

अर्को पटक सडक काटदा पनि प्राविधिक पक्षको ख्याल गरिएन । गाउँले र डोजर अपरेटर नै इन्जिनियर बने । फलस्वरूप सोमबार दुर्घटना भयो । डौठीको घुम्तीबाट खसेको जिप करिब एक किलोमिटर तल रहेको अनागाड खोला किनारको भीरमा खस्यो । १० जनाले घटनास्थलमै ज्यान गुमाए ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जना मानिस तत्कालीन उपभोक्ता समिति अध्यक्ष खडकाकै आफन्त परे । ‘हामीले सडक नखनेर आफ्नै दाजुभाइको खाल्डो खनेका रहेछौं,’ खडकाले भने, ‘राम्रा इन्जिनियरलाई देखाएर निर्माण गरिएको भए आज यो दिन देख्नुपर्ने थिएन । हाम्रो अल्पज्ञानले आफैंलाई पिरोल्यो ।’

डौठीको घुम्ती अत्यन्तै साँघुरो र ठाडै उकालो भएका कारण सोमबारको दुर्घटना भएको सुरक्षा निकायको निष्कर्ष छ । छंगाछुर भीरमा बनाइएको साँघुरो र उकालो घुम्तीमा गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको भनाइ छ । मस्टा गाउँपालिका १ का वडाध्यक्ष राजेन्द्र खडकाले पनि उकालो घुम्तीमा ग्रेडिङ नमिलेकाले दुर्घटना भएको बताए । ‘इन्जिनियरले हेर्दा त्यो घुम्तीमा तीन मिटर ग्रेड घटाउनुपर्ने (उकालो ठाउँलाई तीन मिटर होचो बनाउनुपर्ने) सुझाएका थिए । त्यसका लागि आगामी वर्ष बजेट छुट्याउने सल्लाह भएको थियो, त्यसअघि नै यस्तो दुर्घटना भयो,’ उनले भने ।

मापदण्ड पूरा नगरेकैले दुर्घटना निम्तिएको र जिल्लाका अन्य सडकको अवस्था पनि यस्तै रहेको प्राविधिक बताउँछन् । ‘डोजर अपरेटरलाई इन्जिनियर मान्ने गरेका कारण बझाङमा महिनैपिच्छे यस्ता घटना हुने गरेका छन्,’ जिल्ला समन्वय समितिका इन्जिनियर लालबहादुर थापाले भने, ‘जसले जसरी सडक बनाए पनि कतैबाट अनुगमन हुन्न ।’

प्रकाशित : असार ६, २०७६ ०७:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खोकनामा ल खलः

प्रशान्त माली

ललितपुर — गुठी विधेयकको विरोधमा खबरदारी गर्न बुधबार सडकभरि उर्लेका काठमाडौंवासीलाई हिँडीहिँडी पानी खुवाउने सरकारी भाषाका स्वयंसेवी थिएनन् । काठमाडौं उपत्यकाको सांस्कृतिक परम्पराका गुठियार थिए । हो, पानी खुवाउने गुठीका सदस्य । 



नयाँ वर्षको दिन ललितपुरको धिन्चो (चम्पादेवी), फुल्चोकी र काठमाडौंको जामाचो (नागार्जुन) मा मेला लाग्छ । धिन्चो पुग्नुभएको छ भने भन्ज्याङमा पानी भरिएका पित्तलका गाह्री र माटाका जगसहित एउटा टोली देख्नुहुन्छ । उनीहरूको काम त्यस दिन घुम्न आउनेहरूको प्यास मेटाउने हो । लाग्न सक्छ, यो टोली पानी खुवाउन बस्न थालेको हिजोआज हो ।

होइन, मल्लकालदेखि हो । गुठी व्यवस्था गरेर यो परम्परा धान्दै आएको टोली खोकनाको सिकाली ल खलः हो । नेपाल भाषामा ल को अर्थ पानी र खलः को अर्थ समूह अथवा गुठी हो । प्रायः लाई देवी नाच नचाउने, शव व्यवस्थापन गर्ने, चाडपर्व चलाउने गुठीबारे जानकारी हुन सक्छ ।

उपत्यकामा लः गुठी अथवा पानी खुवाउने गुठी पनि छ भनेर थाहा नहुन सक्छ । ल गुठीका गुठियार खोकना, थलाछेँ टोलका ५८ वर्षीय विष्णुनाथ महर्जन भन्छन्, ‘पुर्खाले गुठी सञ्चालन गर्न आयस्ताका लागि जग्गाजमिन दान दिए । पछि व्यक्तिले धमाधम आफ्ना नाममा दर्ता गरे ।’ उनका अनुसार गुठी अहिले गुठियारले व्यक्तिगत रूपमा रकम जोहो गरेर सञ्चालन गर्दै आइरहेका छन् ।
गुठीमा २० जना सदस्य छन् । उनीहरू रातो मत्स्येन्द्रनाथ, सिकाली जात्रा र गाउँमा हुने महोत्सवका बेला जस्तोसुकै काम छोडेर भए पनि पानी खुवाउन पुग्ने गर्छन् ।

एकपटक पानी खुवाउन जान प्रत्येकले ६ सय रुपैयाँ, जाँड पकाउन चामल र चिउरा आफैं जोहो गर्छन् । उनी भन्छन्, ‘प्यास लागेकालाई पानी खुवाउनु धेरै पुण्यको काम मात्र नभई पुस्तौंदेखि हस्तान्तरण हुँदै आइरहेको परम्परा जगेर्ना गर्नु पनि हो ।’
खोकना, न्यायझो टोलका ४० वर्षीय लक्ष्मीदास महर्जन गुठीमा प्रवेश गरेको १६ वर्ष बित्यो । यसअघि उनका बुवा बाबुकाजी गुठियार थिए । बुवाले पुस्तौंदेखिको सेवा छोड्न नमिल्ने भनेपछि उनले नाइँनास्ती गरेनन् । ‘गुठीमा बुवाको सट्टा छोरा नै जानुपर्छ भन्ने नियम थिएन,’ उनले भने, ‘परम्परा जोगाउनुपर्छ भनेर प्रवेश गरेँ ।’

उनका अनुसार पानी भरेका गाह्री काँधमा बोकेर खुवाउन जाने काम सजिलो छैन । ‘मुहानको पानी जाडामा चिसो र चिसोयाममा तातो हुने भएकाले पिउनेको संख्या धेरै हुन्छ,’ उनले भने ।

खोकना, ढोकासीका ७० वर्षीय साइँला महर्जन १२ वर्षको उमेरदेखि यो गुठीमा प्रवेश गरेका हुन् । उनले गुठीमा रहेर सेवा गरेको ५८ वर्ष बित्यो । उनी भन्छन्, ‘बुवाले गुठीको भैंसेपाटीमा डेढ रोपनी जग्गा थियो भन्नुहुन्थ्यो । सानै छँदासम्म घरमा बाली पनि बुझाउन आउँथ्यो । पछि तिर्न आएन ।’

उनलाई लाग्छ, त्यो जग्गा खोजबिन गर्नुपर्ने हो ।

खोकनामा पानी खुवाउने दुइटा गुठी छन् । अर्को गुठीको अवस्था पनि उस्तै छ । पानी खुवाउने काम एक्लैले गर्न गाह्रो छ । समूह मिलेर गर्नुपर्छ । गुठीका छ्यान्ज्य (सचिव) लक्ष्मीदास महर्जन भन्छन्, ‘तत्कालीन कार्यविनायक नगरपालिकाले १० वटा पित्तलका गाग्री सहयोग गरेको थियो । अहिले गुठियार मिलेर ७० हजार रुपैयाँ जम्मा गरेका छौं ।’

उनका अनुसार पहिला पाटीमा बसेर चाडपर्वका बेला सख्खरपानी खुवाउने चलन थियो । ‘अहिले यो चलन बन्द भइसकेको छ,’ उनले भने, ‘खोकनाको पानी खुवाउन प्रयोग हुने पाटी भत्केको थियो । प्रत्येक गुठियारले १ हजार ५ सय रुपैयाँ र अपुग रकम चन्दा संकलन गरी जीर्णोद्धार गरे ।’ ल गुठी चापागाउँस्थित पाउली बुलुमा छ ।

ज्यापू समाज, यलले पनि जात्रापर्व तथा महोत्सव हुँदा पानी खुवाउँदै आएको छ । पछिल्लो समय गुठीको सिको गरेर सीतापाइलामा नेवाः समूहले पनि स्वयम्भू क्षेत्रमा हुने जात्रामा सहभागी हुनेलाई पानी खुवाउने गरेको छ । सीतापाइलाका कपिलमान शाक्य भन्छन्, ‘बाउबाजेका पालामा गुठी थियो । अहिले नाश भइसकेको छ । पहिलाको गुठीलाई पुनः जगेर्ना गर्न खोजेका छौं ।’

समूहमा महिला पनि सहभागी हुन थालेका छन् । समूहका प्रतिनिधि रामकुमारी महर्जन भन्छिन्, ‘स्वयम्भू र पशुपतिका बाँदरलाई पानी खुवाउने गुठी पनि थियो । गुठी सञ्चालन गर्न छुट्याइएको जग्गाजमिन रैकरमा परिणत भएपछि गुठी पनि नाश भयो ।’
उनले अहिलेको विधेयकले पुनः रैकरमा परिणत गर्ने व्यवस्था गरेर बाँकी रहेका अरू जग्गा पनि समाप्त पार्न खोजेको बताइन् । ‘यो कसैलाई मान्य छैन,’ उनले भनिन्, ‘फिर्ता मात्र होइन, कहिल्यै नआउनेनिश्चित हुनुपर्छ ।’

बटुवालाई पानी खुवाउन प्रत्येक टोल/चोकमा लः हिटी (पानी पँधेरो) को व्यवस्था पनि गरिएको हुन्छ । अधिकांश बन्द भइसकेका छन् । ललितपुर महानगरपालिका–१६ महापाल चोकको हिटी २५ वर्षअघिसम्म चल्थ्यो । अहिले लथालिंग अवस्थामा छ । उक्त कलात्मक हिटी नजिकै अर्को हिटी छ । नाग र नागिनीको मूर्ति अंकित हिटीमा १५ वर्षअघिसम्म बटुवाले प्यास मेटाउँथे ।

पाटनका रवीन्द्रराज ताम्राकारले भने, ‘हिटीमा पानी भर्नसँगै इनार खनिएको थियो । अहिले इनार पनि जेनतेन सञ्चालनमा छ ।’
जेनतेन पानीका थोपा झर्ने हिटी बाँकी रहेजस्तै गुठी पनि येनकेन चलिरहेका छन् । त्यो पनि राष्ट्रियकरण गर्ने गरी सरकारले विधेयक ल्याएपछि गुठियारहरू आक्रोशित भएका हुन् ।

प्रकाशित : असार ६, २०७६ ०७:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्